सोमबार, २ चैत्र, २०८२

भेरी करिडोरको कठिन खण्ड सेनालाई दिने मन्त्री परिषदको निर्णय

कर्णाली प्रदेशभित्र पर्ने भेरी करिडोर एनएच–५७ अर्थात् राष्ट्रिय राजमार्ग अन्तर्गत छिन्छु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम सडक खण्डमा पर्ने डोल्पा जिल्लाको लासिकाफदेखि सिसौलसम्मको करिब ३३ किलोमिटर सडक अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ।

भेरी करिडोरअन्तर्गत डोल्पाको अत्यन्तै दुर्गम र भिरालो भूभागमा पर्ने सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय सरकारले गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईंको विशेष पहलमा २०८१ चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले भेरी करिडोरको महत्वपूर्ण खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।

कर्णाली प्रदेशभित्र पर्ने भेरी करिडोर एनएच–५७ अर्थात् राष्ट्रिय राजमार्ग अन्तर्गत छिन्छु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम सडक खण्डमा पर्ने डोल्पा जिल्लाको लासिकाफदेखि सिसौलसम्मको करिब ३३ किलोमिटर सडक अत्यन्तै भिरालो र कडा चट्टान भएको भूभागमा पर्छ।

यही कारणले सडकको मापदण्डअनुसार ट्रयाक खोल्न कठिन भएकाले सो काम नेपाली सेनालाई जिम्मा दिने निर्णय गरिएको हो। मन्त्री चौलागाईंका सल्लाहकार अंगलला रोकायाका अनुसार यो निर्णयले डोल्पाको विकट क्षेत्रमा सडक पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। साथै हिमाली पर्यटन क्षेत्रको विकासमा पनि यो सडक कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

भेरी करिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो, तिन्जे पार गर्दै चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानासम्म पुग्ने योजना रहेको सडक हो। चीन, नेपाल र भारतलाई जोड्ने सम्भावना भएकाले यस सडकलाई रणनीतिक र व्यापारिक हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ।

२०७५ साल मंसिर ४ गते डोल्पाको त्रिपुराकोटसम्म ट्रयाक खोलिएको थियो र त्यसबेला सडकको औपचारिक उद्घाटन पनि गरिएको थियो। तर उद्घाटन भएको वर्षौँ बितिसक्दा पनि भेरी करिडोरले अझै पूर्णता पाउन सकेको छैन।

भेरी करिडोर कार्यालय जाजरकोटका अनुसार सुर्खेतको छिन्चुदेखि डोल्पाको मोरिम्लासम्म करिब ३ सय १७ किलोमिटर सडक पर्नेछ। यसमध्ये छिन्चुदेखि जाजरकोटसम्मको १ सय ७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

जाजरकोटको खलंगा बजारदेखि रिम्ना हुँदै रुकुम पश्चिमको चिसापानीसम्मको सडक पनि कालोपत्रे भइसकेको छ। खलंगादेखि रिम्नासम्म १६ किलोमिटर सडक यसअघि नै कालोपत्रे गरिएको थियो भने रिम्नादेखि चिसापानीसम्मको सडक केही महिनाअघि मात्रै कालोपत्रे सम्पन्न भएको हो। चिसापानीदेखि तल्नुबगरसम्मको करिब ३० किलोमिटर सडक अहिले कालोपत्रे गर्ने चरणमा रहेको छ।

२०७५ सालमै ट्रयाक खुलेको भए पनि अहिलेसम्म सडक स्तरोन्नतिको काम हुन सकेको छैन। सडक साँघुरो हुनुका साथै पहिरो, ढुंगामाटो खस्ने समस्या पनि बढ्दै गएको छ।

भेरी करिडोरको रणनीतिक महत्व निकै ठूलो मानिन्छ। सडक पूरा भएमा चीन, नेपाल र भारतबीच व्यापारिक आवतजावत सहज हुने अपेक्षा गरिएको मन्त्री चौलागाईंलई उदृत गर्दै उनका सल्लाहकार रोकायाले बताए।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर शाहीका अनुसार भेरी करिडोरले यातायात सुविधा मात्र होइन, आर्थिक, पर्यटन र कूटनीतिक सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ। सडक निर्माण पूरा भएमा डोल्पाका प्रसिद्ध पर्यटकीय स्थल फोक्सुण्डो ताल, जगदुल्ला ताल, सुलिगाड झरना, छार्का भोट बस्ती र त्रिपुरासुन्दरी मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।

सडक निर्माण सम्पन्न भएमा डोल्पामा उत्पादन हुने यार्सागुम्बा, जटामसी, स्याउ र ओखरजस्ता बहुमूल्य वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउने विश्वास गरिएको छ। साथै धो क्षेत्रमा भविष्यमा हिमाली सहर विकास गर्ने सरकारी योजनालाई पनि यो सडकले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार