सोमबार, २ असार, २०८२

जातीय विभेदविरुद्ध चन्दननाथ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम

दलित सेवा सङ्घ जुम्लाले “जात नसोध, आचरण सोध” भन्ने नाराका साथ जातीय विभेद तथा सामाजिक अधिकारसम्बन्धी नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। दलित समुदायलाई जातीय विभेदका घटनाप्रति सचेत बनाउन र चुप नबस्न प्रेरित गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम मिति २०८२ जेठ २९ गतेदेखि असार १० गतेसम्म चन्दननाथ नगरपालिकाका वडा नं. १ देखि १० सम्म सञ्चालन हुने भएको छ। चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा दलित सेवा सङ्घले आयोजना गरेको यो कार्यक्रमको पहिलो दिन वडा नं. ४ मा रहेको नेपाल नेत्र ज्योति सङ्घको हलमा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले दलित समुदायले आफ्नो अधिकार मागेर मात्र नपाइने, खोस्नुपर्ने बताए। उनले जातीय भेदभाव, अन्याय र अत्याचारविरुद्ध कानुनी उपचार खोज्नुपर्नेमा जोड दिँदै दलित समुदायको हकअधिकारका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

दलित सेवा सङ्घ जुम्लाका पूर्वअध्यक्ष बालाराम नेपालीले विगतमा दलित समुदायले लुगा सिलाउने, जुत्ता बनाउने, फलामका औजार र सुनका गहना बनाउने जस्ता काम गरे पनि सम्मानजनक ज्याला नपाएको र सधैं अपमान र विभेद सहनुपरेको गुनासो गरे।

त्यस्तै दलित सेवा सङ्घका कोषाध्यक्ष पदम नेपालीले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक समस्याहरू के–के हुन् भन्ने विषयमा वडा नं. ४ का बासिन्दालाई स्पष्ट पारे। उनले दलित समुदायको हकअधिकार स्थापित गर्न सामाजिक जागरूकता आवश्यक रहेको बताए।

कार्यक्रममा वडा नं. ४ का स्थानीय बासिन्दा, दलित सेवा सङ्घ र विभिन्न भातृसङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार