जुम्ला रारा अल्ट्रा म्याराथन एक खेल प्रतियोगिता मात्र होइन, कर्णालीको साहस, सहनशीलता, प्राकृतिक सौन्दर्य र सामूहिक एकताको प्रतीक बनेको छ। कार्यक्रमका प्रमुख अतिथि माधव चौलागाईंले भनेजस्तै अब यो संस्कृति बनिसकेको छ।
सातौँ संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै यस प्रतियोगिताले फेरि एकपटक हिमाल, पहाड र तालको काखमा खेलकुदको नयाँ इतिहास रचेको छ। कठिन हिमाली ट्रेल, उकालो–ओरालो, कच्ची बाटो र चुनौतीपूर्ण मौसमबीच ५४ किलोमिटरको दूरी पार गर्नु कुनै सामान्य उपलब्धि नभएको आयोजक संस्था कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले बताए।
उनका अनुसार देशका विभिन्न भागबाट आएका धावकहरूले असाधारण आत्मबल, दृढता र खेलप्रतिको समर्पणका साथ यो कठिन यात्रा पूरा गर्दै कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने महत्वपूर्ण योगदान दिएका छन्।
यस वर्ष पुरुषतर्फ जुम्लाका धिर बुढाले ६ घण्टा ९ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जिते। उनीपछि होमलाल श्रेष्ठ दोस्रो र गोपाल तामाङ तेस्रो स्थानमा रहे। चन्द्र रावत चौथो तथा मिलन राई पाँचौँ स्थानमा रहे।
महिलातर्फ जुम्लाकी कल्पना बुढाले ७ घण्टा ७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै शानदार विजय हासिल गरिन्। सुनसरी रोकाया दोस्रो, सन्देवा बुढा तेस्रो, राज्यलक्ष्मी रावल चौथो तथा पुष्पा शेर्पा पाँचौँ स्थानमा रहिन्।
महिला खेलाडीले आयोजकले दिने पुरस्कारका अतिरिक्त अमृता कठायत परिवारले गरेको प्रोत्साहन सहयोग स्वरुप २५ हजार रुकम थप पाए।
विजेता खेलाडीहरूको यो सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। उनीहरूले कर्णालीको खेल इतिहासमा प्रेरणादायी अध्याय थपेका छन्। आयोजकले सम्पूर्ण विजेता खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यस वर्षको म्याराथनमा प्रतिस्पर्धाभन्दा बढी प्रेरणादायी क्षणहरू देखिए। नं. २४ बाहिनी, जुम्लाका बाहिनीपति श्री अर्जुन बस्नेत स्वयं दौडमा सहभागी भएर धावकहरूलाई हौसला प्रदान गरे। उनको सहभागिताले अनुशासन, नेतृत्व र खेलप्रतिको सम्मानलाई थप उजागर गेको अन्तर्राष्ट्रिय धाव हरि रोकायाले बताए।
त्यस्तै, ५५ वर्षको उमेरमा सफलतापूर्वक दौड पूरा गर्ने लंक बहादुर थापा, बुवा–छोरीको जोडीका रूपमा सहभागी भई दौड पूरा गर्ने भवानी प्रसाद पाण्डेय र उनकी छोरी सुन्तली पाण्डेय, तथा ६० वर्षको उमेरमा काठमाडौंबाट आएर चुनौतीपूर्ण दौड पूरा गर्ने रोबिन जंग थापाले उमेर केवल संख्या मात्र हो भन्ने सन्देश दिएका छन्।
विशेष सम्मान जुम्ला पातारासीकी उम्मकली बुढालाई प्रदान गरिएको छ। उमेरलाई चुनौती दिँदै निरन्तर दौडमा सक्रिय रहनु, नयाँ पुस्तालाई प्रेरणा दिनु र खेलप्रतिको समर्पणलाई जीवित राख्नु वास्तवमै अनुकरणीय कार्य हो। ३८ वर्षको उमेरबाट दौडिन सुरु गरेर सातवटै म्यराथनमा दौडिएकी उनको ऊर्जा र साहस सम्पूर्ण धावकका लागि प्रेरणाको स्रोत बनेको अल्ट्रा रारा म्याराथनका परिकल्पनाकार क्याप्टेन हिक्मत रोकायाको भनाई छ।
प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, कर्णाली खेलकुद परिषद्, डिभिजन वन कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका, कनकासुन्दरी, पातारासी र गोठीचौर गाउँपालिकाले महत्वपूर्ण सहयोग गरेको अध्यक्ष शाहीले जानकारी दिए।
उनका अनुसार नेपाली सेनाको नं. २४ बाहिनी नन्दा बक्स गण तथा रारा तालस्थित हनुमानध्वज गुल्मले सुरक्षा, व्यवस्थापन र प्राविधिक सहयोगमा महत्वपूर्ण भूमिका खेले। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी र अन्य सुरक्षाकर्मीको योगदान पनि उल्लेखनीय रह्यो।
प्रतियोगिताका रेस डरेक्टर उमेश रोकायाका अनुसार सबैभन्दा जिम्मेवारपूर्ण भूमिका स्वयंसेवकहरूले खेले। उनीहरुको अथक मेहनत, समर्पण र सक्रियता बिना यस्तो विशाल कार्यक्रम सफल हुन सम्भव थिएन।
‘टुगेदर वी मेड हिस्ट्री इन कर्नाली’ भन्ने नारालाई सार्थक बनाउँदै सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनले खेलकुद, पर्यटन र सामुदायिक एकताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ। अब सबैको नजर २०८४ बैशाख महिनाको अन्तिम शनिबार हुने आगामी संस्करणतर्फ केन्द्रित भएको छ।
















