क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीका अनुसार तालिममा गुणात्मक अनुसन्धानका विधि, प्रकार, प्रयोग गरिने साधनहरू र विज्ञ समीक्षित लेखन लगायत विषयमा गहन छलफल भयो।
जुम्ला बहुमुखी क्याम्पसमा गुणात्मक अनुसन्धान विधिबारे तीन दिने तालिम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा शनिबारदेखि सुरु भएको यो तालिमले सहभागीहरूलाई अनुसन्धानमा नयाँ आत्मविश्वास र प्रेरणा प्रदान गरेको छ।
तालिममा जुम्ला बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारीसहित कर्णाली मावि अनामनगर, ऋणमोक्ष मावि डिल्लीचौर र रत्नचूडेश्वर माविका शिक्षकहरूको सहभागिता थियो।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका सहप्राध्यापक भीमलाल गौतम र महेन्द्र रत्न बहुमुखी क्याम्पस ताहचलका सहप्राध्यापक प्रेम प्रसाद पौडेलले प्रशिक्षण दिएका थिए।
क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीका अनुसार तालिममा गुणात्मक अनुसन्धानका विधि, प्रकार, प्रयोग गरिने साधनहरू र विज्ञ समीक्षित लेखन लगायत विषयमा गहन छलफल भयो।
“यो तालिमले अनुसन्धानका आधारभूत पक्षहरूलाई प्रष्ट पार्नुका साथै सहभागीहरूमा अनुसन्धानप्रति उत्साह जगाएको छ,” उनले भने।
प्रशिक्षक भीमलाल गौतमले गुणात्मक अनुसन्धानले विषयवस्तुको गहिराइमा पुगेर नयाँ दृष्टिकोण प्रदान गर्ने बताए।
“यस्ता तालिमले शिक्षक र प्राध्यापकहरूलाई अनुसन्धानप्रति सक्रिय बनाउँछ र शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुर्याउँछ,” उनले भने।

अर्का प्रशिक्षक प्रेम प्रसाद पौडेलले अनुसन्धानलाई व्यवहारमा उतार्न साधन र प्रविधिको प्रयोगमा जोड दिए। “गुणात्मक अनुसन्धानले तथ्यहरूलाई गहिरो विश्लेषण गर्न सिकाउँछ, जुन शिक्षण र लेखनमा महत्वपूर्ण छ,” उनले थपे।
तालिम अत्यन्त उपयोगी र उपलब्धिमूलक भएको बताए जुम्ला बहुमुखी क्याम्पसका शिक्षण सहायक हरिकृष्ण थापाले बताए।
त्यस्तै अर्का सहभागी जुम्ला बहुमुखी क्याम्पसका शिक्षण सहायक हिक्मत बुढथापाले तालिमले अनुसन्धानप्रति साहस र उत्प्रेरणा जगाएको अनुभव सुनाए।
“ज्ञान समुद्रजस्तै गहिरो छ। तालिमले त्यसमा डुबेर केही खोज्ने आँट दिएको छ,” उनले भने।
कर्णाली माविका शिक्षक दानबहादुर बुढाले छोटो समयमा गुणात्मक अनुसन्धानको विस्तृत ज्ञान प्राप्त भएको भन्दै प्रशिक्षकहरूप्रति कृतज्ञता व्यक्त गरे। “यो तालिमले अनुसन्धानका आधारभूत कुराहरू प्रष्ट बनायो,” उनले भने।
ऋणमोक्ष माविका शिक्षक भिम प्रसाद तिमिल्सिनाले तालिमले विश्वविद्यालयमा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा जोड्ने अवसर प्रदान गरेको बताए।
“शिक्षणसँग सम्बन्धित क्षेत्रमा यस्ता तालिमले व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने।
तीन दिनसम्म चलेको तालिमले सहभागीहरूमा अनुसन्धान आलेख लेखन र विश्लेषणको क्षमता अभिवृद्धि गरेको छ।
क्याम्पस प्रमुख खत्रीले यस्ता तालिमलाई निरन्तरता दिइने बताए। “हाम्रो उद्देश्य शिक्षक र प्राध्यापकहरूलाई अनुसन्धानमा सक्रिय बनाएर शैक्षिक गुणस्तर उकास्नु हो,” उनले भने।
