सोमबार, २ असार, २०८२

अनधिकृत नाम र लाइसेन्स दुरुपयोग नगर्न दन्त चिकित्सकहरूलाई नेपाल डेन्टल एसोसिएसनको चेतावनी

नेपाल डेन्टल एसोसिएसनले केही दन्त चिकित्सकहरूले आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकमा आफ्नो नाम जोड्ने र लाइसेन्स दुरुपयोग गरेको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता कार्यले एसोसिएसनको आचारसंहिता उल्लङ्घन गर्नुका साथै पेशागत मर्यादा र कानुनी दायित्वप्रति बेवास्ता गरेको ठहर गर्दै कडा चेतावनी जारी गरेको छ।

एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र अध्यक्ष डा. अजय कुमार शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कार्यमा संलग्न चिकित्सकहरूलाई तत्काल आफ्नो नाम हटाउन, क्लिनिक वा संस्थाबाट स्ट्याम्प, लेटरप्याड, डिजिटल हस्ताक्षर आदि फिर्ता लिन अनुरोध गरिएको छ।

विज्ञप्तिमा कुनै क्लिनिक छोडेका चिकित्सकहरूलाई निकटतम वडा कार्यालय, जनस्वास्थ्य कार्यालय, नगरपालिकाको सम्बन्धित शाखा, प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालय र नेपाल डेन्टल एसोसिएसनको शाखा कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।

दर्ता नगरी सञ्चालित क्लिनिकहरूले यथाशीघ्र सम्बन्धित निकायमा दर्ता गरी नवीकरण प्रक्रिया पूरा गर्न चिकित्सकहरूलाई निर्देशन दिइएको छ।

एसोसिएसनले दन्त चिकित्सा पेशाको गरिमा, विश्वसनीयता र कानुनी हैसियत रक्षा गर्न सबै सदस्यहरूको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पेशागत जिम्मेवारीप्रति सचेत रहन आह्वान गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार