भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनमा साथ दिदै समाजसेवी डा.दिनेश शाहीद्वारा सिंहदरबार पुनर्निर्माण अभियानको निम्ति रु.पाँच लाख सहयोग गरेका छन् ।
जेन-जी आन्दोलनले देशभर जागरण ल्याइरहेको बेला सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माणका लागि सुरु गरिएको छ । हाम्रो सिंहदरबार, हामी बनाउँछौं” भन्ने अभियानसहित सहयोग अपेक्षा समेत गरिएको छ।
भ्रष्टाचार विरोधी सञ्जाल (ACN) द्वारा सञ्चालनमा आएको यो राष्ट्रिय अभियानलाई सम्मानजनक योगदान गर्दै स्पेस 4K टेलिभिजनका अध्यक्ष तथा एमआर होल्डिंग्स कम्पनी, टोकियोका संस्थापक डा. दिनेश शाही ले नेरु ५,००,००० (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग गरेका हुन्।
डा. शाहीले सहयोग हस्तान्तरण गर्दै भने ,”जेन-जी को जागरणले देखाएको परिवर्तनको चाहना नेपाललाई सुशासन र समृद्धितर्फ अघि बढाउने ऊर्जा हो। यो अभियानले राष्ट्रिय सम्पत्तिप्रतिको जिम्मेवारी र एकताको सन्देश फैलाएको छ, त्यसैले म यसलाई समर्थन गर्दछु।”
एसीएनका पदाधिकारीहरूले डा. शाहीको योगदानप्रति आभार व्यक्त गर्दै भनेका छन्, “उहाँजस्तो सफल र अन्तर्राष्ट्रिय स्तरका उद्यमी तथा मिडिया व्यवसायीको योगदानले आम नेपालीहरूमा अझै सहयोगको भावना जागृत गर्नेछ।”
अभियान अन्तर्गत नबिल बैंकमा खाता नम्बर ०३१०१०१७५०२४२१ मार्फत वा एसीएनको आधिकारिक वेबसाइट www.acn-nepal.com
मार्फत सहयोग गर्न सकिन्छ। संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा वेबसाइटमा प्रकाशित गरिने एसीएन ले जनाएको छ।
यो पहलले जेन-जी आन्दोलनको भावना जोगाउँदै भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपालको निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।















