सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेको आरोपमा जुम्लामा पाँच वटा सरकारी मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले जुम्ला बजारका विभिन्न स्थानमा गरेको सवारी चेकिङका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये क.१ब १४५ नम्बरको चन्दननाथ नगरपालिकाको मोटरसाइकल, क.१ब १५८ नम्बरको शहरी तथा भवन डिभिजन कार्यालयको मोटरसाइकल, क.१ब ३३६ नम्बरको चन्दननाथ नगरपालिकाको मोटरसाइकल, क.प्र.०-१००१ ब ४१० नम्बरको हिमा गाउँपालिकाको मोटरसाइकल तथा क १ प ७८ नम्बरको पातारासी गाउँपालिकाको मोटरसाइकल रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रकाश शाहीका अनुसार क.१ब १५८ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएपछि सम्बन्धित कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट पास ल्याएर उक्त मोटरसाइकल फिर्ता लगेको थियो। अन्य मोटरसाइकल भने हाल ट्राफिक प्रहरीको नियन्त्रणमै रहेका छन्।
ट्राफिक प्रहरीका अनुसार क.१ब १४५ नम्बरको मोटरसाइकल चन्दननाथ नगरपालिकाका कर्मचारी क्षेत्रबहादुर बुढाथापाले चलाइरहेका थिए भने क.प्र.०-१००१ ब ४१० नम्बरको मोटरसाइकल हिमा गाउँपालिकाका कार्यपालिका सदस्य वीर तिरुवाले चलाइरहेका थिए। क १ प ७८ नम्बरको मोटरसाइकल चलाउने व्यक्तिले आफू पातारासी गाउँपालिकाको प्राविधिक भएको बताएका थिए, तर नाम खुलाउन चाहेनन्।
ट्राफिक प्रमुख शाहीले सार्वजनिक बिदाका दिन जुम्लामा सरकारी सवारी साधनको चरम दुरुपयोग हुने गरेको पाइएको बताउनुभयो। नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ।

















