भोलि न तिमी हुनेछौ,
न म हुनेछु,
न हामी हुनेछौं
न कसैको कुनै गुनासो हुनेछ!
मात्र सीमित सम्झनाहरुको
एक सिलसिला हुनेछ
त्यसैले आऊ गर्वका साथ,
जिन्दगीका स्वर्णिम पलहरुको
भरपूर आनन्द लिऔं,
हाँसौ, नाचौं, रमाऔं
सुखकासाथ बिताऔं!
विरुपताका मौसमी रंगहरु
विषमताका विद्वेषी वर्णहरू
भेदभावरुपी मन मैलोहरु,
पवित्र हृदयले सर्लक्कै पखालेर
शान्त, स्निग्ध, कन्चन
निष्कपटक, निष्कलंक रुपमा
कर्मसँगै बहन सिकौं हामी
सधै एउटै सङ्लो नदी बनेर !
शायद कसलाई के थाहा ?
जिन्दगीरुपी इजलासमा,
उज्यालो पछिको अँध्यारो र,
आज पछिको भोलिको
फैसला के हुनेछ?
त्यसैले आऊ
एकबारको जिन्दगी यो,
तिमी हामी सबै मिली
तन मन, धनकासाथ
जतनले उपयोग गर्न सिकौं
रंगहीन जीवनलाई,
अझै रंगीन बनाऔं!