सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार नाघिसकेको छ। २६ हजार पाँच सय रुपैयाँ बनाउने ज्याला गर्दा एक तोला सुन लगभग तीन लाख रुपैयाँ पर्न जान्छ। सुनको भाउ बढेपनि किन्ने मान्छे कोही छैनन्। अर्कोतिर, बेच्दा पसलेले लिनै मान्दैनन्। २०२२ सालमा सुन जम्मा ८० रुपैयाँ तोला थियो।
नेपालीको महान् चाड दशैं सकिएको छ। दशैं सबैभन्दा बढी व्यापार हुने चाडमा पर्दछ। तर, यसपालिको दशैंमा पनि सोचेअनुसार व्यापार नभएको व्यापारीहरू बताउँछन्। व्यापारीहरू गुनासो गर्छन्– यसपटक त राम्रै व्यापार होला भन्ठानेका थियौं, तर भएन। अब राज्यलाई कर, कर्मचारीलाई तलब कसरी दिने ?
सर्वसाधारणले पैसा भए सामान किन्ने हो। सर्वसाधारणसँगै पैसा छैन, सामान कसले किन्ने ? मुलुकमा बेरोजगारी अधिक छ। कमाइ नहुँदा सर्वसाधारणको गोजी रित्तो छ। जसका कारण बजार चलायमान हुन नसकेको हो। व्यापारीहरू बढीबढी नाफा खान खोज्छन्। एउटै सामानमा हजारौं रुपैयाँ नाफा खान्छन्।
एक सयमा ल्याएको सामान १५ सय भन्छन्। सर्वसाधारणसँग पैसा छ कि छैन ? उनीहरूलाई मतलब छैन। काठमाडौं उपत्यका र बाहिर, एउटै व्यक्तिले पाँचदेखि ६५ वटासम्म घर बनाएका छन्। कारण हो– सटर भाडामा दिएर मासिक करोडौं भाडा उठाउनु। व्यापारीले व्यापार नभएपछि भाडा तिर्न सक्दैनन्।
र, यसको असर घरधनीलाई पनि पर्ने नै छ। दशैंपछि आज सेयरको पहिलो कारोबार हुँदैछ। सर्वसाधारण कुरा गर्छन्– सेयरको मूल्य अब स्वाट्टै घट्छ। सेयरकै लगानीकर्ताहरू २६ सय कित्ताको सेयर अब १४ देखि १५ सयमा आउने बताउँछन्। जोसँग पैसा छ, उनीहरूले जम्मै लुकाए। पाँच सय र हजारका नोट सर्वसाधारणहरूको घरमा छन्।
सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार नाघिसकेको छ। २६ हजार पाँच सय रुपैयाँ बनाउने ज्याला गर्दा एक तोला सुन लगभग तीन लाख रुपैयाँ पर्न जान्छ। सुनको भाउ बढेपनि किन्ने मान्छे कोही छैनन्। अर्कोतिर, बेच्दा पसलेले लिनै मान्दैनन्। २०२२ सालमा सुन जम्मा ८० रुपैयाँ तोला थियो।
त्यसपछि लगातार बढेको सुनको भाउले आरोलो झर्ने नामै लिएको छैन। नाइमाले गत साउन २१ देखि २८ गतेसम्म अटो शोको आयोजना गर्यो। यता, नाडाले भदौ ३ देखि ८ गतेसम्म अटो प्रदर्शनी गर्यो। नाइमाको उद्घाटन तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे।
नाडाको हकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका थिए। त्यतिबेला नयाँ गाडी खरिदका लागि सर्वसाधारणले गरेको बुकिङहरू धमाधम रद्द भइरहेका छन्। चीन र भारतमा दुईदेखि पाँच लाखमा आउने गाडी यहाँ ल्याएर करोडौंसम्म बेचिन्थ्यो। गाडीमा ठूलो नाफा खान्थे, अटो व्यवसायी।
जुन कुरा सर्वसाधारणले राम्रोसँग बुझे। जसको नतिजा बुकिङ रद्द हो। यातायात कार्यालयहरू लामो समयदेखि सुनसान छन्। चार वर्षदेखि देशैभरका १३४ वटा मालपोत कार्यालयमा पनि सन्नाटा छ। किनकि, घरजग्गा कारोबार ठप्प छ। बैंकमा कर्जा माग्न जाने कोही छैनन्।
सरकारले अहिले नै कुनै कदम नचाल्ने हो भने बजार झनै डामाडोल बन्ने देखिन्छ। अर्थमन्त्री रामेश्वर खनालले तत्काल पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउने निर्णय गर्नुपर्छ। अनि मात्र घरभित्र लुकाइएका रकमहरू बाहिर आउँछन्। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा शीर्ष नेताहरूको घरमा ठूलो रकम भेटियो।
काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा पैसाको खातैखात फेला परेको थियो। यता, ऊर्जामन्त्री दीपक खड्काको घरबाट पैसा नै उडेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा पनि पैसा भेटिएको भनी भिडियोहरू बाहिर आइरहेका छन्।
अन्य नेताको घरमा पनि पैसा होला। केही महिनाअघि मात्र राजधानीको गोंगबुमा झण्डै पाँच करोड रुपैयाँ भेटिएको थियो। यता, भक्तपुरमा एकाध वर्षअघि एउटैको घरबाट करोडौं रुपैयाँ चोरी भएको थियो। नेतादेखि व्यक्तिले घरमा करोडौं रुपैयाँ लुकाएका छन्। हुनेहरूले कोठामा ताला लगाएर राखेका छन्, नहुनेसँग छँदै छैन।
अनि बजारले कसरी गति लिन्छ ? केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको बाटोमा हिँडेर अब देशले फड्को मार्दैन। वर्तमान प्रधानमन्त्री सुशिला कार्की देशलाई निकास दिने तर्फ जानुपर्छ। कसरी बजार चलायमान हुन्छ ? कर कसरी उठ्छ ? घरमा लुकाइएको रकमहरू कसरी निकाल्न सकिन्छ ? यसमा उनको ध्यानाकर्षण हुनुपर्छ।
किनकि, केपी, शेरबहादुर, पुष्पकमललगायत मन्त्री बनेकाहरूले काम गर्न सकेका भए विरोध नै हुँदैनथ्यो, उनी प्रधानमन्त्री बन्दै बन्दैनथिन्। त्यसैले, उनले छिटोभन्दा छिटो नयाँ–नयाँ निर्णय गरेर पैसा बाहिर निकाल्नुपर्छ। डामाडोल बजारलाई चलाउनतर्फ लाग्नुपर्छ। सवारीसाधनमा चार वटा गियर हुन्छ।
धेरै लोड र उकालो बाटोमा एक नम्बर गियर लाग्छ। थोरै लोड र तेस्रो बाटोमा चार नम्बर गियर लाग्छ। चालकले त अवस्था हेरेर गियर हाल्छन् भने यो त देशको कुरा हो। घ्यारर्घ्यार चलिरहेको देशलाई अब पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएर स्मूथ्ली चलाउनुपर्छ।
पुराना नेताहरू पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन डराउनुको कारण उनीहरूकै कारणले थुप्रिएको पैसा थियो। सबै आफ्नै घरमा थुपारेर राखेका छन् अनि उनीहरूले प्रतिबन्ध लगाउँछन् ? पाँच वर्षदेखि उनीहरूले एउटै शब्द बोल्दैछन्– अर्थतन्त्रले गति लिँदैछ। तर, कहाँ र कसरी लियो ? जनताले देखेका छैनन्।
नयाँ सरकारले तत्काल पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्छ। किनकि, सरकारी कर्मचारी, व्यापारीहरूले पनि त्यसरी नै पैसा लुकाएका छन्। पैसा थुपार्नका लागि होइन, पैसा बजार घुमिरहनुपर्छ। एउटा नोट दिनमै सय जनाको हातमा पुग्नुपर्छ। अनि मात्र बजार चलायमान हुन्छ।
एउटा मकैको गेडाबाट तीनदेखि पाँच घोगा मकै फल्छ। ती पाँच घोगामा हजारौं गेडा मकै हुन्छ। पैसा पनि त्यस्तै हो। एउटा नोटले अर्को नोट कमाउने हो। पैसा त कुदाएको कुदयै गर्नुपर्छ अनि मात्र अर्थतन्त्र ट्रयाकमा आउँछ। बजारमा पैसा ननिस्किँदा व्यापार सुकेको छ। व्यापार सुक्दा राज्यको ढुकुटीमा राजस्व आएको छैन।
अर्ब अर्थतन्त्र सुधार्ने जिम्मा प्रधानमन्त्री र अर्थमन्त्रीको काँधमा छ। जेनजीको आन्दोलनपश्चात् कतिपय मुलुकले नेपाललाई भिसा रोकेको छ। जसका कारण विगतको तुलनामा कम रेमिट्यान्स आउँछ। विदेश गएर कमाउने सपना देखेकाहरू बेरोजगार भएर बस्नुपर्ने भएको छ।
जति अर्थतन्त्र चलायमान भयो, त्यति नै राज्यको ढुकुटीमा राजस्व आउँछ। जनतासँग खानालाई पैसा छैन भने कर कसले तिर्छ ? कर नै उठेन भने राज्यले दैनिक सरकारी खर्च कसरी धान्छ ? २९ खर्ब ४२ अर्बको वैदेशिक ऋणको साँवा ब्याज कहाँबाट तिर्ने ? कर्मचारीलाई तलब कसरी खुवाउने ?
दूध किसान र उखु किसानको सात अर्ब, कोरोना बीमा गरेका अस्पतालका २४ अर्ब र निर्माण व्यवसायीको ४५ अर्ब कहाँबाट तिर्ने ? भत्ता कसरी बाँड्ने ? सरकारले अब पनि हेलचेक्र्याइँ गर्ने हो भने मुलुकमा ठूलो संकट आउँछ। देश नै नरहने अवस्था आउन सक्छ। अर्थमन्त्री खनाल अब घुमघाममा निस्किने होइन,
धमाधम निर्णय गर्ने हो। समयको ख्याल नगर्दा र कुर्सीमा मात्र बसिरहन खोज्दा पुराना नेताको हविगत के भयो ? सबैले देखेका छौं। नयाँको पनि त्यस्तो हालत नहोस्।














