सोमबार, १२ माघ, २०८२

एकातिर बेरोजगारी र मन्दी, अर्कोतिर घरधनीहरूले मनलाग्दी भाडा बढाउँदै !

धेरैले आफ्नो धितो गुमाए । एक करोड ऋण लिएर पाँच करोडको धितो गुमाउने पनि छन् यहाँ । त्यो सहन नसकेपछि कतिपयले प्राणसम्म त्यागेका छन् । आफ्नो वंश सिध्याएका छन् ।

विभिन्न संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल, घरलगायतमा काम गर्ने अधिकांश गुनासो गर्छन्, ‘काम त गरिरहेका छौँ, तलब नपाएको चाहिँ वर्षौँ हुन लाग्यो ।’ मासिक तीनदेखि बढीमा दस हजार रुपैयाँ तलबमा काम गरेका उनीहरूले त्यही तलब पनि नपाएको तीन महिनादेखि एक वर्ष बितिसक्यो ।

बिहानैदेखि बेलुकासम्म काम गर्नुपर्छ तर मन्दी भयो भन्दै साहुले तलब नदिएको उनीहरूको दुःखेसो छ । यस्तै, व्यापारी तथा व्यवसायीहरू पनि व्यापार नै नभएको गुनासो गर्छन् । व्यापार हुने आशामा बिहान ६ बजेदेखि राति १० बजेसम्म पसल खोले पनि एउटै ग्राहक नपाउने उनीहरूको भनाइ छ ।

व्यापार–व्यवसाय त ठप्प छँदैछ, सँगै आपतविपत पर्दा काम लाग्ने आशामा सहकारी, लघुवित्त, फाइनान्समा राखेको पैसा पनि डुबेको छ । त्यत्तिमात्र होइन, पछिल्लो समयमा त इसेवामा भएको पैसा पनि एकाएक गायब भइरहेको कतिपय व्यवसायी बताउँछन् । बैंकमा पनि राखेकोभन्दा थोरै रकम मात्र देखाउने उनीहरूको भनाइ छ ।

‘तीन महिनाअघि मेरो खातामा डेढ लाख रुपैयाँ थियो, केही दिनअघि पैसा झिक्न गएँ । दश हजार रुपैयाँ कम भएछ, कर्मचारीलाई सोध्दा “त्यति नै बचत गर्नुभएको थियो” भन्दै उल्टै ममाथि जाइलागे,’ बिजुलीबजारका एक व्यापारीले भने । त्यसो त बैंक पनि डुब्ने अवस्थामा पुगिसक्यो ।

किनकि सहकारीजस्तै बैंकको पनि लगानी तीन क्षेत्रमा हो । घरजग्गा, गाडी र सेयरमा सहकारीले आँखा चिम्लेर लगानी गरेका थिए । सुरुमा सहकारीले कमाएको देखेर बैंकले पनि यही क्षेत्रमा भएभरको कर्जा लगानी गर्यो । अहिले त सहकारी भाग्नुपर्यो, बैंक संकटमा परेको छ । घरजग्गा, गाडी र सेयर कारोबार विगत पाँच वर्षदेखि डामाडोल छ ।

पाँच वर्षअघि तीन करोड भनिने घरजग्गा अहिले लाखौँमा बेचबिखन नभइरहेको अवस्था छ । गाडी र सेयर पनि उस्तै छ । चार वर्षअघि एक करोड भनिने गाडी अहिले लाखौँमा बिक्री हुँदैन त ३२ सयको सेयर मूल्य घटेर २६ सयमा झरिसक्यो । तैपनि किन्ने कोही छैनन् । यी वस्तुको मूल्य अझै घट्ने विज्ञहरूको अनुमान छ ।

घरजग्गा, गाडी र सेयरको मूल्य दलाल, बिचौलिया, भूमाफियाहरूले कृत्रिम रूपमा बढाएका थिए । पाँच दशकअघि पाँच हजार रोपनीमा नबिक्ने जमिनलाई टुक्राटुक्रा पारेर दलालहरूले आनाकै २५ लाखदेखि करोडौँ पुर्‍याए । एक रोपनीमा १६ आना हुन्छ । गाडी नेपालमा बन्दैन । छिमेक भारत र चीनबाट आयात गरिन्छ । यहाँका अटो शोरुमहरूले छिमेकबाट एकदेखि बढीमा दस लाख रुपैयाँमा सवारीसाधन किनेर ल्याए । अनि सर्वसाधारणलाई चाहिँ एक लाखको माल २० लाखमा बेचे ।

सेयर बैंक, वित्तीय संस्था तथा जलविद्युत कम्पनीहरूले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेका हुन् । दलालहरूले एक सयको माललाई मूल्य बढाएर ३२ सय पुर्याए । सर्वसाधारणले नाफा हुन्छ भनेर किने । अहिले दलालहरू उम्किए, सोझासाझा जनता फसे । सँगै यही क्षेत्रमा लगानी गर्दा सहकारी, लघुवित्त, फाइनान्स डुब्यो, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ ।

सहकारी, लघुवित्त, फाइनान्स डुब्दा करोडौँ बचतकर्ता डुबेका छन् । एउटै बचतकर्ताको एकदेखि १२ करोड रुपैयाँसम्म सहकारीमा डुबेको छ । सहकारीबाट ६३ लाखले ऋण लिएका थिए । लघुवित्त, फाइनान्सबाट २७ लाख र बैंकबाट २२ लाखले कर्जा लिएको पाइन्छ । त्यसैगरी, व्यक्तिबाट मीटरब्याजमा ऋण लिने पनि लाखौँ छन् ।

यी सबै ऋणीले धितोको रूपमा घरजग्गा, गाडी, सेयर र सुन राखेका छन् । हिजो बैंक, वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष, कर्मचारीहरूले घुस खाएर कर्जा दिए । धितोको मूल्यांकनका आधारमा ८० प्रतिशतसम्म ऋण दिए । तीन करोडको धितो राखेर साढे दुई करोडसम्म ऋण दिएको पाइन्छ । ऋण दिएबापत सञ्चालक, अध्यक्षले लाखौँ रकम घुस खाए ।

त्यसैगरी, सेवाशुल्क तीन प्रतिशत, ब्याज १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । आम्दानी भएसम्म त ऋणीले साँवाब्याज तिरे । तर, सबै क्षेत्रमा आएको मन्दीले मानिसहरूको आम्दानी घट्यो । व्यापार–व्यवसाय त ऋण लिएकैले व्यवसाय नै नचलेपछि कसरी ऋण तिर्नु ? हो, त्यस्तै भयो । कमाइन्छ र तिरिन्छ भनेर ऋण लिए तर मन्दीले सबै चकनाचुर बनायो ।

अनि कर्जाको साँवाब्याज तिर्न नसकेपछि बैंक, वित्तीय संस्था होस् या व्यक्ति ऋणीमाथि जाइलागे । तीन किस्ता नतिर्नेबित्तिकै बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइहाल्ने, धितो लिलाम गरिहाल्ने । व्यक्तिले त झन् पहिल्यै ऋणीको धितो आफ्नै नाममा पास गरेका हुन् । अनि ऋण तिर्न दिइएको तीनदेखि ६ महिनाभित्र चुक्ता गर्नेबित्तिकै त्यो धितो आफ्नो बनाइहाल्ने ।

यसरी धेरैले आफ्नो धितो गुमाए । एक करोड ऋण लिएर पाँच करोडको धितो गुमाउने पनि छन् यहाँ । त्यो सहन नसकेपछि कतिपयले प्राणसम्म त्यागेका छन् । आफ्नो वंश सिध्याएका छन् । धितो लिलाम गरेपछि बैंक, वित्तीय संस्था होस् या व्यक्तिले सोचाइ “के थियो” भन्दा दोब्बर मूल्यमा बेच्छौँ ।

तर, यिनीहरूको सपना पनि चकनाचुर बनेको छ । किनकि अहिले बैंक, वित्तीय संस्थासँग धितो त थुपारिएको छ, तर किन्ने चाहिँ कोही छैन । नाफा खान त परको कुरा हो । पहिलेको मूल्यभन्दा आधामा दिँदासमेत नबिकेको अवस्था छ । एकातिर ऋण उठ्दैन, अर्कोतिर धितो बिक्दैन । यसले बैंक तनावमा परेको छ ।

पैसा हुनेहरूले पाँचदेखि ६७ वटासम्म घर बनाएको पाइन्छ, त्यो पनि दुईदेखि १९ तलेसम्म । त्यसरी खडा गरिएको घर सबै भाडामा लगाइएको छ । एउटा कोठाको ठाउँअनुसार पाँच हजारदेखि २० हजार, एक फ्ल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि २० लाखसम्म मासिक रूपमा भाडा असुलिन्छ । खाली सटर त २० देखि ६० लाखमा किनबेच गरिन्छ ।

घरधनीहरू बत्ती, पानी, फोहोर, इन्टरनेटको मनलाग्दी पैसा उठाउँछन् भने घरको कम्पाउन्डभित्र सवारीसाधन पार्किङ गरेको वा राखेको पनि महिनाको दुईदेखि पाँच हजारसम्म असुल्छन् । अहिले बजारमा व्यापक गुनासो सुनिन्छ कि यस्तो मन्दी र बेरोजगारीका बेलासमेत घरधनीहरूले भाडा बढाए ।

कोठाको दुईदेखि पाँच हजार र सटरको पाँचदेखि २० हजारसम्म भाडा बढाएको बताइन्छ । यसले सर्वसाधारण जनतादेखि व्यापारीसम्म तनावमा परेका छन् । एकातिर रोजगारी र व्यापार–व्यवसाय भएको छैन, अर्कोतिर भाडा ह्वात्तै बढेको छ । त्यसैले, धेरैले गाउँ फर्किने वा रोजगारीका लागि विदेश जाने सोच बनाएका छन् ।

सबै क्षेत्रमा गरिएको लगानी डुबेको छ । हरेक क्षेत्रमा मन्दी छ । व्यापक बेरोजगारी छ । अनि घरधनीहरू चाहिँ राज्यलाई घरबहाल कर नतिर्ने, आफूले असुल्ने भाडा चाहिँ बढाउने । सरकारले अब घरभाडा निर्धारण गरोस् । यसले जनता र व्यापारीलाई मात्र राहत नमिली राज्यको ढुकुटीमा समेत राजस्वको ओइरो लाग्नेछ ।

रुषा थापा
भक्तपुर

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार