सोमबार, ९ भाद्र, २०८२

जुम्लाको मातृभूमि लघुवित्तका हाकिमले गरे ग्राहकको बचत अपचलन

संस्थाको आन्तरिक लेखा परिणक्ष भएको बेला भने शाखा प्रमुख जैशीले कमजोरी भएको स्वीकारेका छन्। यो विषयमा संस्थाको केन्द्रलाई सबै जानकारी छ।

जुम्लाको चन्दननाथ नगरपालिका -९ उमगाडकी जोती गिरी तीन वर्षदेखि लघु वित्तीय संस्थाको बैठकमा गएकी छैनन्।

तर, उनका नाममा जम्मा भएको बचत रकम र त्यसको ब्याज एकमुष्ट रूपमा फिर्ता गरिएको छ, उनी आफैंलाई जानकारी नगराई।

न त उनले कार्यालयको ढोका टेकिन्, न निवेदन दिइन्, न त सिफारिस नै गरिन्। तर उनका खाताबाट निकासी भयो अधिकारीकै हातबाट!

यो शंका होइन, ठोस प्रमाणसहितको ठगी हो।

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तातोपानीका प्रमुख मान प्रसाद जैशीले सक्रिय सदस्यबाट निष्क्रिय भइसकेकी महिलाको बचत रकम अपचलन गरेका छन्।

यो रहस्योद्घाटन पछि गाउँमा एकपछि अर्को गरी लघुवित्तविरुद्ध आवाज उठ्न थालेको छ।

“म कहाँ गएँ र कहिले फारम भरेँ?”

तीन वर्षअघि समूहबाट बाहिरिएकी जोती गिरीले अचम्म मान्दै भनिन्, “मैले पहिला महिनाको दुई सयका दरले बचत गर्दै आएकी थिएँ। पछि एक लाख ऋण लिएँ। सावा र ब्याज तिर्दै गएँ। सबै रकम चुक्ता भयो भनेपछि म त्यो संस्थामा गएकी छैन। अहिले मलाई पाउनुपर्ने रकम मलाई बोलाएर दिनुको साटो हाकिमले खाइदिएछन्।”

२०७८ साल यता कार्यालय नगएकी महिलाको नाममा ०८१ फागुन २५ गते एकमुष्ट निकासी भयो। रकम कहाँ गयो? के प्रमाण छ? शाखा प्रमुख मौन छन्।

तर संस्थाको आन्तरिक लेखा परिणक्ष भएको बेला भने शाखा प्रमुख जैशीले कमजोरी भएको स्वीकारेका छन्। यो विषयमा संस्थाको केन्द्रलाई सबै जानकारी छ।

शाखा प्रमुख जैशीमाथि यति गम्भीर आर्थिक अनियमितताको आरोप लाग्दासमेत लघुवित्तको केन्द्रीय कार्यालयले चासो देखाएको छैन।

तर थुप्रै सदस्यहरूको वचत रकम हिनामिना भएको जानकारी कुटीरो डट कमलाई प्राप्त भएको छ।

यता तातोपानी -४ कि दुर्गा कुमारी शाही पाण्डेको पनि २१ सय ७७ रुपैयाँ हाकिमले नै खाइदिएको खुलेको छ। उनको नाममा रहेको बचत रकम पनि सोही दिन अपचलन गरिएको देखिएको छ।

दुर्गाले भनिन्, “मेरो बचत रकम छैन भनेर पठाउनु भएको हो। पछि मलाई थाहा नै नदिई मेरो हस्ताक्षर विना पैसा झिकिएको रहेछ”

पीडित महिलाहरूका अनुसार, लघुवित्तले पैसा फिर्ता गर्दा बचत विवरण दिने चलन नै छैन। अधिकांश महिला सदस्य न लेखपढ गर्न जान्छन्, न त आर्थिक विवरण बुझ्ने अवस्था छ।

अन्य सदस्यहरुको पेन्सन बचत १५ वर्षसम्मलाई भनेर जम्मा गरेको छ। तर १५ वर्ष अगावै सदस्यले फिर्ता लिँदा साँवा मात्र फिर्ता पाएको भेटिएको छ। जस कारण बचकर्ताले पाउनुपर्ने ब्याज समेत शाखा प्रमुख आफैले अपचलन गरेको देखिन्छ।

तर, शाखा प्रमुख जैशीले आफू अहिले जिल्ला बाहिर रहेकाले सबै कागजात हेरे एकिन कुरा गर्न सक्ने बताए। उनले भने, “म अहिले कालिकोट जिल्लामा छु। जुम्ला आएपछि सबकुरा बसेर गरौंला।”

लघुवित्तले गाउँ–घरको गरीब महिलालाई आर्थिक उन्नतिको सपना देखाएर स्थापना गरिएका लघुवित्तहरू आज आफ्नै उद्देश्यबाट च्युत भइरहेका छन्।

रोजगारीको अवसरभन्दा ऋणको पासो र बचतको सुरक्षाभन्दा अपचलनको डर फैलन थालेको छ।

(नोट:- यो विषयसँग सम्बन्धित थप प्रमाणहरु कुटीरो डटकमसँग सुरक्षित छन्।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार