मंगलवार, ३ असार, २०८२

जुम्ला बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको तयारी पूरा, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ। फागुन १९ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रियाले मत गणनापछि पूर्णता पाउनेछ।

जुम्ला बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको सम्पूर्ण तयारी सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैसाथ निर्वाचन हुन लागेको हो।

निर्वाचन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन अधिकृत पदम बहादुर शाहीले विश्वविद्यालयले जारी गरेको निर्देशिका अनुसार सबै प्रक्रिया पूरा भएको जानकारी दिए।

उनका अनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ। फागुन १९ गतेदेखि सुरु भएको निर्वाचन प्रक्रियाले मत गणनापछि पूर्णता पाउनेछ।

क्याम्पसले निकालेको अन्तिम नावामली अनुसार कुल ५८७ विद्यार्थी मतदाता भएपनि मताअधिकार ३३४ जनाले मात्रै प्राप्त गरेका छन्।

निर्वाचनमा पाँच विद्यार्थी संगठनले भाग लिएका छन्, जसमा अनेरास्ववियू, अनेरास्ववियू (समाजवादी), नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र नेपाल क्रान्तिकारी विद्यार्थी संगठन समावेश रहेको निर्वाचन समितिका सदस्य सचिव पदम बहादुर शाहीले बताए।

कूल ८ पदका लागि २७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष पदमा ४ जना, सचिवमा ५ जना, कोषाध्यक्षमा ३ जना र ५ सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।

क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्रीले शान्त र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्ध बलियो बनाइएको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार