कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी विभिन्न तथ्याङ्क, समुदायमा देखिएका प्रमुख स्वास्थ्य चुनौतीहरू, तिनको न्यूनीकरणका उपायहरू तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी योजनाहरू प्रस्तुत गरेका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूद्वारा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत आठबीस नगरपालिका–२ मा सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।
आठबीस नगरपालिका वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख तर्क बहादुर बडुवाल, प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर साही, वडा अध्यक्ष मान बहादुर शाही, कार्यपालिका सदस्य तारा बिक, क्रान्ति प्रसाद रिजाल, राधिका आचार्य, स्वास्थ्य शाखा प्रमुख देवराज तिमल्सिना, जनस्वास्थ्य अधिकृत प्रकाश भट्ट, जनस्वास्थ्य निरीक्षक राजकुमार ढकाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्य चौकीका प्रमुख, सहकारी तथा विद्यालयका प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्थानीय अगुवा तथा करिब २०० देखि २५० जना स्थानीयबासीको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी विभिन्न तथ्याङ्क, समुदायमा देखिएका प्रमुख स्वास्थ्य चुनौतीहरू, तिनको न्यूनीकरणका उपायहरू तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी योजनाहरू प्रस्तुत गरेका थिए। समुदायमा जनस्वास्थ्य सेवाहरूलाई प्रभावकारी बनाउन विद्यार्थीहरूले अनुसन्धानका आधारमा तयार पारेका सुझावहरू प्रस्तुत गरिएको जनाइएको छ।
सामुदायिक प्रस्तुतीकरण कार्यक्रममा सहभागिता जनाउँदै नगर प्रमुख बडुवालले यस्ता कार्यक्रमहरू समुदायमा स्वास्थ्य चेतना वृद्धिका लागि प्रभावकारी हुने भन्दै निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे। स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका तथ्यहरू स्थानीय तहका नीति निर्माणमा उपयोगी हुने बताउँदै अनुसन्धानमैत्री स्वास्थ्य सेवा प्रणाली आवश्यक रहेको उल्लेख गरे।