शुक्रबार, १८ बैशाख, २०८३

जुम्ला बहुमुखी क्याम्पस परिसरमा सरसफाइ

कार्यक्रममा सहभागीहरूले क्याम्पस परिसरका कक्षा कोठा, हल, बगैंचा र बाहिरी सडक क्षेत्रमा थुप्रिएको फोहर संकलन गरी व्यवस्थापन गरेका थिए।

जुम्लाको चन्दननाथ नगरपालिका–२ को टोल सुधार समिति र जुम्ला बहुमुखी क्याम्पसको संयुक्त अगुवाइमा क्याम्पस परिसरमा वृहत सरसफाइ अभियान सम्पन्न भएको छ।

क्याम्पस हाताभित्र र बाहिर मानव चोकसम्म फैलिएको फोहरमैला सफा गर्न आयोजित यो कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

टोल सुधार समितिको पहलमा आयोजित यो अभियानले क्याम्पस वरपरको वातावरण स्वच्छ राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा सहभागीहरूले क्याम्पस परिसरका कक्षा कोठा, हल, बगैंचा र बाहिरी सडक क्षेत्रमा थुप्रिएको फोहर संकलन गरी व्यवस्थापन गरेका थिए। स्थानीय समुदाय र शैक्षिक संस्थाबीचको सहकार्यको यो एउटा उत्कृष्ट उदाहरण बनेको छ।

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले सरसफाइको महत्त्वमाथि जोड दिँदै भने, “क्याम्पस केवल पढाइको थलो मात्र होइन, यहाँको वातावरणले विद्यार्थीको स्वास्थ्य र मनोबलमा पनि प्रभाव पार्छ। स्वच्छ वातावरणले पठनपाठनमा सकारात्मक ऊर्जा थप्छ, त्यसैले यो अभियान हाम्रा लागि अनिवार्य थियो।”

उनले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको समेत बताए।

यस्तै, स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले यो अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना जागृत गरेको बताए। “हामीले पढ्ने ठाउँलाई सफा राख्नु हाम्रो कर्तव्य हो। यो कार्यक्रमले हामीलाई टिमवर्क र वातावरण संरक्षणको महत्त्व बुझायो,” उनले भने।

बुढाले आगामी दिनमा यस्ता रचनात्मक कार्यमा विद्यार्थीको सहभागिता अझ बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा टोल सुधार समितिका प्रतिनिधिहरूले पनि स्थानीय समुदायको सक्रियताले क्याम्पसको सौन्दर्य र स्वच्छता कायम गर्न सहयोग पुगेको बताए।

यो अभियानले जुम्लाको शैक्षिक वातावरण सुधार्न र स्थानीयस्तरमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार