कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बालविवाहले बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने बताउँदै यसलाई पूर्ण रूपमा उन्मूलन गर्न सबैको सहकार्य आवश्यक रहेको जोड दिए।
कनकासुन्दरी गाउँपालिका–२, जुम्लालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। ‘विवाहपारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी गाउँपालिकाको प्रतिबद्धता’ नारासहित आयोजित एक समारोहबीच यो घोषणा गरिएको हो।

कनकासुन्दरी गाउँपालिकाले बालविवाहविरुद्धको अभियानलाई तीव्र बनाउँदै गाउँपालिकालाई नै बालविवाहमुक्त बनाउने लक्ष्य राखेको छ। वडा नं. २ को यो सफलताले अन्य वडाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बालविवाहले बालबालिकाको भविष्यमा गम्भीर असर पार्ने बताउँदै यसलाई पूर्ण रूपमा उन्मूलन गर्न सबैको सहकार्य आवश्यक रहेको जोड दिए।

उनले भने, “बालविवाहमुक्त वडा घोषणा केवल शुरुआत हो। हामी समग्र गाउँपालिकालाई बालविवाहमुक्त बनाउन प्रतिबद्ध छौँ।”
गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाले यो उपलब्धिलाई सामुदायिक एकताको परिणाम बताइन्। “महिला र बालबालिकाको सशक्तीकरण बिना दिगो विकास सम्भव छैन। यो अभियानले हाम्रा छोरीहरूको भविष्य सुरक्षित गर्नेछ,” उनले भनिन्।

त्यस्तै वडा नं. २ का अध्यक्ष खम्मा रावतले वडावासीको सक्रिय सहभागिता र सचेतनाले यो सम्भव भएको बताए।
उनले भने, “हामीले हरेक टोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यौँ। अब हाम्रो वडामा २० वर्षभन्दा कम उमेरमा विवाह हुँदैन।”

यो अभियानमा सहयोगी संस्था क्याड नेपालका राजेश प्रकाश ऐरीले बालविवाहविरुद्धको लडाइँमा सामुदायिक नेतृत्व र सचेतनाको महत्त्वमाथि प्रकाश पारे।
“हामीले गाउँपालिका र स्थानीय समुदायसँग मिलेर सचेतना कार्यक्रम, किशोर–किशोरी क्लब र सामुदायिक छलफल सञ्चालन गरेका छौँ। यो उपलब्धि सबैको साझा प्रयासको फल हो,” ऐरीले भने।
