कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको लगाव र मेहनतले यो संस्थालाई देशभर चिनाएको छ। यो वर्ष एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन भएका तीन जना विद्यार्थीले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको जनस्वास्थ्य अधिकृत पदमा नाम निकाल्न सफल भएका छन्।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयले छोटो समयमै नेपालको स्वास्थ्य क्षेत्रमा आफ्नो अमिट छाप छोड्न सफल भएको छ। कर्णालीको विकट भूगोलमा अवस्थित यो शैक्षिक संस्थाले दक्ष जनस्वास्थ्य उत्पादन गरी स्थानीय तहमा प्रभावकारी स्वास्थ्य सेवा पुर्याउने सपनालाई साकार बनाउँदैछ।
यहाँका विद्यार्थीहरूको लगाव, शिक्षकहरूको अथक मेहनत र प्रतिष्ठानको दूरदर्शी नेतृत्वले यो सफलताको कथा लेखिएको छ। विभिन्न समयमा हासिल भइरहेका तमाम उपलब्धिहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयको उत्कृष्ट यात्रा, चुनौतीहरू र उपलब्धिहरूलाई उजागर गर्छ।
नेपालको स्वास्थ्य सेवा प्रणालीमा स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमा जनस्वास्थ्य अधिकृतको दरबन्दी भए पनि गाउँपालिकाहरूमा यस्तो व्यवस्था छैन।
यस्तो अवस्थामा स्थानीय तहमा दक्ष र सिपालु जनशक्तिको अभावले स्वास्थ्य सेवा प्रभावकारी हुन सकिरहेको छैन। यही कमी पूरा गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य महाविद्यालयले महत्त्वपूर्ण भूमिका खेलिरहेको जनस्वास्थ्य महाविद्यालयका सहायक डिन प्रा. डा. शेसानन्द सञ्जेलले बताए।
“यो महाविद्यालयले खासगरी स्वास्थ्य शिक्षा प्रदान गर्ने, अनुसन्धान गर्ने र समुदायमा गएर स्वास्थ्य समस्याहरूको पहिचान तथा समाधान गर्ने लगायत काम गरिरहेको छ,” उनले भने, “यी कार्यहरूले कर्णालीको विकट गाउँबस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्याएको छ। प्रतिष्ठानले स्नातक तहमा बीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र स्नातकोत्तर तहमा एमपीएच (मास्टर इन पब्लिक हेल्थ) कार्यक्रम सञ्चालन गरिरहेको छ।”
उनका अनुसार बीपीएचमा हाल सात ब्याच र एमपीएचमा पाँच जना विद्यार्थी अध्ययनरत छन्। अहिलेसम्म दुई ब्याचका विद्यार्थीहरू पासआउट भइसकेका छन्, जसले काउन्सिल परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेका छन्। यो नतिजा प्रतिष्ठानको शैक्षिक गुणस्तरको बलियो प्रमाण हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूको लगाव र मेहनतले यो संस्थालाई देशभर चिनाएको छ। यो वर्ष एकै पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन भएका तीन जना विद्यार्थीले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको जनस्वास्थ्य अधिकृत पदमा नाम निकाल्न सफल भएका छन्।
लोकसेवा आयोगको अत्यन्तै प्रतिस्पर्धात्मक परीक्षामा विद्यार्थीहरूको सफलताले कर्णालीको शैक्षिक गुणस्तर र पठनपाठनको प्रभावकारिता उजागर गरेको सह-प्राध्यापक निशान्त लामाले बताए।
उनका अनुसार निरन्जन बहादुर चन्द (शैल्यशिखर नगरपालिका-३, दार्चुला), सुशील शाही (भैरवी गाउँपालिका-४, दैलेख) र किरणकुमार शर्मा (सिंजा गाउँपालिका, जुम्ला) विद्यार्थीले हालै सातौँ तहको जनस्वास्थ्य अधिकृतमा नाम निकाल्न सफल भएका छन्।
जनस्वास्थ्य अधिकृतमा नाम निकालेका निरन्जन भन्छन्, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हामीलाई किताबी ज्ञान मात्र होइन, समुदायमा गएर काम गर्ने आत्मविश्वास पनि दियो। हामीले गाउँगाउँमा गएर स्वास्थ्य समस्याहरूको पहिचान र समाधान गर्ने अवसर पायौँ, जसले हाम्रो व्यावहारिक ज्ञानलाई बलियो बनायो।”
त्यस्तै सुशील शाही थप्छन्, “विकटमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयले अहिलेसम्म एकदमै राम्रो शिक्षा दिँदै आएको छ, विशेषगरी जनस्वास्थ्यका विषयमा नेपालकै उत्कृष्ट प्राक्टिकल शिक्षा दिएको छ। यहाँको शिक्षाले हामीलाई समुदायमा आधारित स्वास्थ्य समस्याहरूको समाधानमा सक्षम बनायो।”
किरणकुमार शर्मा भन्छन्, “हामीले कक्षा कोठामा सिकेका कुरालाई गाउँबस्तीमा लागू गर्ने अवसर पायौँ। यहाँको शिक्षाले हामीलाई नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गरायो, जसले लोकसेवा आयोगको तयारीमा ठूलो सहयोग पुर्यायो।”
विद्यार्थीहरूले कक्षा कोठामा सिकेका कुरालाई समुदायमा लागू गर्ने अवसर पाउँछन्। उनीहरूले गाउँबस्तीमा गएर स्वास्थ्य शिक्षा, सरसफाइ, पोषण र रोग निवारणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्छन्।
यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास भएको छ। “हामीले सिकेको ज्ञानले गाउँका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्यौँ। यो अनुभवले मलाई जनस्वास्थ्य क्षेत्रमा करिअर बनाउने प्रेरणा दियो,” लोकसेवा उत्तीर्ण भएका निरन्जनले भने।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलताको पछाडि यहाँका दक्ष प्राध्यापकहरूको अथक मेहनत र समर्पण रहेको रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. डबल बहादुर धामीले बताए। “शिक्षकहरूले विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राख्नु भएको छैन,” उनले भने, “प्राध्यापकहरूले किताबी ज्ञानसँगै व्यावहारिक अभ्यासमा जोड दिनु भएको छ। जसले विद्यार्थीहरूलाई स्वास्थ्य क्षेत्रका चुनौतीहरू सामना गर्न तयार बनाउँछ।”
उनका अनुसार प्रतिष्ठानको लक्ष्य किताबी ज्ञान बाँड्ने मात्र होइन, समुदायमा गएर काम गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने हो। प्रतिष्ठानले विद्यार्थीहरूलाई स्वास्थ्य व्यवस्थापन, नीति निर्माण र अनुसन्धानमा पनि सक्षम बनाउन खोजेको छ।
उनले शिक्षकहरूले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गरेको। कक्षा कोठामा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समुदायमा लागू गर्न उनीहरूले नियमित रूपमा फिल्ड भिजिट र अनुसन्धान परियोजनाहरू सञ्चालन गरेका कारण यी उपलब्धि हासिल भएको बताए।
यस्ता गतिविधिले विद्यार्थीहरूमा आत्मविश्वास र व्यावसायिकता विकास भएको छ। “हाम्रा शिक्षकहरूले हामीलाई हरेक कदममा साथ दिनुभयो। उहाँहरूको प्रेरणाले नै हामीले लोकसेवामा सफलता हासिल गर्न सक्यौँ,” जनस्वास्थ्य अधिकृतमा छनोट भएका सुशीलले थपे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनस्वास्थ्य क्षेत्रमा गरेको योगदान उल्लेखनीय छ। यो संस्थाले कर्णालीको विकट भूगोलमा रहेर पनि उच्चस्तरीय शिक्षा र अनुसन्धानको वातावरण सिर्जना गरेको जनस्वास्थ्य महाविद्यालयका उपप्राध्यापक ओम प्रकाश काफ्लेले बताए।
“प्रतिष्ठानले उत्पादन गरेका जनस्वास्थ्य अधिकृतहरूले स्थानीय तहमा स्वास्थ्य सेवाको नेतृत्व गरिरहेका छन्,” उनले भने, “यी अधिकृतहरूले स्वास्थ्य व्यवस्थापन, रोग निवारण र स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्।”
प्रतिष्ठानले समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गरेर गाउँबस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेको छ। यस्ता कार्यक्रमहरूले स्थानीय समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
उदाहरणका लागि, प्रतिष्ठानका विद्यार्थीहरूले जुम्ला र आसपासका गाउँहरूमा सरसफाइ, पोषण र मातृशिशु स्वास्थ्यसम्बन्धी अभियानहरू सञ्चालन गरेका छन्। यी अभियानले स्थानीय बासिन्दाहरूमा स्वास्थ्यप्रति सचेतना बढाएको छ।
प्रतिष्ठानको अनुसन्धान कार्यले पनि स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याएको निमित्त उपकुलपति डा. धामीको भनाइ छ। उनका अनुसार यहाँका प्राध्यापक र विद्यार्थीहरूले कर्णालीका स्वास्थ्य समस्याहरूमा आधारित अनुसन्धानहरू गरेका छन्, जसले स्थानीय तहमा नीति निर्माणका लागि महत्त्वपूर्ण तथ्यांक र सुझावहरू प्रदान गरेको छ।
“हाम्रो अनुसन्धानले कर्णालीका स्वास्थ्य समस्याहरूलाई विश्वसामु ल्याउन सहयोग गरेको छ। यो हाम्रो गर्वको विषय हो,” उनले थपे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले धेरै कुरा हासिल गरे पनि चुनौतीहरू भने कायम छन्। सीमित स्रोत, प्राध्यापकहरूको अभाव र भौगोलिक कठिनाइहरूले संस्थालाई प्रभावित गरेका छन्। यी चुनौतीहरूका बाबजुद प्रतिष्ठानले आफ्नो लक्ष्यमा अडिग रहन सकेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।
उनका अनुसार भविष्यमा प्रतिष्ठानले थप शैक्षिक कार्यक्रमहरू विस्तार गर्ने र अनुसन्धानलाई अझ सशक्त बनाउने योजना बनाएको छ। साथै, स्थानीय तहसँग सहकार्य गरेर स्वास्थ्य सेवाको पहुँचलाई गाउँपालिकाहरूमा समेत विस्तार गर्ने लक्ष्य छ।
“हाम्रो सपना कर्णालीका हरेक गाउँमा दक्ष जनस्वास्थ्य अधिकृत पुर्याउनु हो। हामी यो लक्ष्य पूरा गर्न प्रतिबद्ध छौँ,” उनले भने।
जबसम्म कर्णालीका यी दीपहरू (विद्यार्थी, शिक्षक र प्रतिष्ठान) जलिरहन्छन्, तबसम्म जनस्वास्थ्यको क्षेत्रमा उज्यालो छाउने निश्चित छ। यो कथा केवल एक सुरुवात हो; कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यात्रा अझै धेरै टाढा पुग्न बाँकी छ।















