शनिबार, २६ पुष, २०८२

अन्य मुलुकको इशारामा राजनीति गर्दा देश लथालिङ्ग, सबै उद्योग–कलकारखाना बन्द!

अर्को देशलाई धनी बनाउन सरकारले उद्योग नै बन्द गरिदियो। यहाँ अरु देशले जे भन्यो, त्यही हुन्छ। अरु देशले जे जे भन्यो, नेताहरू त्यही त्यही गर्छन्।

मुलुकमा तीन दशकअघि गार्मेन्ट उद्योग, पश्चिमा उद्योग, गलैंचा उद्योग, फिल्म हल खोल्ने होडबाजी थियो। त्यसपछि सिमेन्ट, डण्डी, रंग कारखाना खोल्ने होड चल्यो। निर्माण सामग्रीपछि बैंक तथा वित्तीय संस्थाप्रति मोह शुरु भयो। धमाधम बैंक, सहकारी, लघुवित्त, फाइनान्स खोल्न थालियो।

त्यसपछि आउँछ, घरजग्गा र सेयरमा लगानी। भटाभट सेयर र घरजग्गामा लगानी गर्न थालियो। त्यसैगरी, बीमा कम्पनी खोल्ने होड चल्यो। तर, सबै क्षेत्रमा लगानी गर्नेहरू चुलुम्मै डुबे। कतैबाट पनि नभएपछि अहिले होडबाजी चल्यो–विदेश जाने। हजारौं विदेश पलायन भइरहेका छन्।

कोही सहकारी काण्डले जेलमा पुगेका छन् त केहीले आत्महत्या गरेका छन्। जनताले देखासिकीमा लगानी गर्दै आएका छन्। कुन क्षेत्रमा लगानी गर्दा आफ्नो पैसा सुरक्षित हुन्छ? राज्यलाई कर आउँछ र आफ्नो पनि आम्दानी हुन्छ? सोच्दै नसोचिकन जनताले हावादारीको भरमा लगानी गर्दै आएका छन्।

अरुले कमाए, म पनि कमाउँछु भनेर लगानी गर्छन्। र, त्यो चार्लमचुर्लुम डुब्छ। जसको परिणाम हो, माथि उल्लेखित उद्योगदेखि व्यवसायसम्म। हुन त यहाँ सरकारसँगै योजना छैन। जसका कारण सरकारकै लगानी डुबेको अवस्था छ। चाइनिज इँट्टा उद्योग, छाला जुत्ता उद्योग, हेटौडा लुगा कारखानालगायत थुप्रै उद्योग बन्द भएका छन्।

सरकार र जनताले गरेको लगानी डुब्नुको प्रमुख कारण राजनीतिक दलका नेता हुन्। नेपालको नेता भनिएपनि अरु देशको झोला बोकेर राजनीति गरिएको अवस्था छ। कुनै अमेरिकाको झोला बोकेर राजनीतिमा आएका छन् त कुनै भारतको। कुनै चीनको झोले बनेर राजनीतिमा प्रवेश गरेका छन्।

जसको एउटा बलियो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन्। अमेरिकाको नागरिकता लिइसकेका उनी नेपाल फर्किए, पार्टी खोले, राजनीतिमा आए। अहिले सहकारी ठगीको आरोपमा जेलको चिसो भुइँमा पुगेका छन्। अन्य देशले नेपाललाई कहिल्यै स्वतन्त्र रूपमा अघि बढ्न दिँदैनन्।

अन्य देशले नेपाललाई आफ्नो व्यापारिक थलो बनाएका छन्। उनीहरूको देशमा उत्पादन भएको सामान यहाँ बेचिरहेका छन्। त्यसैले नेताहरुलाई हाता लिएर उनीहरूले यहाँ सञ्चालित सबै उद्योग बन्द गराए। त्यत्रो लगानी लगाएर सञ्चालनमा ल्याइएको उद्योगहरू अहिले खण्डहर अवस्थामा छन्।

जनताले तिरेको कर त सखाप भइहाल्यो, अर्कोतिर नेपाल अर्को देशमाथि निर्भर हुन पुग्यो। दशकौँअगाडि उत्पादन भएको उद्योगलाई संरक्षण गर्न चासो देखाइएन। अहिले नेपाल सियोमा समेत आत्मनिर्भर छैन। सियो पनि अर्को देशबाट आयात गर्नुपरेको अवस्था छ। ती उद्योग हुँदा जनताले रोजगारी पाएका थिए।

तर, अर्को देशलाई धनी बनाउन सरकारले उद्योग नै बन्द गरिदियो। यहाँ अरु देशले जे भन्यो, त्यही हुन्छ। अरु देशले जे जे भन्यो, नेताहरू त्यही त्यही गर्छन्। भूपू राष्ट्रपति विद्यादेवी भण्डारी हाल पार्टी अध्यक्ष लड्ने दाउमा छिन्। चीनबाट फर्किएपछि उनी एकाएक पार्टी अध्यक्ष बन्न तातिन्।

त्यसपछि नखुलेकी उनले अहिले राष्ट्रपतिको सेवासुविधा त्याग गरिसकेकी छिन्। चीनले कान फुकेकाले उनले पार्टी अध्यक्षमा लड्ने निर्णय गरेको चर्चा बजारमा छ। नेपालको राजनीतिक परिवर्तनमा विद्यादेवी भण्डारीको कुनै योगदान छैन। स्वर्गीय नेता मदन भण्डारीको त्याग हेरेर जनताले उनलाई मतदान गरेको हो।

दुई पटक राष्ट्रपति खाइसकेकी उनलाई अरुले उचाल्नेबित्तिकै पार्टी अध्यक्ष उठ्ने निष्कर्षमा पुगिन्। यसले नेपालका राजनीतिक दलहरू अन्य मुलुकको लहैलहैमा हिड्छन् भन्ने प्रष्ट पार्छ। नेपाली यति सीधा छन् कि रविका निम्ति हस्ताक्षर गर्दै हिँडेका छन्। उनले अमेरिकी नागरिकता त्यागिसके भने अमेरिका सरकारले नेपाल सरकारलाई कुनै प्रमाण पठाएको छैन।

जसले रवि अहिले पनि अमेरिका नागरिक भएको देखिन्छ। अर्को देशको नागरिकलाई राजनीतिक प्रतिशोध भयो भनेर नेपाली जनता सडकमा हस्ताक्षर गर्दै हिँडेका छन्। नेपालीको कहिले आँखा खुल्ने? भूपू न्यायाधीश, भूपू प्रधानमन्त्री बाबुराम भट्टराई, कलाकार मनीषा कोइरालालगायत विभिन्न कलाकार, भूपू कर्मचारीलगायतले उनको पक्षमा हस्ताक्षर गरे।

तर, उनीहरूले उनको नागरिकता कहाँको छ? अमेरिकी सरकारले उनले नागरिकता त्यागेको प्रमाणित गरेको छ कि छैन? उनीहरूले खोजेनन्। सहकारीमा यत्रा जनताको पैसा फसेको छ, उनीहरूको बारेमा सोच्नुपर्छ कि पर्दैन? उनीहरू नेपाली जनता होइनन्? सहकारीका बचतकर्ताले चाँहि न्याय नपाउने?

पैसा पनि फिर्ता नपाउने अनि सहकारी ठगी गर्नेलाई थुन्न पनि नपाउने? हस्ताक्षर गर्नेहरूलाई जनताले सोध्छन्, ‘सहकारी बचतकर्ता विदेशी नागरिक हुन्? उनीहरूको पैसा फिर्ता दिलाउन पहल गर्ने कि सहकारी ठगीमा जेल पुगेकालाई जोगाउन?’ यस्ता नेताहरू भएको देशमा जनताले कहिल्यै सुख पाउँछन्?

प्रायःजसो पार्टी सरकारमा पुगिसकेको छ। तर, कसैले पनि देशको मुहार फेर्न चाहेनन्। देशभित्रै उद्योग, कलकारखाना खोलौं, जनतालाई रोजगारी दिऔं, यहाँको जनशक्तिलाई विदेश जान नदिऔं, कर उठाऔं, विकास गरौं भन्ने सोच नेतृत्वकर्ताहरूमा कहिल्यै पलाएन। जनतालाई धमाधम विदेश पठाइदिऊँ अनि आफूहरू मोजमस्ती गरौं भन्ने सोच राखे।

त्यसैले त नेपालमा अब जनशक्ति नै छैन। पैसा हुने अमेरिका, अष्ट्रेलिया, नहुने खाडी छिरिरहेका छन्। माओवादीले के के न गर्छु भनेर जनयुद्ध शुरु गर्यो। माओवादी शान्ति सम्झौतामा आएको १८ वर्ष भयो। यो अवधिमा २७ खर्ब पाँच अर्ब १७ करोड विदेशी ऋण पुग्यो। योभन्दा कति नै गर्नु?

देश नै धितो राखेर खानु खाइहाले। यस्तै पाराले केही वर्षपछि देश ध्वस्त हुन्छ। नेताहरूले राजनीतिक गर्नुको उद्देश्य जनताले थाहा पाइसकेका छन्। काँग्रेस, एमाले, माओवादीलगायत सबै पार्टीको नियत उहीँ हो। जनताले तिरेको कर र विदेशी ऋणमा मोजमस्ती गर्न मात्र यिनीहरूले राजनीति गरेका हुन्।

देश र जनताको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गरिएको छ। हिजो चप्पल लगाउन नसक्नेहरू आज अर्बौंका मालिक बनेका छन्। जुनसुकै पार्टी भएपनि कसैले कहिल्यै देश र जनताको विषयमा सोचेनन्। जनता शिक्षित भए तर उनीहरूमा चेतना भएन। नेताहरूले सँधै भ्रम फिजाए।

यसले गरेन अर्कोले गर्छ कि भनेर जनता एकपछि अर्कोमा लागिरहेका छन्। एमाले छोडेर काँग्रेस, काँग्रेस छोडेर माओवादी, अब माओवादी छोडेर रास्वपा। त्यसको परिणाम अहिले समग्र मुलुकले भोगिसकेको छ। नेताहरूले उद्योग, कलकारखाना त बेचे, देश पनि बेचिसके।

राजनीतिक दलका नेताहरू अझै भन्छन्, ‘हामी देशमा विकास गर्छौं।’ तर, अब कोले विकास गर्छु? सरकारको ढुकुटीमा पैसा हुनुपरेन, विकास गर्नलाई? एक जना नेपालीको टाउकोमा अहिले ९२ हजार रुपैयाँ ऋण पुगिसकेको छ। जनता आफ्नो यति सम्पत्ति भन्छन् तर त्यही सम्पत्ति धितो राखेर सरकारले ऋण ल्याएको छ। नेताहरूले देश विदेशीलाई सुम्पिसके।

नेपालीहरूले आफूलाई नेपाली भन्ने आधार एउटा नागरिकता र नेपाली रुपैयाँ छ। नत्र त बजारमा विदेशी सामानकै प्रभुत्व छ। नुनदेखि सुनसम्म विदेशबाट आयात हुन्छ। नेपालमा उत्पादन भएकोले यहाँका जनतालाई पुग्ने कुनै वस्तु छैन। २०४६ सालअघि नेपालमा धेरै उद्योग कलकारखाना थियो।

त्यतिबेला विदेशी ऋण थिएन, विदेश जाने चलन शुरु भएको थिएन। राजनीतिक परिवर्तनसँगै देश लथालिङ्ग भयो। राजनीतिक परिवर्तनले मुलुक सुधारिने होइन, झन् बिगार्यो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार