बुधबार, ४ असार, २०८२

सांसद सुनिल शर्मालाई सामाजिक संजालमा गालीको वर्षा

“मोरङजस्तो सुगम क्षेत्रका शर्माले कर्णालीको बौद्धिकता र योगदानलाई अपमान गर्नु उचित होइन। उनको विगतका गतिविधि सबैलाई थाहा छ।”

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. मंगल रावललाई ‘अन्तर्राष्ट्रिय दलाल’ भनेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ। बुधबार भएको यो अभिव्यक्तिले नेपालको चिकित्सा क्षेत्र र राजनीतिक वातावरणमा नयाँ बहस सिर्जना गरेको छ।

डा. रावलको विरुद्ध प्रश्न उठाउने शर्माको यो टिप्पणीले धेरैको ध्यान खिचेको छ। सामाजिक सञ्जालमा डा. रावलको समर्थनमा ठूलो संख्यामा व्यक्तिहरूले विचार व्यक्त गरेका छन् भने शर्मामाथि तीव्र आलोचना भएको छ।

डा. मंगल रावल कर्णालीको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि समर्पित व्यक्तित्व हुन्। कम उमेरमै उपकुलपति बनेर इतिहास रचेका उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुदृढ बनाउन र दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।

शर्माको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले डा. रावलको योगदानको महत्त्वलाई थप उजागर गरेको छ। चन्द्र सुनारले शान्त भावमा लेखे, “यस्ता बाधाहरू आउँछन्, तर आत्तिनु हुँदैन। कर्ममा विश्वास राखेर अघि बढ्नुपर्छ, समयले सबै कुरा स्पष्ट गर्छ।”

यस्तै माधव चौलागाईंले शर्मालाई चिकित्सा क्षेत्रमा अनुचित प्रभाव राख्ने व्यक्तिको रूपमा चित्रण गर्दै लेखे, “उहाँले सार्वजनिक संस्थानहरूलाई कमजोर बनाउन अनुचित प्रयास गरेको देखिन्छ। यस्ता गतिविधिविरुद्ध चिकित्सा क्षेत्र एकजुट हुनुपर्छ।”

नवराज कोइरालाले शर्माको अभिव्यक्तिलाई डा. रावलको चरित्रमाथि अनुचित आक्षेपको रूपमा लिए। उनले लेखे, “यो टिप्पणी अत्यन्त लज्जास्पद छ। म यस्ता अभिव्यक्तिको घोर निन्दा गर्छु। डा. रावलले आफ्नो लक्ष्यमा अडिग रहँदै समाजका लागि योगदान दिइरहनुपर्छ। उहाँप्रति हाम्रो ठूलो आशा छ।”

अमित झाले डा. रावलको प्रशंसा गर्दै लेखे, “नझुक्ने साहस, अटल विचार र जनताको माया कमाएका डा. रावलको योगदानले सस्तो उपचार र न्यायको सन्देश बोकेको छ।”

प्रेम ज्ञवालीले भने सरकारी निर्णयको पालना नगर्ने व्यक्तिमाथि कडा कदम चाल्नुपर्ने धारणा राखे। उनले लेखे, “यदि कुनै व्यक्ति वा संस्थाले सरकारको आदेश पालना गर्दैन भने सम्बन्धित सुविधा रोक्का गर्नुपर्छ।”

यता, नामराज खड्काले शर्मामाथि कडा टिप्पणी गर्दै भने, “उहाँ चिकित्सा क्षेत्रमा अनुचित प्रभाव राख्ने व्यक्ति हुन्। यस्ता गतिविधि स्वीकार्य छैनन्।”

शर्मामाथि विगतका विवादहरूलाई जोडेर पनि आलोचना भएको छ। अशोक भण्डारीले शर्माको शैक्षिक प्रमाणपत्र र चिकित्सा क्षेत्रमा गरेको कार्यमाथि गम्भीर प्रश्न उठाए। उनले लेखे, “मोरङजस्तो सुगम क्षेत्रका शर्माले कर्णालीको बौद्धिकता र योगदानलाई अपमान गर्नु उचित होइन। उनको विगतका गतिविधि सबैलाई थाहा छ।”

पूर्ण रावलले डा. रावलको निःस्वार्थ सेवाको प्रशंसा गर्दै शर्मालाई आलोचना गरे। उनले लेखे, “कर्णालीमा दीनदुखीको सेवामा समर्पित डा. रावलको योगदानसँग शर्माको तुलना हुन सक्दैन।”

भक्त शाहीले शर्मालाई राजनीतिक स्वार्थका लागि जनताको भावनासँग खेल्ने व्यक्तिको रूपमा चित्रण गरे। उनले लेखे, “उहाँले व्यापारिक स्वार्थका लागि राजनीतिक आवरण प्रयोग गरेको देखिन्छ।”

राम जिवन प्रसादले शर्माको विगतका गतिविधिमाथि प्रकाश पार्दै लेखे, “उहाँले नोबेल मेडिकल कलेजमा अनुचित प्रभाव राखेको र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेको कुरा सर्वविदित छ।”

डा. सुनिल शर्मा लामो समयदेखि चिकित्सा र राजनीति क्षेत्रमा विवादको केन्द्रमा छन्। उनमाथि शैक्षिक प्रमाणपत्रमा अनियमितता, चिकित्सा संस्थाहरूमा अनुचित प्रभाव र सम्पत्ति सम्बन्धी उजुरीहरू जस्ता गम्भीर आरोप लाग्दै आएका छन्।

विगतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको भए पनि अदालतको आदेशमा रिहा भएका थिए। यस्ता घटनाले उनको सार्वजनिक छविमा प्रश्नचिह्न खडा भएको छ।

यो विवादमा शर्माले हालसम्म औपचारिक जवाफ दिएका छैनन्। विगतमा उनले आफूमाथिका आरोपहरूलाई राजनीतिक प्रतिशोधको रूपमा खण्डन गर्दै आएका छन्। तर, उनको पछिल्लो अभिव्यक्तिले डा. रावलको सम्मानमाथि मात्र नभई समग्र चिकित्सा क्षेत्रको मर्यादामाथि प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा डा. रावलको पक्षमा देखिएको समर्थनले उनको कार्यको महत्त्वलाई उजागर गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार