गाउँघरका दृश्य, प्रकृतिप्रेम र देशभक्तिपूर्ण रचनाहरू सामाजिक सञ्जालमा साझा गर्ने उनको योगदानलाई पत्रपत्रिका र अनलाइन मिडियाले विशेष स्थान दिएका छन्।
रोल्पाको खुंग्रीमा २०२१ सालमा जन्मिएका अमर अधिकारी नेपाली साहित्यमा आफ्नो फरक पहिचान बनाउँदै आएका छन्। उनको पुस्तक ‘ओगिल्जा’ले पहिलो परिचय दिलायो भने हालै ‘पाँच रुपियाँको झोला’ले उनलाई नयाँ उचाइमा पुर्याएको छ।
अधिकारीको पहिचान चार कुराले बनेको छ: ‘ओगिल्जा’, ‘रातो ज्वारीकोट’, ‘राष्ट्रिय पोशाकको फोटो’ र ‘पाँच रुपियाँको झोला’। हरियो, रातो वा निलो पाँच रुपियाँको झोलामा छाता, पानीको बोतल, डायरी र आफ्ना पुस्तक बोकेर हिँड्ने उनको यो शैली सबैको ध्यान खिच्छ।
दौरा-सुरुवाल नलगाए पनि दौरा र कोटमा खिचिएको उनको तस्वीर हरेक लेखमा देखिन्छ, जुन उनको चिनारी बनेको छ।
सामाजिक सञ्जालमा ज्ञान र चेतनामूलक लेखहरू लेखेर चर्चित बनेका अधिकारीलाई ‘सुपर राइटर’ को उपाधि प्राप्त छ। हालै उनले ‘प्रेमकुमारी साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ पाएका छन्।
उनी गीतकार यादव खरेल, साहित्यकार अभि सुवेदी, प्राज्ञ गोपिन्द्र पौडेल, संगीतकार शम्भुजित बाँसकोटा, गायिका चन्द्रकला शाह र लेखक कञ्चन पुडासैनीजस्ता सर्जकहरूसँग साहित्यिक मञ्चमा देखिन्छन्। एक कार्यक्रममा प्रा.डा. अभि सुवेदीले उनको पाखुरा समात्दै भने, “ल हेर्नुस्, साहित्यिक हीरो!”
अधिकारीको लेखन छोटो, चोटिलो र व्यङ्ग्यात्मक छ। सामाजिक विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध उनका व्यङ्ग्य रचनाहरू लक्षित हुन्छन्। कार्यक्रममा एक मुक्तक मात्र वाचन गर्ने उनको शैली दर्शकमाझ लोकप्रिय छ।
नेपाली साहित्यका औपचारिक विद्यार्थी नभएका अधिकारी वाणिज्यशास्त्रका विद्यार्थी हुन्। नेपालका सबैभन्दा कम पेन्सन बुझ्ने पूर्वअधिकृत उनी हाल दुई मोबाइल र दुई ल्यापटपमार्फत लेखनमा सक्रिय छन्।
गाउँघरका दृश्य, प्रकृतिप्रेम र देशभक्तिपूर्ण रचनाहरू सामाजिक सञ्जालमा साझा गर्ने उनको योगदानलाई पत्रपत्रिका र अनलाइन मिडियाले विशेष स्थान दिएका छन्।
चारभन्दा बढी कीर्तिमान कायम गरेका अमर अधिकारी नेपाली साहित्यमा सरलता र मौलिकताका साथ स्थापित हुँदैछन्।















