बा दु:खी छन्, म घर चलाउन हिँडे अब, धितो ज्यान लगाएर
सरकार खुसि छ, म देश चलाउन हिँडे अब, रेमिट्यान्स पठाएर
बा दु:खी छन् अझै ऋणबाट घर उठेको छैन
सरकार खुसी छ अझै जमिनबाट कर उठेको छ!
किसानको हिसाब किताब कहिले मिलेन यता
कर कमिसनको हिसाब किताब मिलाउन अब म उतै जान्छु
मेरो व्यवस्थाको हिसाब किताब मिलाउनै बाँकी छ
अहिले म व्यापारको हिसाब किताब मिलाउन हिँडेको छु
मलाई सिंह देखि डर लाग्दैन, मेरो हार-गुहार सुनिदेला कसैले
मलाई दरबार देखि डर लाग्दैन, मेरो वकालत सुनिदेला कसैले
तर मलाई सिंहदरबार देखि असाध्यै डर लाग्छ!
मेरो देशको घर बारी मा चासो छैन सिंहदरबारलाई
मेरो समुन्द्र पारीको सवारीमा गुनासो छैन सिंहदरबारलाई!
रोजगारको हिसाब किताब कहिले मिलेन यता
रेमिट्यानको हिसाबकिताब मिलाउन अब म उतै जान्छु
मेरो व्यवस्थाको हिसाब किताब मिलाउनै बाँकी छ
अहिले म व्यापारको हिसाब किताब मिलाउन हिँडेको छु।
देश नछोड भनेन सरकारले,
प्रदेश नजाने अवस्था बनाएन सरकारले
मलाई नागरिकता बनाउन समय लाग्यो
मलाई राहधानी बनाउन समय लागेन!
मैले मेरो देश छोड्न सरकारलाई खर्चपान बुजाएको छु
मैले मेरो देश छोडिसकेपछि सरकारलाई खर्चपान पठाएको छु!
मजदुरको हिसाब किताब कहिले मिलेन यता
महसुलको हिसाब किताब मिलाउन अब म उतै जान्छु
मेरो व्यवस्थाको हिसाब किताब मिलाउनै बाँकी छ
अहिले म व्यापारको हिसाब किताब मिलाउन हिँडेको छु।