पढाइ मेलाको तेस्रो संस्करणले हिमा गाउँपालिका शैक्षिक सुधारका निम्ति इँटा थप्ने कार्य गरेको छ भने यसले आम विद्यार्थीको क्षमताको विकास समेत गरिरहेको छ। हिमा गाउँपालिकाले आयोजना गरेको पढाइ मेला जिल्लामा भएको एक नमूना कार्य समेत हो।
गाउँपालिका स्तरीय पढाइ मेलाको तेस्रो संस्करण आज सम्पन्न भएको छ। हिमा गाउँपालिका द्वारा आयोजित गाउँपालिका स्तरीय पढाइ मेला आज एक औपचारिक कार्यक्रमको बीच सम्पन्न भएको हो। हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न पढाइ मेला प्रत्येक वर्ष आयोजना गर्दै आएको छ।
पढाइ मेलाको आज समापनको दिन विद्यार्थीहरूबीच विभिन्न शैक्षिक प्रतिस्पर्धा भएको थियो। त्यस्तै, विभिन्न शैक्षिक प्रतियोगिताबाट उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई उच्चस्तरीय पुरस्कार समेत वितरण गरिएको हो।
पढाइ मेलाको तेस्रो संस्करणको समापन कार्यक्रमको सभाध्यक्ष ग्रहण गरेका हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले पालिकामा भएको माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रतिस्पर्धामा प्रथम हुने विद्यालय नेत्रज्योति माध्यमिक विद्यालयलाई पालिकाले प्रोत्साहनस्वरूप रू दस लाख रुपैयाँ दिने घोषणा गरेका छन्।
त्यस्तै, आधारभूत विद्यालयतर्फ भएको पालिका स्तरीय शैक्षिक प्रतिस्पर्धामा प्रथम हुने रुपा प्रा.वि. आधारभूत विद्यालयलाई रू पाँच लाख रुपैयाँ पालिकाले सहयोग गर्ने घोषणा गरे।
“यो पढाइ मेलाले कोसेढुङ्गा साबित गर्नेछ भन्ने जिकिर गर्दै, इतिहासको कठिन परीक्षामा हाम्रो पढाइ मेला एउटा गम्भीर समालोचना (समिक्षा) गरोस् भन्ने व्यग्र प्रतीक्षामा छु। हिमा गाउँपालिकामा मानवका लागि लगानी गर्ने समाज रूपान्तरणमा समग्र साथ तथा टेवा पुर्याउन जनताको साथमा हिमा गाउँपालिका छ,” अध्यक्ष लक्ष्मण शाहीले बताए।
पढाइ मेलाको तेस्रो संस्करणले हिमा गाउँपालिका शैक्षिक सुधारका निम्ति इँटा थप्ने कार्य गरेको छ भने यसले आम विद्यार्थीको क्षमताको विकास समेत गरिरहेको छ। हिमा गाउँपालिकाले आयोजना गरेको पढाइ मेला जिल्लामा भएको एक नमूना कार्य समेत हो, जसले स्थानीय निकायहरू शिक्षालाई प्रभावकारी बनाउन अग्रसर भएको सन्देश दिन्छ।