स्थानीय बासिन्दाको रोहबरमा वन कार्यालयका कर्मचारीले चरी बाघको उद्धार गरेका छन्। उद्धार गरिएको बाघलाई उपचारका लागि जिल्ला वन कार्यालयमा ल्याइएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–६, रिठेगैडा नजिकै एक स्थानीय बासिन्दाको घरभित्र चरी बाघ भेटिएको छ। मंगलबार बिहान साढे १० बजेको आसपासमा बखत बहादुर कठायतको घरको तल्लो तलामा रहेको हाँस राख्ने खोरभित्र यो दुर्लभ जनावर फेला परेको हो।
स्थानीय अनुराधा विष्टका अनुसार बिहान आँगनमा बाघजस्तो जनावर देखेपछि डरले उनले खोरमा पस्न दिएको र त्यसपछि ढोका बन्द गरेर छिमेकीलाई खबर गरेकी थिइन्।
स्थानीयले तत्काल प्रशासन र वन कार्यालयमा सूचना दिएपछि घटनास्थलमा पुगेका डिभिजन वन कार्यालय जुम्लाका कर्मचारीले उक्त जनावर चरी बाघ भएको पुष्टि गरे।
वन अधिकृत बिस्मिता अर्यालले घाइते अवस्थामा रहेको यो चरी बाघ बिछट्टिएर गाउँमा पसेको हुन सक्ने अनुमान गरेकी छन्। उनका अनुसार चरी बाघ सामान्यतया जंगलमा बस्ने सानो आकारको बिरालो प्रजातिको जंगली जनावर हो, जुन मानव बस्तीमा कमै देखिन्छ।
स्थानीय बासिन्दाको रोहबरमा वन कार्यालयका कर्मचारीले चरी बाघको उद्धार गरेका छन्। उद्धार गरिएको बाघलाई उपचारका लागि जिल्ला वन कार्यालयमा ल्याइएको छ।
“यो घाइते चरी बाघको उपचार गरेर स्वस्थ भएपछि यसलाई प्राकृतिक बासस्थानमा छोड्ने योजना छ,” वन अधिकृत अर्यालले बताइन्।
यस घटनाले स्थानीय बासिन्दामा कौतुहलता र डर दुवै सिर्जना गरेको छ। चरी बाघजस्तो जंगली जनावर गाउँमा प्रवेश गर्नुले वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्वको विषयमा थप सचेतना आवश्यक रहेको कुरा पनि उजागर भएको छ।
वन कार्यालयले स्थानीयलाई यस्ता अवस्थामा तुरुन्त खबर गर्न र आफैं जोखिम नमोल्न आग्रह गरेको छ।