सोमबार, २ असार, २०८२

जुम्लाको पातारासीमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापन उपसमिति गठन

उपसमितिले ट्रेडिङ सेन्टरका लागि आवश्यक जग्गा प्राप्त गर्न र निर्माण कार्यलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पातारासी गाउँपालिका–३, लोठचौरमा निर्माणाधीन हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको कामको अनुगमन तथा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेन्टरको प्रगति र जग्गा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको छ।

छलफलमा सेन्टरको जग्गा प्राप्ति र व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ।

गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायको संयोजकत्वमा गठित उपसमितिमा पातारासीका सबै वडाका वडा अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र जग्गा दाताहरूको सहभागिता रहेको छ।

यो उपसमितिले ट्रेडिङ सेन्टरका लागि आवश्यक जग्गा प्राप्त गर्न र निर्माण कार्यलाई तीव्रता दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अनुगमनका क्रममा जग्गा व्यवस्थापनको आवश्यकता देखिएकाले उपसमितिको गठनले निर्माण प्रक्रियालाई थप सहज बनाउने विश्वास लिइएको छ।

जिल्ला समन्वय समिति प्रमुख आचार्यले हाई अल्टिच्युट ट्रेनिङ सेन्टरले जुम्लाको खेलकुद र पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्‍याउने बताए।

“यो सेन्टरले उच्च उचाइमा प्रशिक्षण गर्न चाहने खेलाडीहरूलाई आकर्षित गर्नेछ र स्थानीय स्तरमा रोजगारीका अवसर पनि सिर्जना गर्नेछ,” उनले भने।

उपसमिति संयोजक रोकायले जग्गा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर छिट्टै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्। स्थानीय सरोकारवालाहरूले पनि सेन्टरको निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यो ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएपछि जुम्ला उच्च उचाइको प्रशिक्षण केन्द्रका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार