सोमबार, २ असार, २०८२

जुम्ला बहुमुखी क्याम्पस स्ववियुको माग: विद्यार्थीका लागि ४५% भाडा छुट गरियोस्

जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरूका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट तत्काल लागू गर्न माग गरेको छ। स्ववियुले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा सरकारले विगतमा विद्यार्थी आन्दोलनका क्रममा गरेको ४५% भाडा छुटको निर्णय जुम्लामा अझै कार्यान्वयन नभएकोमा गम्भीर आपत्ति जनाइएको छ। स्ववियुले राज्यले प्रदान गर्ने सेवा-सुविधाबाट विद्यार्थीजस्ता भविष्यका कर्णधारलाई वञ्चित गरिनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ।

जुम्ला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले देशका अन्य जिल्लामा यो सुविधा लागू भइसके पनि जुम्लामा कार्यान्वयन नहुनु विभेदकारी भएको बताए। यस्तै, सचिव दत्तराज रावतले नेपाल सरकार, यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबीचको सहमति तथा कानुनी प्रावधानअनुसार तत्काल छुट लागू गर्नुपर्ने माग गरे।

स्ववियु उपसभापति विक्रम तिरुवाले भाडा छुटको व्यवस्था चाँडै लागू नगरे कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए। स्ववियुले दुर्गम क्षेत्रका विद्यार्थीहरूले राज्यको कानुनी व्यवस्था कार्यान्वयन भएको अनुभव गर्न पाउनुपर्ने भन्दै तत्काल कदम चाल्न आग्रह गरेको छ। माग पूरा नभए आफ्नै तरिकाले अघि बढ्ने स्ववियुको अडान छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार