दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कारमा परेकी छन्। गाउँका दुई युवकले बालिकालाई लखेटी लखेटी पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्।
प्रहरी अनुसन्धान अनुसार, सो दिन राति बालिका साथीहरूसँग नाच हेरेर फर्किँदै थिइन्। उनीहरूलाई पछ्याउँदै आएका आरोपीहरूले किशोरीहरू भाग्दा पनि लखेटेर एक बालिकालाई एकान्तमा लगेर बलात्कार गरेका छन्।
बलात्कारका क्रममा आरोपीहरूले बालिकालाई ढुंगाले प्रहार गरेका थिए जसले गर्दा उनको हातमा चोट लागेको छ।
पीडित बालिकाका साथीहरूले भागेर घर पुगे र घटनाको जानकारी दिएका थिए। अभिभावक घटनास्थल पुगेपछि आरोपीहरू बालिकालाई बेहोस अवस्थामा छाडेर फरार भएका थिए।
बालिकालाई घटनाको दिनै अस्पताल पुर्याइएको थियो। चिकित्सकले उनको दाहिने हातमा चोट र गुप्ताङ्गमा घाउ रहेको बताएको छन्।
पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका छन्। जाहेरीको आधारमा आरोपीहरू पक्राउ परेका छन्।