प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष शैक्षिक सुधार र उत्कृष्टतामा योगदान पुर्याउने पालिकालाई सम्मानित गर्दै आएको छ।
जुम्लाको चन्दननाथ नगरपालिकाले शैक्षिक क्षेत्रमा कर्णाली प्रदेशको नेतृत्व गर्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (PAN) बाट “वर्ष २०८२ को उत्कृष्ट पालिका” को सम्मान प्राप्त गर्ने भएको छ। शैक्षिक मापदण्डमा आधारित गहन मूल्याङ्कनपछि यो उपलब्धि हासिल भएको हो।
प्रा.डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले २५ वटा शैक्षिक सूचकहरूको आधारमा चन्दननाथ नगरपालिकालाई कर्णालीको शैक्षिक क्षेत्रमा अग्रणी ठहर गरेको छ।
यो सम्मानले नगरपालिकाको शैक्षिक नेतृत्व, गुणस्तरीय शिक्षा र नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।
प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष शैक्षिक सुधार र उत्कृष्टतामा योगदान पुर्याउने पालिकालाई सम्मानित गर्दै आएको छ। यस वर्ष चन्दननाथ नगरपालिकालाई यो पुरस्कार प्रदान गर्न पोखराको सभा गृहमा जेठ २३ गते आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलनमा निमन्त्रणा गरिएको छ।
“नेतृत्वका नयाँ परिभाषा: विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाई” भन्ने नारासहित आयोजित यो सम्मेलनमा देशभरका एक हजारभन्दा बढी शिक्षाविद्, नीति निर्माता, शिक्षक र विद्यार्थीहरू सहभागी हुनेछन्।
यो सम्मानले चन्दननाथ नगरपालिकाको शैक्षिक प्रगति र कर्णालीको शैक्षिक परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।