आईतवार, १२ आश्विन, २०८२

कार्यकर्तालाई जागिरे बनाउन दलहरूले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमले हट्यो श्रमदान!

दशकअघि मानिसहरू खेतबारी अर्थात् जग्गाका धनी थिए। जग्गा नभएको व्यक्ति सायदै हुन्थे। एउटै व्यक्तिको एक रोपनीदेखि सयौँ रोपनीसम्म जमिन हुन्थ्यो। खेतबारी, गाईवस्तु र घरको काम गरेर पनि उनीहरूले सार्वजनिक कामका लागि समय निकाल्थे।

पाँच दशकअघि मुलुकमा अशिक्षित व्यक्तिहरूको सङ्ख्या धेरै थियो। विभिन्न कारणले प्रायः मानिसहरू शिक्षा प्राप्तिबाट वञ्चित थिए। त्यतिबेला उनीहरूको जीवन नै कृषिमा आधारित थियो। बिहानदेखि बेलुकासम्म खेतबारी, घाँसदाउरा र घरायसी काममा व्यस्त रहँदा समय ठिक्क हुन्थ्यो। चप्पल लगाउने चलन थिएन। खाली खुट्टा हिँडिन्थ्यो। च्यातिएको कपडा लगाइन्थ्यो।

तर, आफूले नखाएर भए पनि अप्ठ्यारो वा समस्यामा परेका व्यक्ति, छरछिमेक र आफन्तलाई सहयोग गरिन्थ्यो। नचिनेका व्यक्तिलाई समेत घरमा बास दिइन्थ्यो। यति मात्र होइन, सार्वजनिक काम मिलेर गरिन्थ्यो। बाटो, चौतारा, पाटीपौवा, ढुङ्गेधारा, कुवा, खोलामा साङ पनि सबै मिलेर बनाइन्थ्यो।

आफ्नो गाउँमा विद्यालय भत्किएमा आफैँ मर्मत गर्न अघि सर्थे। दशकअघि मानिसहरू खेतबारी अर्थात् जग्गाका धनी थिए। जग्गा नभएको व्यक्ति सायदै हुन्थे। एउटै व्यक्तिको एक रोपनीदेखि सयौँ रोपनीसम्म जमिन हुन्थ्यो। खेतबारी, गाईवस्तु र घरको काम गरेर पनि उनीहरूले सार्वजनिक कामका लागि समय निकाल्थे।

शिक्षा प्राप्त नगरे पनि मानिसहरूमा चेतना थियो। आफ्नो काम आफैँ गर्नुपर्छ, राज्यको मुख ताक्नुहुँदैन भन्ने उनीहरूको सोच थियो। किताबी ज्ञान नभए पनि मानिसहरूमा व्यवहारिक ज्ञान प्रशस्त थियो। दशकअघि अहिलेजस्तो मिलको व्यवस्था थिएन। कतै–कतै पानी घट्ट हुन्थ्यो, तर त्यहाँ पनि घण्टौँ हिँडेर पुग्नुपर्थ्यो। बिहान ३ बजे उठेर गहुँ, मकै, कोदो पिस्न घट्ट पुग्थे।

कोहीले रातभर आफ्नो घरमा जातो वा ओखलमा पिस्थे। आफ्नो घर, आँगन र बाटो आफैँ सफा राखिन्थ्यो। बिहानै उठेर घरदेखि बाटोसम्म कुचो लगाइन्थ्यो। ढुङ्गेधारा, कुवा, पाटीपौवा, चौताराहरू फोहोर भएमा पनि आफैँले सफा गरिन्थ्यो। कुनै पनि काममा सरकारको मुख ताक्ने प्रवृत्ति थिएन। विद्यालय, अस्पताल निर्माणमा समेत श्रमदान गरिन्थ्यो।

तर, पछिल्लो समय हरेक काममा सरकारको मुख ताक्ने प्रवृत्तिको विकास भएको छ। अहिले धेरै मानिस शिक्षित छन्। यद्यपि, उनीहरूमा व्यवहारिक ज्ञान भने छैन। जसका कारण मानिसहरूमा आफ्नै काम पनि आफैँ नगर्ने प्रवृत्ति बढ्दै गएको छ। ७४ वटा जिल्लाका जनता काठमाडौँ उपत्यकामा आए।

गाउँको घरमा ताल्चा झुण्डाएर, जमिन बाँझो राखी सेवासुविधाको खोजीमा उनीहरू उपत्यकामा छिरे। यहाँ जमिन किने। घर बनाए। यता, उपत्यकावासीले पनि धमाधम जमिन बेचे। जमिन बेचेर छोराछोरीको बिहे गरिदिने, भोजभतेर गर्ने, घर बनाउने, रक्सी खाने जस्ता काम गरे।

दशकअघि उपत्यकामा दशदेखि सयौँ रोपनीसम्म जमिन हुनेहरू अहिले चार आनामा सीमित भएका छन्। बाहिरी जिल्लावासीले पनि आफ्नो गाउँको सयौँ रोपनी जमिन बाँझो राखेर उपत्यकामा चार आना जग्गा किनेका छन्। घर बनाएका छन्।

आफ्ना कार्यकर्तालाई रोजगारी दिन राजनीतिक दलहरूले सार्वजनिक कामका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याए। जसले गर्दा मानिसहरूमा सार्वजनिक काम गर्नुपर्छ भन्ने सोचको नै अन्त्य भयो। विगतमा निःशुल्क सार्वजनिक काम गर्नेहरू अहिले पैसाविना आफ्नै घरअगाडिको फोहोर पनि उठाउँदैनन्। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पार्टीका झोलेहरूले मात्र जागिर पाएका छन्।

पार्टीको आडमा जागिर पाएकाहरूबाट कामको के आशा गर्नु? उनीहरू कार्यालय जान्छन्, हाजिरी गर्छन्, तलब बुझ्छन्, तर काम गर्दैनन्। जसले गर्दा राज्यलाई आर्थिक भार थपिएको छ। अर्कोतर्फ, भ्रष्टाचार पनि मौलाउँदै गएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मानिसहरूलाई रोजगारी दिएर मात्र हुँदैन। काम गर्न आवश्यक पर्ने सामग्री पनि दिनुपर्छ। त्यसको खरिदमा खर्बौँ भ्रष्टाचार भएको छ वा हुने गरेको छ।

जसले गर्दा राज्यको खर्बौँ लगानी बालुवामा पानीसरह भएको छ। उपत्यकामा जति पनि घर बनेका छन्, तिनमा आँगन वा खाली ठाउँ छैन। सानो जग्गामा अग्ला घर बनाएर भाडामा लगाइएको छ। मासिक रूपमा भाडा असुलिन्छ। तर, आफ्नै घरवरपरको फोहोर सफा गरिँदैन। स्थानीय तहबाट आएका कर्मचारीले सफा गरिदिनुपर्छ।

अहिले मानिसहरू निकै फुर्सदिला छन्। विडम्बना, उनीहरूसँग सार्वजनिक काम गर्न भने समय छैन। दिनभर मोबाइल चलाएर बस्छन्। धर्मको नाममा विभिन्न ठाउँ दौडिन्छन्। भोजभतेर, विवाहमा जान्छन्, तर विद्यालय, अस्पताल बनाउन श्रमदान गर्ने समय हुँदैन। मानिसहरूले किताबी ज्ञान त धेरै प्राप्त गरे, तर दुर्भाग्य, व्यवहारिक ज्ञान कसैमा पाइँदैन।

यहाँ अरूको राम्रो कामलाई नजरअन्दाज गर्ने, तर नराम्रोलाई पछ्याउने प्रवृत्ति बढ्दो छ। उदाहरणका लागि, कसैले बाटो सफा गरेमा त्यसमा कसैले साथ दिँदैनन्। उल्टै फोहोर पारिदिन्छन्। अनि धर्मको नाममा माता कहाँ गएर दिनभर नाचगान गर्छन्। हजारौँ रकमका फलफूल तथा सामग्री चढाइन्छ। पैसा पनि उत्तिकै चढाइन्छ। धर्मको नाममा आफ्नो पैसा र समय दुवै खर्च गर्न थालिएको छ।

कथित माताहरूले धर्मको नाममा शिक्षित व्यक्तिहरूलाई ठगिरहेका छन्। उनीहरूको सम्पत्ति लुटिरहेका छन्। देशमा निजी तथा सरकारी थुप्रै अस्पताल छन्। विडम्बना, अहिले पनि बिरामी हुँदा माता, धामीझाँक्री कहाँ जाने गरिन्छ। कथित माता, धामीझाँक्रीहरूले उपचार गर्न दिँदैनन्। अनि निर्दोष व्यक्तिले अकालमै ज्यान गुमाउनुपरेको छ।

यति मात्र होइन, भविष्यवाणी गर्ने नाममा पनि लाखौँ रकम ठगी गरिन्छ। यद्यपि, सरकारले त्यस्ता ठग माताहरूलाई कारबाही गर्दैन। यहाँ सरकार नै कमजोर भएको छ। गलतविरुद्ध कदम चाल्नुको सट्टा सरकार झुक्छ। अनि कसरी देशको विकास हुन्छ? हाम्रो राष्ट्रिय भाषा नेपाली हो।

तर, पछिल्लो समय निजी विद्यालयहरूले विद्यार्थीलाई नेपाली बोल्न दिँदैनन्, न त नेपाली पढाउँछन्। अङ्ग्रेजी सिकाउनमा मात्र विद्यालयहरू केन्द्रित देखिन्छन्। यसरी अङ्ग्रेजी मात्र सिकेपछि भविष्यमा ती विद्यार्थीले आफ्नै देशमा केही गर्न खोजे पनि नेपाली नजान्दा गर्न सक्दैनन्। अनि उनीहरू जहाँ अङ्ग्रेजी बढी प्रयोग हुन्छ, त्यतै लाग्छन्।

अर्को भाषामा भन्नुपर्दा, उनीहरू विदेश पलायन हुन्छन्। यदि सरकारले बेलैमा निजी विद्यालयहरूलाई अङ्ग्रेजी मात्र पढाउनमा रोक लगाएको भए, आज ती विद्यार्थी विदेश पलायन हुनुपर्ने थिएन। न त देशले सक्षम व्यक्ति गुमाउनुपर्थ्यो। यसरी सरकार कमजोर हुँदा त्यसको क्षति समग्र देशले व्यहोर्नुपर्छ। यता, मानिसहरूमा राम्रो र नराम्रो छुट्याउने क्षमता नै छैन।

आफूलाई जन्म दिने आमाबाबुलाई आश्राममा छोड्ने, तर कुकुरलाई आफूसँग सुताउने प्रवृत्ति अचेल मानिसहरूमा देखिन्छ। सार्वजनिक काम गर्नुपरे विभिन्न बहाना बनाउँछन्। आफ्नै घरको कामसमेत गर्दैनन्। कतिपयले अरूलाई देखाउनका लागि सार्वजनिक काम गरेजस्तो गरेर भिडियो खिचेर फेसबुकमा पोस्ट गर्छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार