निर्वाचन आयोगले तयारी पूरा गरी मतदान अधिकृतहरूलाई खटायो। मलाई पनि मतदान अधिकृत बनाइयो। फागुन १३ गते तालिम लिएँ। १८ गते सामग्री बुझें। सहायक मतदान अधिकृत सुमित्रा कुँवर, सुभद्रा पोखरेल, राधिका जीएम, रमेश केसी, चालक सुनील चौधरी र सुरक्षाकर्मी प्रमुख असई रामबहादुर आलेसँग मजुवा पुगेँ।
हरेक पाँच–पाँच वर्षमा हुने आवधिक निर्वाचन हुने संवैधानिक व्यवस्था रहेबमोजिम नेपालको संविधान २०७२ पछि पहिलो निर्वाचन २०७४ मा र दोस्रो निर्वाचन २०७९ वैशाखमा भएको थियो। तेस्रो निर्वाचन २०८४ मा हुनुपर्नेमा गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनका कारण यही फागुन २१ गते निर्वाचन हुने घोषणा भयो।
मैले सकेसम्म देशभित्रका सबै राष्ट्रवादी, राष्ट्रप्रेमी एवं सबै राजनीतिक दलबीच सम्पूर्ण नमिलेका कुरामा सहमति भई सधैंका लागि शान्ति छाओस् भन्ने सोचिरहेकै थिएँ। साँच्चिकै भन्ने हो भने म ६/७ वर्षको हुँदा जनमतसंग्रह, २०४६ को जनआन्दोलन, २०६२/६३ दोस्रो जनआन्दोलन प्रत्यक्ष देखिरहेको छु, भोगिरहेको छु।
धर्मनिरपेक्ष मुलुक र संघीय गणतन्त्रात्मक व्यवस्था हुने कि नहुने भन्ने बहससँगै धर्मनिरपेक्ष मुलुक र गणतन्त्रात्मक व्यवस्था लागू भयो। आज पनि धर्मनिरपेक्ष नभई हिन्दु, बौद्ध र किरात धर्मसहितको मुलुक, राजसंस्था सहितको संघीय व्यवस्था, प्रदेश खारेजी, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने, भ्रष्टाचारमुक्त समाज र सुशासन हुनुपर्ने, वैदेशिक रोजगारीमा पठाउने परम्पराको अन्त्य लगायतका विषय सडकदेखि सदनसम्म उठ्ने गरेका पाइन्छन्।
गत २०८२ भदौ महिनामा प्रधानमन्त्री शुशिला कार्कीको सरकार बनेसँगै यही २०८२ साल फागुन महिनाको २१ गते बिहीबार प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुने गरी आमनिर्वाचनको घोषणा भएको थियो। प्रतिनिधिसभा निर्वाचन २०८२ सम्पन्न होला कि नहोला भन्नेमा आम नेपाली जनतालाई विश्वास नै लागिरहेको थिएन।
भदौ २३ गतेको जेन्जी आन्दोलनको क्रममा ७६ जना नेपाली जेन्जी भाइबहिनीहरूले अकालमा मृत्यु वरण गरेका थिए। निवर्तमान सरकारले सामाजिक सञ्जालका बाटाहरू (नेटवर्क) बन्द गरेपछि सरकारले बन्द गरेको सामाजिक सञ्जाल खुलाउन एवं सरकारका कामकारबाहीबाट असन्तोष व्यक्त गर्दै नेपालका जेन्जी पुस्ताले गत भदौ २३ गते काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गरेका थिए।
आन्दोलनले चरम रूप लिँदा आन्दोलनकारीविरुद्ध बन्दुक गोली चल्दा सोही दिन १९ जना जेन्जी विद्यार्थीले ज्यान गुमाए। त्यसको आवेगमा भोलिपल्ट २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसहित विभिन्न सरकारी कार्यालय, निजी एवं व्यवसायिक भवनहरू समेत जलाइए। आगजनीबाट प्रायः भवनहरू आंशिक रूपमा क्षतिग्रस्त भए। केही भवन मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएका छन्। केही सरकारी भवन अझै सञ्चालनमा आउन सकेका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सुरक्षा खोज्न जानुपर्यो। आन्दोलनकारीबाट नेताहरूको घरसहित धनसम्पत्ति पनि जलाइयो। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर मात्र जलाइएन, निज र उनकी पत्नीलाई कुटपिटसमेत गरियो। संसद नै विघटन हुन पुग्यो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले राजीनामा दिएपछि सरकार विघटन भयो। पूर्वप्रधान न्यायाधीश शुशिला कार्कीको नेतृत्वमा नयाँ चुनावी सरकार बन्यो। राष्ट्रिय संकट समाधान गर्न ६ महिनाभित्र निर्वाचन गर्ने घोषणा गरियो। जेन्जी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन भयो।
नेपालको संविधान २०७२ पछि नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतान्त्रिक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा स्थापित भई २०७४ र २०७९ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
२०७९ को निर्वाचनपछि स्पष्ट बहुमत नआएपछि गठबन्धन सरकार बने। तेस्रो पटक नेपाली कांग्रेस र नेकपा एमालेसहितको सरकार बनेको थियो। प्रधानमन्त्री खड्गप्रसाद ओली थिए।
निवर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्दा युवाहरू आक्रोशित भए। बेरोजगारीप्रति ध्यान नदिई गरिएको यो कदमले विद्रोहको रूप लियो। आन्दोलनमा ७६ जनाको ज्यान गयो। यो घटनाले नेपालको राजनीतिक इतिहासमा नयाँ मोड ल्यायो।
सरकारसँग सामाजिक सञ्जाल रोकेकोमा मात्र जेन्जी पुस्ताको आक्रोश थिएन। बेरोजगारी अन्त्य, भ्रष्टाचार नियन्त्रण, उद्योग स्थापना, निर्यात वृद्धि, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा जस्ता माग पनि थिए।
निर्वाचन आयोगले तयारी पूरा गरी मतदान अधिकृतहरूलाई खटायो। मलाई पनि मतदान अधिकृत बनाइयो। फागुन १३ गते तालिम लिएँ। १८ गते सामग्री बुझें। सहायक मतदान अधिकृत सुमित्रा कुँवर, सुभद्रा पोखरेल, राधिका जीएम, रमेश केसी, चालक सुनील चौधरी र सुरक्षाकर्मी प्रमुख असई रामबहादुर आलेसँग मजुवा पुगेँ।
फागुनको उत्तरार्ध, झिम्रुक खोला संग्लो बगिरहेको थियो। मतदान केन्द्र बाल विद्या माध्यमिक विद्यालय, प्यूठान नगरपालिका–९ मजुवा थियो। विद्यालय परिसर राम्रो थियो। भवन, खेलमैदान, खानेपानी, जंगल, खेतबारी सबै देखिन्थे। मझुवा गाउँ मरन्ठाना बजार नजिकै रहेछ। विकासका धेरै सम्भावना देखेँ।
हामीले खाना, बसोबासको व्यवस्था मिलायौँ। वडा अध्यक्ष विकास केसीसँग सर्वदलीय बैठकको प्रस्ताव राखेँ। मौन अवधि सुरु भइसकेको थियो। सूचना टाँस गरियो। मादक पदार्थ निषेध, हातहतियार निषेध गरियो। शान्ति कायम राख्न आग्रह गरियो।
कुनै प्रचार, सभा, जुलुस नगर्न अनुरोध गरियो। सामाजिक सञ्जालमा प्रचार नगर्न आग्रह गरियो। कर्मचारीलाई सहयोग गर्न अपिल गरियो। समग्रमा निर्वाचन प्रभावकारी बनाउने उद्देश्य थियो। कसैलाई भय, त्रास नहोस् भन्ने चाहना थियो। आम निर्वाचन २०८२ भव्य र सभ्य होस् भन्ने मेरो कामना हो।
(२०८२/११/१८ प्यूठान न.पा.–९, मझुवा “क”, प्यूठान।)
















