शुक्रबार, ६ असार, २०८२

जुम्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्लाको तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। बिहीबार आयोजित औपचारिक कार्यक्रममा तातोपानीलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको हो।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंको सभाध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायको प्रमुख आतिथ्यतामा यो घोषणा गरिएको हो। तातोपानीका आठवटै वडाका सबै १५ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले सबै प्रकारका खोप पाइसकेका छन्।

स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईंका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका ५८७ जना र जन्मदेखि १५ महिनासम्मका २९१ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। साथै २८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको छ।

वडा अनुसार पूर्ण खोप प्राप्त बालबालिका संख्या यस प्रकार छ: वडा नं १ मा ४१ जना, वडा नं २ मा ७३ जना, वडा नं ३ मा २३ जना, वडा नं ४ मा १२२ जना, वडा नं ५ मा २० जना, वडा नं ७ मा १८३ जना र वडा नं ८ मा ५४ जना रहेका छन्।

सामाजिक विकास समितिका संयोजक छिरिङ महतले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यका लागि खोप अनिवार्य रहेको र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न खोप आवश्यक रहेको बताए। उनले घोषणा कार्यान्वयनमा सबै सरोकारवालालाई सक्रिय भूमिका खेल्न आग्रह गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेवती रावल, प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत, वडाध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका इन्चार्जहरू पनि उपस्थित थिए।

तातोपानी गाउँपालिकाले सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएर स्वास्थ्य सुरक्षा सुनिश्चित गरेको यो कदम सराहनीय छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार