सोमबार, ९ भाद्र, २०८२

दलालीसँग बिकेर इन्जिनियरद्वारा धमाधम धितोको गलत मूल्याङ्कन, डुबेपछि इन्जिनियर खोज्दै बैंक!

व्यक्ति होस् वा बैंक र वित्तीय संस्था, लगानी गर्दा सोचविचार गरेनन्। लहैलहैमा लागेर लगानी गरियो। सबैले घरजग्गा, सवारीसाधन र सेयरको मूल्य बढिरहेको मात्र देखे। कसैले यसको विगत र भविष्यबारे सोचेनन्। आज त्यसको परिणाम भोगिरहेका छन्।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुअघि त्यसका लागि राखिने धितोको मूल्याङ्कन गर्नुपर्छ। विशेषगरी घरजग्गा, सवारीसाधन, सेयर र सुन धितो राखेर कर्जा प्रवाह गर्ने गरिएको छ। यस्ता वस्तुको मूल्याङ्कन बैंकले तोकेको व्यक्ति वा सम्बन्धित संस्थाका इन्जिनियरलगायत जिम्मेवार व्यक्तिहरूले गर्छन्। उनीहरूले गरेको मूल्याङ्कनको आधारमा बैंक वा वित्तीय संस्थाले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्छन्।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणीको सङ्ख्या लाखौँ छ। एउटै व्यक्तिले पाँच लाखदेखि अर्बौँ रुपियाँसम्म कर्जा लिएका छन्। कतिपयले घरजग्गा धितो राखेर कर्जा लिएका छन् भने कतिपयले सवारीसाधन, सेयर र सुन। तर, धितो मूल्याङ्कनमा बैंक र वित्तीय संस्थाहरूले इन्जिनियरमाथि विश्वास गर्दा नराम्ररी फसेका छन्। किनभने, दलाली र ऋणीसँग घुस खाएर इन्जिनियरहरूले गलत मूल्याङ्कन गरी बैंक र वित्तीय संस्थामा पेश गर्ने गरेका छन्।

उदाहरणका लागि, एक करोड मूल्यको घरजग्गा नभए पनि ऋणी र दलालीसँग दश लाखदेखि पचास लाख रुपियाँसम्म घुस खाएर त्यसको मूल्य दुईदेखि तीन करोडसम्म देखाइन्छ। सोही आधारमा बैंकले कर्जा प्रवाह गर्छ। इन्जिनियरले गरेको मूल्याङ्कनको ६० देखि ८० प्रतिशतसम्म बैंकले कर्जा दिन्छ। अर्थात्, तीन करोड मूल्याङ्कन भएको धितोमा दुईदेखि साढे दुई करोडसम्म कर्जा प्रवाह गरिन्छ।

केही दिनअघि काठमाडौँको चाबहिलमा भेटिएका नेपाली सेनाका एक पूर्वसैनिकले २०४५ सालमा शङ्खमूलमा पाँच आना घडेरी २५ हजार रुपियाँमा किनेको र ६ वर्षअघि आनाकै एक करोड २५ लाखमा बेचेको बताए। जग्गाको मूल्य बढेको पछिल्ला केही वर्षमा हो। पाँच दशकअघि त जग्गाको मूल्य नै थिएन। जग्गा र भूमाफियाहरूले कृत्रिम रूपमा बढाएको मूल्य अहिले निरन्तर ओरालो लागिरहेको छ।

तर, बैंक र वित्तीय संस्थाको अधिकांश कर्जा लगानी घरजग्गामै छ। त्यसमाथि धितो मूल्याङ्कन गर्ने इन्जिनियरहरू ऋणी र दलालीसँग घुसमा बिक्दा बैंकको लगानी बालुवामा पानीसरह भएको छ। इन्जिनियरले घरजग्गाको मूल्याङ्कन त गरे, तर त्यसको विगत र भविष्यबारे अनुमान भने गरेनन्। वर्तमानमा जसरी भविष्यमा पनि घरजग्गाको मूल्य बढिरहन्छ भन्ने ठानेर ऋणीसँग घुस खाएर गलत मूल्याङ्कन बैंकमा पेश गरिदिए।

अहिले महँगोमा घरजग्गा किन्ने र त्यसमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरू चुलुम्मै डुबेका छन्। बजारमा सुनिन्छ, बैंकले ऋणीसँग उठाउनुपर्ने करोडौँ रकम छ, तर धितो बेच्दा त्यसको आधाको आधा रकम पनि उठ्दैन। धितोको गलत मूल्याङ्कन गर्ने इन्जिनियरहरूलाई कारबाही गर्न बैंकहरू कस्सिएका छन्। प्रहरीमा उजुरी दिने कि गुण्डागर्दी गरेर रकम उठाउने भन्नेमा बैंकहरू आन्तरिक छलफलमा जुटेका छन्। यद्यपि, बैंक र वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरूले पनि घुस खाएर कर्जा प्रवाह गरेका छन्।

एक करोड कर्जा दिँदा दश लाख घुस लिए। यतिमात्र होइन, तीन प्रतिशत सेवाशुल्क र १२ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुलेका छन्। बैंकबाट घरजग्गा, सवारीसाधन, सेयर र सुन धितो राखेर कर्जा लिएकाहरू कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। “कर्जा तिर्न सक्दैनौँ, बरु धितो लिलाम गर” भन्ने अवस्थामा ऋणीहरू छन्। तर, धितो लिलाम गरे पनि कर्जाको आधा रकमसमेत उठ्ने अवस्था छैन।

यसले बैंक दोहोरो सङ्कटमा परेको छ। व्यक्ति होस् वा बैंक र वित्तीय संस्था, लगानी गर्दा सोचविचार गरेनन्। लहैलहैमा लागेर लगानी गरियो। सबैले घरजग्गा, सवारीसाधन र सेयरको मूल्य बढिरहेको मात्र देखे। कसैले यसको विगत र भविष्यबारे सोचेनन्। आज त्यसको परिणाम भोगिरहेका छन्। लहैलहैमा लागेर सोचविचार नगर्दा के हुन्छ भन्ने कुरा व्यक्ति, बैंक र वित्तीय संस्थाहरूले राम्ररी बुझेका छन्।

२०२२ सालमा सुन प्रतितोला ८० रुपियाँ थियो भन्ने बुढापाकाहरू अझै भेटिन्छन्। केही महिनाअघि सुन प्रतितोला एक लाख ९७ हजार तीन सय रुपियाँ पुग्यो। तर, सुनको तौल उही हो। सेयर बैंकले प्रतिकित्ता एक सय रुपियाँमा निष्कासन गरेको हो। तर, दलालहरूले मूल्य बढाएर ३५ सयदेखि पाँच हजारसम्ममा सर्वसाधारणलाई बेचे। सवारीसाधन फलाम, प्लास्टिक, रबर, कपडा र सिसाबाट बन्छ।

यी वस्तु दुई रुपियाँ किलोमा पनि बिक्दैनन्। तर, यिनै वस्तुबाट बनेका सवारीसाधन छिमेकी देश भारत र चीनले हामीलाई लाखौँदेखि करोडौँमा बेच्छन्। यता, जग्गाको मूल्य निरन्तर बढिरहँदा त्यसको न लम्बाइ बढेको थियो, न चौडाइ। तैपनि, मूल्य आकाशिएको थियो। यी सबै वस्तुको मूल्य बढाउने मुख्य कारक दलालहरू हुन्। दलालहरूले कृत्रिम रूपमा घरजग्गा, सवारीसाधन र सेयरको मूल्य बढाए। सुनको मूल्य पनि अहिले घटबढ भइरहेकै छ।

अब यस्ता वस्तुमा लगानी गर्ने कति सर्वसाधारण र बैंक–वित्तीय संस्थाहरू डुब्ने हुन्, थाहा छैन। घरजग्गा, सवारीसाधन र सेयरको मूल्य जतिसुकै बढे पनि यी विलासिता वस्तु हुन् र अत्यन्त जोखिमपूर्ण छन्। किनभने, रातारात मूल्य बढेका वस्तुको मूल्य रातारात घट्न पनि सक्छ। तर, यस्ता जोखिमपूर्ण वस्तुमा लगानी गर्नुअघि व्यक्ति, बैंक र वित्तीय संस्थाहरू कसैले पनि सोचविचार गरेनन्। मूल्य बढेकै आधारमा दलालको पछि लागेर लगानी गरियो।

जग्गाको मूल्य बढेपछि यसमा लगानी गर्नेको ताँती लाग्यो। सँगै सरकारी, सार्वजनिक, ऐलानी, तालपोखरी, ढुङ्गेधारालगायतका जग्गाहरू पनि व्यक्तिका नाममा लगियो। देशभर ७७ जिल्ला छन्। तीमध्ये ७४ जिल्लाका बासिन्दाले काठमाडौँ, ललितपुर र भक्तपुर अर्थात् उपत्यकामा घडेरी किनेका छन्। गाउँमा रोपनीका रोपनी जग्गा बाँझो राखेर, घरमा ताला झुन्ड्याएर उनीहरूले यहाँ आनाकै लाखौँमा जग्गा किनेका छन्।

अधिकांश मासिक हजारौँ रकम भाडा तिरेर डेरामा बसिरहेका छन्। पछिल्लो समय घरजग्गा कारोबारमा व्यापक मन्दी छ। यसको मूल्य निरन्तर ओरालो लागिरहेको छ। पाँच वर्षअघि करोडमा किनेको घडेरी अहिले आधा मूल्यमा बेच्न खोज्दा पनि बिक्री नभएको अवस्था छ। कारण, घरजग्गाको मूल्य पहिलेकै अवस्थामा फर्किँदैछ। भनिन्छ, १२ वर्षपछि सुकेको खोला पनि फर्किन्छ।

त्यसैगरी, घरजग्गाको मूल्य पनि पहिलेकै अवस्थामा फर्किँदैछ। जनता सचेत हुँदै गएका छन्। जसले गर्दा अहिले घरजग्गाजस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्नेहरूको कमी छ। जनताले यस्ता वस्तु नकिन्दा मूल्य घट्नु स्वाभाविक हो। घरजग्गाको मूल्य अझै घट्ने देखिन्छ। त्यसैले, यस्ता वस्तुमा लगानी गर्नुअघि सोचविचार गर्नुपर्छ। साथै, बैंकमा भएको आफ्नो बचतबारे पनि सचेत रहनुपर्छ। किनभने, बैंकको लगानी पनि फसेको कुरा छर्लङ्ग भइसकेको छ।

दलालहरूले आफ्नो स्वार्थका लागि घरजग्गा, सवारीसाधन, सेयर र सुनको मूल्य बढाए। यस्ता वस्तुमा लगानी गर्न लगाएर व्यक्ति, बैंक र वित्तीय संस्थाहरूलाई डुबाए। सँगै, धितोको गलत मूल्याङ्कन गर्ने इन्जिनियरहरूलाई पनि फसाए। अहिले ती इन्जिनियरहरू लुकेर बस्नुपर्ने अवस्था छ। किनभने, बाहिर निस्कनासाथ बैंकले समातेर प्रहरीलाई बुझाइहाल्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार