बुधबार, २० फाल्गुन, २०८२

जुम्लामा कालोपत्रे सडकको गुणस्तरप्रति चासो, राजनीतिक दलहरूको प्रशासनलाई ध्यानाकर्षण

कर्णाली राजमार्ग अन्तर्गत जुम्ला जिल्लामा हालै कालोपत्रे गरिएका सडकहरूको गुणस्तरप्रति चासो व्यक्त गर्दै जिल्लाका प्रमुख राजनीतिक दलहरूले जिल्ला प्रशासन कार्यालयमा संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन्।

कुटीरो डटकमले हिजो सार्वजनिक गरेको एक स्थलगत भिडियो रिपोर्टमा सडक कालोपत्रेको कार्य अत्यन्तै कमजोर र मापदण्डविपरीत गरिएको देखाइएको थियो। उक्त रिपोर्ट सार्वजनिक भएपछि राजनीतिक दलहरूले चासो व्यक्त गर्दै आज जिल्ला प्रशासन कार्यालयमा पुगेर तत्काल काम रोक्न माग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले विषयको गम्भीरता बुझेको जनाउँदै छानबिन अघि बढाउने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, हाल कार्य गरिरहेको उज्ज्वल शानदार जेभी निर्माण कम्पनीले गरिरहेको उक्त काम तत्कालका लागि रोक्न निर्देशन समेत दिइएको छ। भिडियोमा देखाइएको भागलाई निर्माण कम्पनीले पुनः मेसिन प्रयोग गरेर खनिसकेको छ ।

स्थानीयवासीहरूका अनुसार जुम्लामा पछिल्ला वर्षहरूमा बनेका थुप्रै सडकहरू अल्पकालमै बिग्रिएका छन्। यसपटक भने जनसरोकारका विषयमा सचेत नागरिकको पहल, पत्रकारिताको निगरानी र राजनीतिक दलहरूको दबाबले निर्माण क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

अहिले व्यापक रुपमा जिल्लाका स्थानीय लगायत विभिन्न राजनीति दलहरुले यस कालोपत्रेको आलोचना गरिरहेका छन् भने यसमा देखिएका दोषीलाई कारबाहीको माग समेत राखिरहेका छन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल