अछामको कमलबजारमा तीन वर्ष चलेको हावाबाट बिजुली निकाल्ने परियोजना प्राविधिक समस्याका कारण बन्द भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ मा हावाबाट ३०० मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा कमलबजारमा ३० किलोवाट क्षमताको योजना सुरु भएको थियो।
करीब २ करोड लागतमा बनेको परियोजनाबाट १५ किलोवाट हावाबाट र १५ किलोवाट सौर्य ऊर्जाबाट विद्युत उत्पादन गरिएको थियो। यसबाट करिब २ सय घरधुरी र ५ हजार जनसंख्या लाभान्वित भएका थिए।
तर, केन्द्रीय प्रसारण लाइन विस्तारसँगै परियोजना २०७६ सालमा बन्द भयो। नगरपालिकाका उपप्रमुख सारदा विष्टका अनुसार उपकरण चोरी र मर्मत समस्या पनि प्रमुख कारण हुन्।
“लगभग २५ लाख रुपैयाँ लगानी गरे पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भनिन्।
हाल परियोजनाको पुनःसंरचना गरी स्वास्थ्य संस्था, विद्यालय तथा सरकारी निकायमा विद्युत आपूर्ति गर्ने विषयमा छलफल भइरहेको छ।
यो नगरपालिकाकै सम्पत्ति भएकाले मर्मत र सञ्चालनबारे निर्णय लिने तयारी भइरहेको उपप्रमुख विष्टले जानकारी दिइन्।














