बुधबार, ४ असार, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट राकममा स्याटेलाइट अस्पताल बनाउने निर्णय पारित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले अस्पतालको विकासका लागि स्थानीय तहसँग सहकार्य गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको आठबीसकोट नगरपालिका, राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालन गर्ने योजना अघि सारेको छ। प्रतिष्ठान सभाको ११ औँ बैठकले यो प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो।

यो निर्णयले विगतमा सो क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पताललाई थप सुविधासम्पन्न बनाउने नेपाल सरकारको मन्त्रिपरिषद्को पुरानो योजनालाई मूर्त रूप दिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले अस्पतालको विकासका लागि स्थानीय तहसँग सहकार्य गरी तीव्र गतिमा काम गर्न निर्देशन दिए।

उनले प्रतिष्ठान सरकारको पूर्ण लगानीमा स्थापित भएको उल्लेख गर्दै अस्पतालको स्तरोन्नतिपछि स्थानीय जनताको स्वास्थ्य सेवामा सहजता ल्याउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र स्रोत व्यवस्थापन गर्न प्रतिष्ठानले नेपाल सरकारसँगै अन्य सम्बद्ध पक्षसँग समन्वय गर्ने भएको छ।

बैठकले चालु आर्थिक वर्षको बाँकी बजेट र आगामी वर्षको प्रस्तावित कार्यक्रमसहितको बजेट पारित गरेको छ। साथै, गत वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो भने रिक्त सभा सदस्यहरूको मनोनयन पनि सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा र प्रतिष्ठानका उपकुलपति डा मंगल रावललगायतको उपस्थितिमा बसेको यो बैठकले कर्णाली क्षेत्रको स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार