यशोदाको व्यापारप्रतिको रुचि र सकारात्मक सोचले हरिशरणको यात्रालाई थप रङ्गिन बनायो। यो जोडीले सँगै सपना देख्न थाले र ती सपनालाई साकार गर्ने हिम्मत पनि जुटाए।
जुम्लाको तातोपानी गाउँपालिका–४ को सानो गाउँ हाँकुका २६ वर्षीया हरिशरण न्यौपानेको जीवन एक यस्तो क्यानभास हो, जहाँ संघर्षका गाढा रङहरूले सपनाको सुन्दर चित्र कोरेका छन्।
यो व्यापारिक सफलताको कथा मात्र होइन, यो त साहस, दृढता र परिवारको साथले सजिएको एक भावपूर्ण गाथा हो। अझ भन्दा यो त हिमालका कठोर चट्टानहरू जस्तै कठिनाइहरू पार गर्दै आकाशमा उड्ने सपनाहरूको कथा हो।
हरिशरणको बाल्यकाल हाकुमै बित्यो। सानै देखि उनको मनमा व्यापारको बीउ अङ्कुराएको थियो। स्कूलका किताबहरूमा उनको मन कमै रमाउँथ्यो, तर बजारका रङ्गिन सामानहरू, तिनको लेनदेन र ग्राहकहरूको मुस्कानले उनको मनलाई सधैं तानिरहन्थ्यो।
सायद, उनको मनले बुझिसकेको थियो कि उनको भविष्य किताबका पानाहरूमा होइन, बरु बजारका गल्लीहरूमा लेखिनेछ।
त्यसैले उनले घरको सानो दरामभित्र सामान राखेर एउटा खुद्रा पसल खोले। यो पसल उनको सपनाको पहिलो खेस्रा थियो, जसले उनलाई व्यापारको संसारमा रङ भर्ने अवसर दियो।
गाउँमा खुद्रा सामान बेच्ने सानो पसल नै उनको आत्मविश्वास र ऊर्जाको स्रोत थियो। गाउँका मानिसहरू उनलाई हाँसो र ऊर्जा भरिएको युवाको रूपमा चिन्थे।
हरिशरणको मनमा यो सपना रातारात फुरेको थिएन। उनको गाउँमा बिजुलीको उज्यालो पुगेको थिएन, तर उनको मनमा सपनाको उज्यालो सधैं बलिरहन्थ्यो।
उनको मुस्कान र ग्राहकहरूसँगको आत्मीय व्यवहारले व्यापारिक चिन्तनलाई जीवन्त बनायो। त्यो खुद्रा पसल उनको सपनाको पहिलो उडान थियो।
स्नातक तहमा अध्ययन गर्दै गर्दाको कुरा हो, अर्थात् चार वर्षअघि हरिशरणले जुम्ला बजारमा आफ्नो पहिलो ठूलो कदम चाले। ‘एच वान नाइन्टी नाइन’ नामको कपडा पसल खोलियो।
यो ठूलो लगानीको औपचारिक सुरुवात व्यापारको विस्तार थिएन। बरु यो उनको साहस र विश्वासको परीक्षा थियो।
जुम्ला जस्तो सानो बजारमा मानिसहरूले व्यापारको सम्भावनालाई लिएर नकारात्मक धारणा राख्थे। त्यही ठाउँमा हरिशरणले आफ्नो सपनालाई पखेटा लगाए।
उनले रङ्गिन र फेन्सी कपडाहरू ल्याएर बजारमा नयाँ रौनक थपे। ग्राहकहरूको आवश्यकता र रुचिलाई बुझ्दै उनले आफ्नो पसललाई एक विश्वासिलो गन्तव्य बनाए।
यो यात्रामा उनको परिवारको साथ अपरिहार्य थियो। खासगरी, उनका दाइ टिकाराज न्यौपानेले उनलाई ठूलो सहारा दिए।
टिकाराज हरिशरणको सपनालाई आफ्नै सपनाको रूपमा लिएर १० लाखको ऋण जुटाइदिए। उनले आफ्नो जागिरे धितो राखिदिए।
यो रकम हरिशरणलाई दाइको साथ आर्थिक सहयोग नभई, यो उनको मनोबल र विश्वासको आधारशिला भइदियो।
यो ऋणले उनको पसललाई नयाँ उचाइमा पुर्यायो र उनको आत्मविश्वासलाई झन् बलियो बनायो। टीकाराजको सहयोग हरिशरणको लागि एक यस्तो कहिल्यै ननिभ्ने दीप जस्तै थियो, जसले उनको अँध्यारो बाटोमा उज्यालो छर्यो।
हरिशरणको साहसले जुम्ला बजारमा नयाँ रङ भर्यो। जहाँ धेरैजसो मानिसहरूले जुम्लामा व्यापारको सम्भावना देख्दैनथे, हरिशरणले त्यहाँ अवसरको समुद्र देखे।
उनको विश्वासले उनलाई बजारमा एक फरक पहिचान बनायो। उनको पसल कपडा बेच्ने ठाउँ मात्र नभएर सपनाहरूलाई साकार गर्ने एक मञ्च भयो।
“हरेक ग्राहकको मुस्कान र सन्तुष्टिले मेरो मनमा नयाँ सपनाहरूको बीउ रोप्यो,” उनले मुस्कुराउँदै भने।
हरिशरणको व्यापारिक यात्रा यहीं रोकिएन। उनले गोल्ड स्टार जुत्ताको आधिकारिक डिलरशिप प्राप्त गरे। यो उनको लागि अर्को ठूलो अवसर थियो।
१० लाखको लगानीसहित उनले यो डिलरशिप सुरु गरे र बजारमा प्रतिस्पर्धी रूपमा आफूलाई स्थापित गरे। यो कदमले उनलाई व्यापारको नयाँ उचाइमा पुर्यायो।
गोल्ड स्टारको ब्रान्डसँग जोडिनुले उनको विश्वसनीयता र प्रतिष्ठालाई झन् उजागर गर्यो। यो उनको लागि व्यापारिक विस्तार मात्रै थिएन। यो त उनको सपनालाई थप उचाइ दिने एक सुनौलो पखेटा थियो।
यो समयसम्म हरिशरणको व्यक्तिगत जीवनमा पनि ठूलो परिवर्तन आयो। उनले जुम्ला महत गाउँकी यशोदा महतसँग विवाह गरे।
त्यसपछि यशोदा उनको जीवनसाथी मात्र बनिनन् बरु उनका सपनाहरूको पनि साझेदार बनिन्।
यशोदाको व्यापारप्रतिको रुचि र सकारात्मक सोचले हरिशरणको यात्रालाई थप रङ्गिन बनायो। यो जोडीले सँगै सपना देख्न थाले र ती सपनालाई साकार गर्ने हिम्मत पनि जुटाए।
यशोदा हरिशरणको व्यापारिक यात्राको सहयात्री बनिन् र हरेक कदममा साथ दिइ थालिन्। उनको साथले हरिशरणको मनमा एक नयाँ विश्वास जन्मियो, साँचो प्रेम र साझेदारीले कुनै पनि बाधालाई पार गर्न सकिन्छ।
हरिशरण र यशोदाको साझेदारीले नयाँ सपनालाई जन्म दियो, ‘हाइल्याण्ड क्याफे’। यशोदाको बेकरीप्रतिको रुचिलाई हरिशरणले आफ्नो व्यापारिक दृष्टिकोणसँग जोडे।
गएको आइतबार यो जोडीले १५ लाखको लगानीमा जुम्ला बजारमा ‘हाइल्याण्ड क्याफे’ सञ्चालनमा ल्याए। त्यसको एक हप्ता पछि उनीहरुको कथा कुटीरोमा प्रकाशित भएको छ।
यो क्याफे अब एक बेकरी नभएर, हरिशरण र यशोदाको साझा सपनाको प्रतीक बनिदिएको छ।
यो क्याफेले जुम्लाको बजारमा नयाँ स्वाद र रौनक थप्यो। फेन्सी बेकरी सामग्री, मनमोहक वातावरण र ग्राहकहरूको आत्मीय सेवाले यो क्याफे छोटो समयमै लोकप्रिय बन्ने यशोदाको विश्वास छ।
‘हाइल्याण्ड क्याफे’को हरेक कफीको कपमा हरिशरण र यशोदाको मेहनतको सुगन्ध मिसिएको छ।
“यो क्याफे खानेकुरा बेच्ने ठाउँ हुनुका साथसाथै, मानिसहरू आउँने, मुस्कुराउने र सपनाहरूको कुरा गर्ने समेत ठाउँ समेत हो,” यशोदाले मुस्कुराउँदै भनिन्।
यो क्याफेले हरिशरणको व्यापारिक यात्रालाई थप मजबुत बनायो। त्यसैले, यो आर्थिक सफलताको कथा मात्र नभई यो त हरिशरण र यशोदाको साझा मेहनत, विश्वास र प्रेमको कथा समेत हो।
उनको यात्रामा धेरै चुनौतीहरू थिए। आर्थिक जोखिम, बजारको नकारात्मक धारणा र सानो ठाउँका सीमित सम्भावनाहरू।
तर, हरिशरणले यी सबैलाई आफ्नो साहस र दृढताले जिते। उनले हरेक बाधालाई अवसरमा बदल्न सिके। उनको यो यात्रा एक यस्तो नदी जस्तै हो, जसले चट्टानहरूको बीचबाट पनि आफ्नो बाटो बनाउँछ।
उनको कथामा परिवारको साथले ठूलो भूमिका खेलेको छ। दाइ टीकाराजको आर्थिक र भावनात्मक सहयोग र यशोदाको साझेदारीले उनको सपनालाई बलियो आधार दियो।















