बुधबार, २० फाल्गुन, २०८२

आत्मसमीक्षा र सुधारको खाँचो

आज गाउँगाउँमा जनताको मूल चासो पार्टीभन्दा गुटमा केन्द्रित भएको छ। “कुन पार्टीको?” होइन, “कुन गुटको?” भनेर सोधिन्छ। जनसमर्थन गुमाउने यति ठूलो खतरा हुँदाहुँदै पनि नेतृत्व मौन छ।

राजनीति विचार, संगठन र जनसरोकारको अभ्यास हो। तर जब राजनीति गुट, चाकरी र अवसरवादको थलोमा रूपान्तरण हुन्छ, तब त्यो पार्टीभित्र पतनको सङ्केत हो। नेकपा एमाले नेपाली राजनीतिक इतिहासको एउटा सबल विचारधारात्मक पार्टी आज आफ्नै कर्मभूमिमा, आफ्नै जिल्लामा आत्मसमीक्षा र सुधारको गम्भीर खाँचोको घेरामा छ।

हामी एमालेको गौरवशाली इतिहास सम्झन्छौं। त्यो पार्टी जसले सिद्धान्तका लागि सहनशील संघर्ष गर्‍यो, विचारका लागि बलिदान दियो र संगठन निर्माणका लागि जनताको ढोका ढोका पुगेको थियो। तर, अहिले जुम्ला जिल्लामा त्यो गौरव क्रमशः प्रश्नचिन्हमा परिणत हुँदै गएको देखिन्छ। विचारभन्दा गुट, निष्ठाभन्दा नातावाद र संगठनभन्दा व्यक्तिगत स्वार्थ हाबी हुन थालेको अवस्था छ।

जिल्ला कमिटीभित्र चलिरहेका गुटगत खिचातानी, अस्वस्थ प्रतिस्पर्धा र चाकरीप्रथाले न केवल संगठन कमजोर बनाएको छ, बरु जनस्तरमा पार्टीप्रतिको विश्वासलाई पनि खिया लाग्न थालेको छ। सबैले देखे पनि बोल्न सक्दैनन्। किनभने बोल्नेहरूलाई ‘बाहिरिया’ भनेर दुर्गम बनाइन्छ। यस्तो भयको वातावरणले लोकतान्त्रिक पार्टीभित्र तानाशाही संस्कार विकास गर्छ र त्यो संगठनको मृत्युको पूर्वसंकेत हो।

राजनीतिक नियुक्ति अब संगठनमा योगदान दिनेका लागि पुरस्कार होइन, नेताको नजिक हुनेले पाउने सौगात जस्तो देखिन थालेको छ। कार्यकर्ताको भोगाइ यही छ। वर्षौँदेखि माटोमा पसिना बगाउने भन्दा पनि चाकरी गर्ने, सेल्फी खिच्ने र टेबलको वरिपरि बस्नेले अवसर पाउँछ। यस्तो प्रवृत्तिले संगठनभित्र नैराश्यता मात्रै होइन, असन्तोषको चर्को लहर पनि पैदा गरेको छ।

जनवर्गीय संगठनहरू पनि पदको होडमा छन्। युवाहरू संगठनका उद्देश्यभन्दा पदमा बढी केन्द्रित छन्। पद पाउने, फोटो खिचाउने र फेसबुकमा देखाउने राजनीति हावी हुँदैछ। यो प्रवृत्ति रोकिएन भने संगठनहरू कागजी मात्र हुनेछन्। कार्यकर्ता बिना संगठन चले पनि संगठन बिना पार्टी चल्दैन भन्ने कुरा बिर्सिनु हुन्न।

२०७९ को निर्वाचनपछि जितेर आएका जनप्रतिनिधिहरूबाट जनताले मार्गदर्शनको अपेक्षा गरेका थिए। तर उनीहरू चुनाव जितेपछि ‘जनताको घर’ होइन, ‘गुटको गोप्य बैठक’मा सीमित छन्। पार्टीका कार्यकर्ताहरूलाई संरक्षण गर्नुको सट्टा आफू नजिककोलाई मात्र प्राथमिकता दिने प्रवृत्तिले सिंगो संगठनभित्र असन्तुलन सिर्जना गरेको छ।

आज गाउँगाउँमा जनताको मूल चासो पार्टीभन्दा गुटमा केन्द्रित भएको छ। “कुन पार्टीको?” होइन, “कुन गुटको?” भनेर सोधिन्छ। जनसमर्थन गुमाउने यति ठूलो खतरा हुँदाहुँदै पनि नेतृत्व मौन छ। जुम्लामा नेतृत्व तह नै अदृश्य भएपछि संगठन कता जाला भन्ने चिन्ता स्वाभाविक हो।

अब पनि हामी चेतिएनौं भने, इतिहासले माफ गर्नेछैन। सच्चा कम्युनिस्ट बन्न, केवल नारामा होइन, व्यवहारमा पनि विचार र निष्ठा देखाउनु पर्छ। गुट होइन, सिद्धान्तको आधारमा नेतृत्व बन्नुपर्छ। सिफारिस र भागबण्डाले होइन, योगदान र इमानदारीले संगठन चल्नुपर्छ।

पार्टी जोगिएला, तर चुनाव जितिँदैन। पद बाँडिएला, तर जनताको विश्वास गुम्छ। त्यसैले आत्मसमीक्षा अब विलम्बको विषय होइन। यो अविलम्बको आवश्यकता हो।

(लेखक राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी, जुम्लाका उपाध्यक्ष हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल