मंगलवार, ३ असार, २०८२

छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथन: जुम्लाका धावकहरूको कीर्तिमानी प्रदर्श

यो दौडले कर्णालीका धावकहरूको क्षमता विश्वसामु चिनाएको छ। हाम्रा खेलाडीले चुनौतीपूर्ण भू–बनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेर हामीलाई गर्व महसूस गराएका छन्।

कर्णाली स्पोर्ट्स क्लबद्वारा आयोजित जुम्ला–रारा अल्ट्रा म्याराथनको पाँचौँ संस्करणमा कर्णालीका धावकहरूले उत्कृष्ट प्रदर्शन गर्दै पुरुष र महिला दुवै वर्गमा शीर्ष स्थान हासिल गरेका छन्।

५१ किलोमिटरको यो दौड जुम्ला बजार (२३०५ मिटर) बाट शुरू भई रारा ताल (२९९० मिटर) मा समापन भएको थियो। कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीका अनुसार, यो म्याराथनले कर्णालीको साहसिक पर्यटन प्रवर्द्धन र स्थानीय धावकहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।

यसैबीच पुरुष तर्फ कर्णाली स्पोर्ट्स क्लबका दल बहादुर कुँवरले ५ घण्टा ५३ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरे। नेपाल आर्मीका होमलाल श्रेष्ठ ६ घण्टा ७ मिनेट ५५ सेकेण्डसहित दोस्रो र कर्णाली स्पोर्ट्स क्लबकै चन्द्र रावत ६ घण्टा १९ मिनेट २८ सेकेण्डसहित तेस्रो भए।

यस्तै, शेर बहादुर बुढा ६ घण्टा ३ मिनेट ४२ सेकेण्डमा चौथो र धीरा बहादुर रावत ६ घण्टा ४२ मिनेट ८ सेकेण्डमा पाँचौँ स्थानमा रहे।

महिलाहरुमा पनि पनि कर्णाली स्पोर्ट्स क्लबकै वर्चस्व रह्यो। महिला तर्फ कल्पना बुढाले ७ घण्टा ५१ मिनेट २५ सेकेण्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरिन्।

राज्य लक्ष्मी रावल ८ घण्टा २८ मिनेट ४१ सेकेण्डसहित दोस्रो, सन्दीपा बुढा ८ घण्टा ४६ मिनेट ३ सेकेण्डसहित तेस्रो र उम्मकली बुढा १० घण्टा ४ मिनेट १८ सेकेण्डसहित चौथो स्थानमा रहिन्। काठमाडौँकी अनिशा गुरुङले ११ घण्टा ७ मिनेट ८ सेकेण्डमा पाँचौँ स्थान प्राप्त गरिन्।

अध्यक्ष शाहीले यो म्याराथन कर्णालीको पहिचान र पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम भएको बताए। “यो दौडले कर्णालीका धावकहरूको क्षमता विश्वसामु चिनाएको छ। हाम्रा खेलाडीले चुनौतीपूर्ण भू–बनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेर हामीलाई गर्व महसूस गराएका छन्,” उनले भने।

दौडको मार्गमा दनफे (३५०० मिटर), काब्रा गुफा, भुलभुले (२९५० मिटर) र चुचेमारा (४०१७ मिटर) जस्ता उकालो–ओरालो र उबडखाबड बाटोहरू समावेश थिए, जसले धावकहरूको शारीरिक र मानसिक क्षमता परीक्षण गरेको अन्तर्राष्ट्रिय धावक हरि रोकायाले बताए।

उनका अनुसार, यो म्याराथनले स्थानीय समुदायलाई पनि लाभ पुर्‍याएको छ। दौडको आयोजनाले जुम्ला र रारा क्षेत्रमा पर्यटकको आगमन बढाएको छ, जसले स्थानीय होटल, गाइड, र अन्य व्यवसायलाई प्रत्यक्ष फाइदा भएको छ।

“हामीले यो म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य राखेका छौँ। यसले कर्णालीको सौन्दर्य र यहाँका मानिसहरूको आतिथ्यलाई विश्वभर चिनाउनेछ,” शाहीले थपे।

यो वर्षको म्याराथनमा कर्णाली स्पोर्ट्स क्लबका धावकहरूले पुरुष र महिला वर्गमा शीर्ष चार स्थान कब्जा गर्नुले क्लबको प्रशिक्षण र तयारीको स्तरलाई उजागर गरेको छ।

अध्यक्ष शाहीले भने, “हाम्रा धावकहरूले कठिन परिश्रम र लगनले यो सफलता हासिल गरेका हुन्। उनीहरूको यो उपलब्धिले कर्णालीका युवाहरूलाई खेलकुदमा लाग्न प्रेरणा दिनेछ।”

जुम्ला–रारा अल्ट्रा म्याराथनले कर्णालीको साहसिक पर्यटन र खेलकुदको सम्भावनालाई उजागर गरेको छ। यो दौडले स्थानीय धावकहरूलाई अवसर प्रदान गर्नुका साथै कर्णालीको सांस्कृतिक र प्राकृतिक सम्पदालाई विश्वसामु चिनाउने महत्त्वपूर्ण कदम बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार