बुधबार, ४ असार, २०८२

उपत्यकामै मीटरब्याजीहरूको बिगबिगी, पर्दाभित्रबाट नेताको निर्देशन, कार्यकर्ताले जनता ठग्दै!

मीटरब्याजमा पैसा लगानी गर्नेमा सुन व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायी, उद्योगी, अन्य व्यवसायी र टोले गुण्डाहरू छन्। ऋण लिनेमा भने साना व्यापारी, घरजग्गा, गाडी वा सेयरमा लगानी डुबेकाहरू छन्।

मुलुकको राजधानीमा नै मीटरब्याजीहरूको प्रभाव बढ्दो छ। काठमाडौं उपत्यकामा पछिल्लो समय मीटरब्याजमा पैसा लिने–दिने क्रम तीव्र बनेको छ। यहाँ एक लाखको ऋणमा मासिक ३० हजार रुपैयाँसम्म ब्याज तिरेर मानिसहरूले पैसा लिइरहेका छन्। उपत्यका भनेको शिक्षित व्यक्तिहरूको बाहुल्य भएको क्षेत्र हो, कुनै दुर्गम जिल्ला होइन।

तर विडम्बना, यहाँ शिक्षित व्यक्तिहरूबाटै मीटरब्याजमा पैसा लेनदेन भइरहेको छ। पाँच लाख दुई महिनाका लागि दिँदा ब्याजसहित आठ लाखको चेक लिइन्छ। कोहीले करोडौं पर्ने घरजग्गा धितो राखेर २०–२५ लाख रुपैयाँ लिन्छन्। ऋण चुक्ता गर्न तीनदेखि बढीमा छ महिनाको समय दिइन्छ। यो अवधिमा तिर्न नसके करोडौंको घरजग्गा नै हडपिन्छन्।

मीटरब्याजमा पैसा लगानी गर्नेमा सुन व्यापारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायी, उद्योगी, अन्य व्यवसायी र टोले गुण्डाहरू छन्। ऋण लिनेमा भने साना व्यापारी, घरजग्गा, गाडी वा सेयरमा लगानी डुबेकाहरू छन्। कतिपयले छोराछोरी विदेश पठाउन वा उपचारका लागि पनि मीटरब्याजमा पैसा लिन्छन्।

मीटरब्याजमा पैसा लिँदा धेरैले सोच्छन्, “समय छँदै तिरिहाल्छु नि!” तर, दिनदिनै बढ्ने ब्याजदर र घट्दो आम्दानीले समयमै चुक्ता गर्न सक्तैनन्। फलस्वरूप, धितो गुम्छ र जेल पनि पर्छ। मीटरब्याजमा पैसा लिनेले फिर्ता गर्दा प्रायः चेक दिन्छन्। एक–दुई महिनापछिको चेक दिए पनि खातामा पैसा नहुँदा के गर्नु? धेरैलाई थाहा छैन कि तीनपटक चेक बाउन्स भए बैंकिङ कसुरमा मुद्दा चल्छ। यो अज्ञानताकै कारण उनीहरूले खातामा पैसा नभए पनि साहूलाई झुक्याउन चेक दिन्छन्। पटक–पटक चेक बाउन्स भएपछि बैंकिङ कसुरको मुद्दा दर्ता हुन्छ।

मीटरब्याजीहरूले चिनजान नभएकालाई पनि सजिलै पैसा दिन्छन्। उनीहरूलाई पैसा लगानी गर्नुपर्छ, कसलाई र कहाँ भन्ने सोच्दैनन्। ब्याजको चिन्तामात्र हुन्छ। आफूले तोकेको ब्याज दिन्छु भन्नेले जति मागे पनि तुरुन्तै पैसा पाउँछ।

सरकार भन्छ, “घरजग्गा कारोबार बढ्यो।” तर किन र कसरी बढ्यो, सरकारलाई थाहा छैन। बजारमा घरजग्गाको किनबेच छैन। तब कसरी बढिरहेको छ? यसको पछाडि पनि मीटरब्याज छ। मीटरब्याजमा लेनदेन गर्दा ऋणीको धितो (घरजग्गा) सुरुमै मीटरब्याजीको नाममा नामसारी गरिन्छ। यसले कारोबार बढेको देखिन्छ। वास्तवमा किनबेच होइन, मीटरब्याजीको नाममा नामसारी बढेको हो। सर्वसाधारण भने सुकुम्बासी बन्दै छन्। यस्तोमा घरजग्गा कारोबार बढ्छ भन्ने कल्पनासमेत गर्न सकिँदैन। घरजग्गामात्र होइन, गाडी र सेयर पनि मीटरब्याजीको नाममा धमाधम नामसारी भइरहेको छ।

गरिब जनताको सम्पत्तिमाथि मीटरब्याजीहरूको रजाइँ फेरि सुरु भएको छ। रोचक कुरा, राजधानी र शिक्षितहरूको बस्ती भएको उपत्यकामै यो भइरहँदा सरकार मुकदर्शक छ। बैंकहरू भन्छन्, “कर्जा प्रवाह भएन।” बैंकबाट ऋण लिन अनेक झन्झट हुन्छ। बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारीले आफ्नालाई मात्र कर्जा दिन्छन्, त्यो पनि घुस लिएर। करोडौंको घरजग्गा धितो राख्दा ५० लाख ऋण दिन्छन्, जसमा १० लाख घुस खान्छन्। तीन प्रतिशतसम्म सेवा शुल्क र १२ देखि ८० प्रतिशतसम्म ब्याज लिन्छन्। ऋणीले तीन किस्ता नतिर्दा करोडौंको धितो ४० लाखमा हडप्छन्। ऋणीको तीन पुस्ते कालोसूचीमा पर्छ। मीटरब्याजमा चर्को ब्याज भए पनि कालोसूचीको डर हुँदैन। त्यसैले मानिसहरू मीटरब्याजतिर आकर्षित छन्।

यहाँ मीटरब्याजी होस् वा बैंक र वित्तीय संस्था, सबै ठग र चोर हुन्। सबैको नजर जनताको धितोमा छ। जनतालाई सुकुम्बासी बनाउन उनीहरू लागिपरेका छन्। शहरमा यस्तो आतंक छ भने गाउँमा के होला? त्यहाँ कति जनता ठगिएका होलान्? मीटरब्याजमा पैसा लगानी गर्ने सबै राजनीतिक दलका कार्यकर्ता हुन्। बैंक, वित्तीय संस्था खोल्ने र गुण्डागर्दी गर्ने पनि तिनै हुन्। दलहरूको दोहोरो चरित्र छ— बाहिर मीटरब्याजीलाई कारबाही गर्ने ठोकुवा गर्छन्, भित्र आफ्ना कार्यकर्तालाई लुट्न उक्साउँछन्।

गणतन्त्रका नेताहरूले जनतालाई भ्रमित पारेर ठगेका छन्। एक सयको सामान पाँच सयमा बेच्ने व्यापारी, घरजग्गा, गाडी, सेयरको दलाली गर्ने, कन्सल्टेन्सी, म्यानपावर र क्रसर उद्योग चलाउने सबै तिनकै कार्यकर्ता हुन्। त्यो ठगीको पैसा पार्टीलाई चन्दा बन्छ। नेताहरू पर्दाभित्र बसेर निर्देशन दिन्छन्, कार्यकर्ताले जनता ठग्छन्। हामी सोझा जनता भने यिनका झूटा भाषणमा विश्वास गर्छौं। अब जनताले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, सीके राउटहरूलाई समात्नुपर्छ। यिनीहरूलाई देशबाटै लखेट्नुपर्ने बेला आएको छ।

यिनीहरूले जनताको रगत–पसिना चुसेका छन्। जनताको दुःखको कमाइ र करमा यिनको मोजमस्ती चलेको छ। त्यसैले अब जनताले विरोधमा उत्रिन ढिला गर्नुहुन्न। मीटरब्याज र लघुवित्त पीडितहरू न्याय माग्दै महिनौँ हिँडेर काठमाडौं आए। सरकारले पटक–पटक आश्वासन दिएर फर्कायो। तर दुःखको कुरा, उनीहरूले अझै न्याय पाएका छैनन्। कसरी पाउन् र? मीटरब्याजीहरू त दलकै कार्यकर्ता छन्। नेताहरूलाई सरकारी–सार्वजनिक जग्गा देख्नै नहुने, कार्यकर्तालाई जनताको सम्पत्ति देख्नै नहुने।

गगन थापा र महेश बस्नेत भन्छन्, “देशभरका सरकारी–सार्वजनिक जग्गा व्यक्तिको नाममा गयो।” तर कसले व्यक्तिको नाममा लग्यो, त्यो भनिदिँदैनन्। यहाँ ‘जो चोर, उसैको ठूलो स्वर’ भनेजस्तै छ। सबैभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा लैजाने यिनै थापा र बस्नेत हुन् भन्छन् जनता। तैपनि उनीहरू जनतालाई भ्रममा पार्न खोज्छन्। नेताहरूबाटै सरकारी सम्पत्ति जोगाउन मुस्किल छ। यिनका कार्यकर्ताले सोझा जनतालाई सुकुम्बासी बनाउँदै छन्। देश सिध्याउने र जनता ठग्ने अरू कोही होइन, दल, नेता र कार्यकर्ता नै हुन्।

त्यसैले अब जनता सचेत बनौँ। मीटरब्याज होस् वा बैंक र वित्तीय संस्था, कतैबाट ऋण नलिऔँ। किनभने त्यो ऋणले आफूमात्र होइन, परिवारै सिध्याउन सक्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार