ओली पटक–पटक प्रधानमन्त्री भएको व्यक्ति हुन्। उनी गुण्डाको बीचमा हिँडेर देशमा गुण्डागर्दी शैलीलाई प्रोत्साहन गरेका छन्। यता, दाहाल वाइसिएलको सुरक्षामा हिँडिरहेका छन्। यिनीहरूले सही काम गरेका भए, गुण्डाहरूको बीचमा हिँड्नुपर्थ्यो र? गलत भएपछि डराउनु परिहाल्यो।
राजनीतिक पार्टी र अभियानहरूले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन्। नेकपा एमालेले मंसिर ५ र ६ गते आन्दोलन गर्ने बताएको छ। त्यस्तै, दुर्गा प्रसाईंले मंसिर ७ गते मेचीदेखि महाकालीसम्म ठप्प पार्ने घोषणा गरेका छन्। आन्दोलनले एमाले र प्रसाईंलाई फाइदा होला। तर, मजदुरी गरेर खानेलाई कति असर पर्ला? पार्टीहरूले सधैं आफ्नो फाइदाका लागि आन्दोलन गर्छन्, सर्वसाधारणले दुःख–कष्ट पाउँछन्।
एकपछि अर्को आन्दोलनका कारण सर्वसाधारणदेखि व्यापारीसम्म वाक्कदिक्क भइसकेका छन्। एकातिर काम नपाइरहँदा र व्यापार ठप्प हुँदा यस्ता आन्दोलनले सर्वसाधारण र व्यापारीलाई झनै पीडित बनाएको छ। गत चैत १५ गते प्रसाईंको नेतृत्वमा भएको आन्दोलनले वितण्डा मच्चायो। व्यक्तिको सम्पत्तिमा त्यत्रो क्षति भयो। काठमाडौंमा कर्फ्यु जारी गर्नुपर्यो। त्यतिबेला पनि गरेर खानेहरू मर्कामा परे।
भदौ २३ र २४ गते फेरि जेनजीको आन्दोलन भयो। सो आन्दोलनमा देश नै खरानी बन्यो। आन्दोलनकारीहरूले निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे। त्यस्तै, सरकारी सम्पत्ति ध्वस्त पारियो। हाल निजी संस्थाहरूले धमाधम कर्मचारी निकालिरहेका छन्। मुलुककै प्रतिष्ठित हायात होटलले समेत आफ्ना सबै कर्मचारीलाई कामबाट निकालेको छ। त्यहाँका मात्र सयौँ संख्यामा कर्मचारी बेरोजगार भएका छन्। अन्य संस्थाले पनि कर्मचारी निकालिरहेका छन्। जेनजीको नेता बन्यो एउटा, तर दुःख त गरिखाने वर्गले पाए। तिनीहरूलाई अब कसले रोजगारी दिने?
यो त एउटा उदाहरण मात्र हो। हरेकपटक आन्दोलन हुँदा सास्ती पाउने जनताले नै हुन्। देश र जनताको नाम लिएर देशलाई खरानी बनाइन्छ। जनतालाई अनाहकमा दुःख दिइन्छ। लगातारको आन्दोलनका कारण व्यापारीहरू समेत व्यापार छोड्न चाहिरहेका छन्। सधैंको बन्द–हड्ताल, आन्दोलन, प्रदर्शनले पसल नै खोल्न डरमर्दो भएपछि उनीहरू विदेश पलायन हुने सोचमा पुगिसकेका छन्।
नेपालको अर्थतन्त्र पछिल्लो पाँच वर्षदेखि डामाडोल अवस्थामा छ। व्यापारमा त सुख्खा राम नै लागेको छ। दशैं, तिहार, छठमा समेत व्यापार नभएको व्यापारीहरूको गुनासो छ। यस्तोमा आन्दोलन हुँदा व्यापारी त चुलुम्मै डुब्छन्। आम्दानी नहुँदा व्यापारीहरूले धमाधम सटर छोडेका छन्। हाल काठमाडौं उपत्यकाका अधिकांश सटर खाली भइसकेका छन्। अबको आन्दोलनपछि सो संख्या झन् थप हुने देखिएको छ।
सुशीला कार्की नेतृत्वको सरकार बन्नुअघि एमाले नै सरकारमा थियो। केपी शर्मा ओली नै प्रधानमन्त्री थिए। तर, एमालेले अर्थतन्त्रको सुधारमा चासो देखाएन। अहिले त्यहीँ एमाले अर्थतन्त्र सिध्याउन लागिपरेको छ। प्रसाईँ पनि त्यहीँ नै हो। आफ्नो स्वार्थका लागि प्रसाईंले आन्दोलन गर्दै आएकोमा कुनै शंका छैन। सबै जना आ–आफ्नो फाइदाका लागि आन्दोलन गर्ने, अनि जनताचाहिँ कहाँ जाने?
व्यापारीहरूले महिनौँदेखि सटर भाडा तिर्न सकेका छैनन्। बैंकको ऋण चोखै छ। जनतालाई तनावै–तनाव छ। तर, नेताहरूलाई कुनै वास्ता छैन। उनीहरू जसरी भए पनि शक्ति प्रदर्शन गर्नमै केन्द्रित छन्। अहिले कसैसँग पैसा छैन, जसका कारण घर–जग्गा कारोबार ठप्पजस्तै बनेको छ। उता, सेयरको मूल्य पनि घटिरहेको छ।
अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि जसरी–पनि सेयर र घर–जग्गाको कारोबार बढाउनुपर्ने बताए। राजस्व नउठेपछि उनले त्यो कुरा बोलेका हुन्। तर, उनले बुझ्नुपर्ने कुरा के भने, जनतासँग यतिबेला बिहान–बेलुका छाक टार्ने पैसा छैन। बेरोजगारी छ; कसरी बिहान–बेलुका पेट पाल्ने भन्नेमा जनता चिन्तित छन्। यस्तोमा ऐन संशोधनको के फाइदा? ऐनले घरजग्गा र सेयर किन्ने हो र?
के कारणले बजार डामाडोल स्थितिमा पुग्यो? सरकारले यसमाथि अध्ययन गरेर त्यही अनुसार कदम चाल्न आवश्यक छ। देशले यत्रो क्षति खेपिरहँदा सरकारले आन्दोलन गर्न रोक लगाउनुपर्छ। नत्र अहिले जति नेपालमै केही गरौँ भनेर बसेका छन्, तिनीहरू पनि विदेश पलायन हुन्छन्। व्यापार–व्यवसाय सबै बन्द हुन्छ। त्यहाँबाट उठ्ने राजस्व ठप्प हुन्छ। देशमा बेरोजगारी ह्वात्तै बढ्छ। भोकमारी लाग्छ। अर्थतन्त्र संकटमा पर्छ। एमाले र प्रसाईंले चाहेको यहीँ हो। तर, सरकार सचेत होस्।
एमाले देश बनाउन होइन, सिध्याउन आएको पार्टी हो। एमालेबाट देशलाई कहिल्यै राम्रो भएन। केपी शर्मा ओली अहिले संसद् विघटनको विरोधमा आवाज उठाउँदै हिँडेका छन्। तर, आफैंले संसद् विघटन गरेको विषयमा उनी चुइक्क बोल्दैनन्। ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरे। त्योचाहिँ उनलाई गलत लागेन। आफूले गरे जे पनि ठीक भन्ने खालको पार्टी हो एमाले।
यता, प्रसाईंले २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने भन्दै बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई उचालिरहेका छन्। बैंकमा भएको पैसा प्रसाईंको हो र? प्रसाईं आफैंले बैंकको अर्बौँ रुपैयाँ ऋण तिरेका छैनन्। अनि उनी अरूलाई नतिर भनी उचाल्दै हिँडिरहेका छन्। उसैपनि बैंक संकटमा छ। बैंकको लगानी जोखिममा परेको छ। बैंकले उठाउनु करोडमा छ, धितो बेच्दा केही लाख आउँछ। बैंक आफैं अप्ठेरो अवस्थाबाट गुज्रिरहँदा उनी साँवा नै मिनाहा गर भन्छन्।
साँवा मिनाहा गर्यो भने बैंक टाट पल्टिन्छ कि पल्दैन? बैंक टाट पल्टिनु भनेको करोडौँ बचतकर्ता डुब्नु हो। प्रसाईंको नियत बैंक र बचतकर्ता डुबाउने र आफू उक्सिने हो। उनले आफ्नो स्वार्थका लागि आन्दोलन गर्दैछन्। सबैले यो कुरा बुझ्न आवश्यक छ।
चुनाव आउन अब तीन महिना मात्र बाँकी छ। एमाले र प्रसाईं चुनाव हुन नदिन देशमा अशान्ति फैलाउन खोजिरहेका छन्। एमालेलाई चुनावमा जाँदा नराम्ररी हार्ने डर छ। एमालेले हिजो सरकारमा बस्दा सिन्को भाँचेन। एनजिओ, सहकारी, निजी विद्यालय, कलेज, अस्पताललगायत सबै एमालेकै प्रभावमा थियो। एमालेले नै नेपालमा लुटतन्त्र मच्चाइरहेको थियो। जसका कारण एमाले पछिल्लो समय जनताको नजरमा नाङ्गिदै गएको थियो।
एमालेको दाउ अहिले पनि संसद् ब्यूँताएर सरकारमा जान पाइन्छ कि भन्ने नै हो। एमाले यस्तो पार्टी हो कि, सरकारमा जान र देश लुट्न पाएन भने ‘पानी बिनाको माछा’ जस्तै भइहाल्छ। २०७९ सालमा भएको निर्वाचनमा काँग्रेस ८९ सिटसहित पहिलो पार्टी बनेको थियो। पुष्पकमल दाहाल र ओलीले जालझेल गरेर काँग्रेसलाई प्रधानमन्त्री खान दिएनन्। जेनजी आन्दोलनमा शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट भयो। काँग्रेसले पहिलो पार्टी भएर प्रधानमन्त्री नपाउँदा र सभापतिले कुटाइ खाँदासमेत चुनावमा जाने घोषणा गरेको छ। हार–जित दुवैलाई स्वीकार्दै काँग्रेस चुनावमा जाँदा एमाले भने सडकमा रमिता देखाउन र देश डामाडोल बनाउनमै केन्द्रित छ।
ओली पटक–पटक प्रधानमन्त्री भएको व्यक्ति हुन्। उनी गुण्डाको बीचमा हिँडेर देशमा गुण्डागर्दी शैलीलाई प्रोत्साहन गरेका छन्। यता, दाहाल वाइसिएलको सुरक्षामा हिँडिरहेका छन्। यिनीहरूले सही काम गरेका भए, गुण्डाहरूको बीचमा हिँड्नुपर्थ्यो र? गलत भएपछि डराउनु परिहाल्यो।
आन्दोलन गरेर देश तहसनहस बनाउने र जनतालाई दुःख दिने व्यक्तिलाई सरकारले तत्काल समात्नुपर्छ। चाहे त्यो केपी शर्मा ओली नै किन नहोस्?















