मंगलवार, ३ असार, २०८२

चिहानको जग्गासमेत नछोड्ने नेताहरू लोकतन्त्र र गणतन्त्रको वकालत गर्दै, जनतालाई भ्रमित बनाउँदै !

केपी, प्रचण्ड, विप्लव, बाबुराम, देउवा, गगन, वैद्य, माधवकुमारहरू त ‘लुटेरा’ हुन्। मर्ने बेलामा जनताको छोराछोरी मरे, मोजमस्ती यिनीहरूले गरिरहेका छन्।

‘जो चोर, उसकै ठूलो स्वर’ भन्ने नेपाली उखान पछिल्लो समय सदनमा देखिन थालेको छ। सदन देश र जनताको आवाज उठाउने थलो हो। सांसदले देश र जनताको हकहितका निम्ति सदनमा आवाज उठाउनुपर्छ। जुनसुकै दलका सांसदले कुरा उठाए पनि सरकारले सुन्नैपर्छ। सभामुखले त्यसलाई लबिङ गरिदिनुपर्छ। तर, सभामुख दलका नेताको भूमिका निर्वाह गर्छन्।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदले सदनमा एउटा महत्वपूर्ण विषय उठाए। शिक्षामन्त्री समेत रहिसकेकी सुमना श्रेष्ठ र शिशिर खनालले काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको चिहानको जग्गा नेपाली कांग्रेसका सांसदले कब्जा गरेको कुरा सदनमा राखेका थिए।

रास्वपाका सांसदले सो कुरा उठाउनेबित्तिकै कांग्रेसका सांसदहरू कुर्सीबाट उठे। अनि जुहारी खेल्नतर्फ लागे। देशभरका तालपोखरी, सरकारी र सार्वजनिक जग्गा, गुठीको जग्गा, आर्यघाट, जंगल मासेर खाने कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी हुन्।

रास्वपा त नयाँ आएको पार्टी हो। जनताले नै यी पार्टीले सरकारी सम्पत्ति कब्जा गरेको आरोप लगाउँदै आएका छन्। आफ्ना कार्यकर्ता पोस्न यी पार्टीले कहीँकतैको जग्गा छोडेनन्। यतिसम्म कि, आर्यघाटको जग्गा पनि व्यक्तिको नाममा लगेर भोगचलन गरेका छन्।

नेताहरूलाई कतै सरकारी सम्पत्ति देख्नै नहुने भयो। देख्यो कि व्यक्तिको नाममा लग्यो, अनि भोगचलन गर्‍यो। चीन र भारतलाई नेपालको जग्गा बेचेर खाने पनि यी नेता हुन्। यो कुरा जनताले राम्ररी बुझेका छन्। सरकारी जग्गा खानेमाथि छानबिन र कारबाही हुनुपर्छ। जनताको आवाज उठाउने थलो नै हो, सदन। सरकारी जग्गा मिचेको छ भने सदनमा कुरा उठाउन नपाउनु?

तर, कांग्रेसका सांसदले जुरुक्क उठेर विरोध गरिहाले। ‘चोरको खुट्टा काट् भन्दा चोरले हत्तपत्त खुट्टा उठाउँछ’, त्यस्तै दृश्य देखियो सदनमा। राष्ट्रियभन्दा ठूलो पार्टी हो? सरकारी सम्पत्ति मिचिराखेको छ, अनि सो कुरा राख्दा बुरुकबुरुक उफ्रिने? सदन लोकदोहोरी खेल्ने ठाउँ हो र?

उनीहरूले चिहानको जग्गा मिचेकोजस्तो गम्भीर कुरा उठाएपछि छानबिन गर्न पहल गर्ने कि उफ्रिने? देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसले त झन् छानबिनका लागि आवाज उठाउनुपर्थ्यो। विडम्बना, बसमा सहचालक बस्ने हैसियत नभएकाहरू सदनमा पुगे। गल्ती फेरि जनताकै हो।

भूमाफिया, दलाल, मसानघाटको जग्गासमेत नछोड्नेलाई छानेर पठाएपछि यस्तो दुर्दशा देखिरहनुपर्छ। नेताहरूले केही नै बाँकी छोडेनन्। मठमन्दिर पनि खाएका छन्, ढुंगेधारा पुरेर व्यक्तिको नाममा लगेका छन्। राजनीतिक दलका नेताहरू भ्रष्टाचारी हुँदा, आफन्त पोस्दा, सरकारी सम्पत्ति केही बाँकी नछोड्दा आज व्यवस्था संकटमा परेको छ।

जनता लोकतन्त्र गणतन्त्र चाँहिँदैन, राजतन्त्र फिर्ता ल्याउन भनेर सडकमा आइसकेका छन्। देशमा लोकतन्त्र गणतन्त्र केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, गगन थापा, नेत्रविक्रम चन्द, मोहन वैद्यले ल्याएका होइनन्।

जनताका छोराछोरी मरेर आएको व्यवस्था हो यो। देशमा भ्रष्टाचार, असमानता, गरिबी, विभेद बढेपछि जनताका छोराछोरी सडकमा ओइरिए। मान्छे मर्ने क्रम बढेपछि राजाले सत्ता छोडिदिएको हो। जो १७ हजार मरे, जो आज पनि छातीमा गोली बोकेर हिँडेका छन्, उनीहरूको योगदानले यो व्यवस्था प्राप्त भएको हो।

केपी, प्रचण्ड, विप्लव, बाबुराम, देउवा, गगन, वैद्य, माधवकुमारहरू त ‘लुटेरा’ हुन्। मर्ने बेलामा जनताको छोराछोरी मरे, मोजमस्ती यिनीहरूले गरिरहेका छन्। आज देशमा राजतन्त्रको आवाज उठिरहेको छ, किन? यिनीहरूकै कारणले होइन? यिनीहरूले राम्रो काम गरेको भए, भ्रष्टाचार नगरेको भए, त्यत्रो जनता शहीद भएर ल्याएको व्यवस्था संकटमा पर्थ्यो?

जनतालाई भ्रमित बनाउन खोज्ने पनि एउटा हद हुन्छ। आफ्नो कारणले व्यवस्था जोखिममा परेको छ अनि राजालाई दोष लगाएर के फाइदा? जनताले त देशमा परिवर्तन हुन्छ भनेर छातीमा गोली खाएका थिए। तर, यस्ता ‘घटिया’ नेताका कारण जनताको योगदान ‘बालुवामा पानी’ भएको छ।

पुरानै व्यवस्था फर्किने अवस्था बनेको छ। नेताहरू कस्ता हुन्छन्? देशका कथित नेताहरूले बुझेनन्। एक रोपनीदेखि १५ रोपनीसम्ममा महलजस्तो घर ठड्याएका छन्। तीन करोडको त घडी बाँध्छन्। ४५ लाखको चश्मा लगाउने पनि यिनीहरू नै हुन्। दिनको ७० हजारको पानी खाने, लाखौंको कोट र जुत्ता लगाउने पनि यिनीहरू नै हुन्।

शहीद भएकाको परिवारले के पाए? उनीहरूलाई बिहानबेलुका खान पनि धौधौ परेको छ। छातीमा गोली लागेकाहरू उपचार नपाएर तड्पिएका छन्। यी ‘दलाल’ हरूले उनीहरूलाई फर्किएर पनि हेरेनन्। जनताले सुख पाउँछन्, देश विकास हुन्छ, देशमा समानता हुन्छ, राजाको निरंकुशताको अन्त्य हुन्छ भनेर जनताका छोराछोरीले गोली थापेका हुन्।

विडम्बना, नेताहरूले त्यसरी ल्याएको व्यवस्थामा आफ्नो फाइदा मात्र हेरे। अहिले तिनीहरू नै लोकतन्त्र गणतन्त्र खतरामा पर्‍यो भन्दै हिँडिरहेका छन्। हिजो लोकतन्त्र गणतन्त्रका लागि लडेका जनतालाई लोकतन्त्र गणतन्त्रको बचाउमा उतारेर गोली खुवाउने सुरमा छन्, नेताहरू। जनतालाई यिनीहरूले भेडा सोचेका छन्।

तर, जनताले धेरै बुझिसकेका छन्। यिनीहरूका लागि अब न जनता उत्रिन्छन् न साथ दिन्छन्। एउटा राजा फालेकोमा देशमा सयौं राजा जन्मिए। जसले निरन्तर जनतामाथि शासन गरेका छन्। जनताको अवस्था के छ? नेताहरूलाई कहिल्यै बुझ्न चाहेनन्। जनतालाई भोको राखेर यिनीहरूले मोज गरे।

आफ्नो दायित्वको समेत ख्याल गरेनन्। यिनीहरूको दमन बढ्दै गयो। जनताले कतिन्जेलसम्म सहने? महँगी बढेको छ। बेरोजगारीले जनतालाई शिथिल बनाएको छ। मासिक हजारौं विदेशमा बेचिएका छन्। जनताको घरमा चुलो बाल्न धौधौ छ। देश विदेशी ऋणको दलदलमा फसेको छ।

बैंक तथा वित्तीय संस्थाले जनतालाई घरबारविहीन बनाएको छ। जनताले तिरेको कर, विदेशबाट आएको रेमिट्यान्स यी नेता नामका ‘दलाल’ हरूको सेवासुविधामै सकिएको छ। आफूले के गरे, उनीहरूले अहिलेसम्म विचार गरेका छैनन्। उल्टै चैत १५ गते आन्दोलन गर्ने भन्छन्।

यिनीहरूको आन्दोलनमा जनता आउँछन्? आउँदैनन्। किनभने जनतालाई अब पुगिसक्यो। यिनीहरूको नाम सुन्दासमेत जनतामा आगो बल्छ। अब पनि जनतालाई सडकमा ओर्लाउँछौं अनि उनीहरूलाई कुटाइ खुवाएर आफू जोगिन्छौं भन्ने यिनीहरूको दाउ हो। सदन चलेको माघ १८ गतेदेखि हो।

तर, अहिलेसम्म कति ऐनकानुन बने? कसले देश र जनताको आवाज उठायो? जनतासँग डराएर सरकारले काठमाडौं र ललितपुरका भिआइपी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। काम गर्न सकेको भए जनतासँग डराउनुपर्थ्यो? भन्छ जनताको सरकार, गर्छ जनतामाथि शासन।

हामीले तिरेको कर कहाँ गयो? हाम्रा छोराछोरीले विदेशमा गएर पठाएको रेमिट्यान्स खोई? नेपालको भूभाग भारत र चीनलाई बेचेको पैसा खोई? देश धितो राखेर ल्याएको अर्बौं रुपैयाँ कहाँ छ? सरकारी सम्पत्ति बेचेको पैसा कहाँ छ? जनताले सोध्दैनन्। जनताले पहिलेदेखि खबरदारी गरेको भए, सायद आज यो दिन देख्नुपर्थेन होला।

जनता पनि पार्टीको झोले भइदिए। व्यक्तिगत फाइदा लिन पाइन्छ कि भनेर पार्टीको पछाडि दौडिए। जसको परिणाम, आज नेपाल नै नरहने अवस्था बन्यो। अहिले पनि जनतालाई झुक्याउने काम भइरहेको छ। प्रचण्ड अहिले टिमसहित केराको पातमा भात खान जनताको घरमा पुग्छन्।

मिडियाले उनको तस्बिर खिचेर हाल्छ। तर, उनको कोट र घडीको मूल्य कति छ? यो खोजौं। जनयुद्धका नेता यस्ता हुन्छन्? पहिलेभन्दा अहिले धेरै शोषक, सामन्ती भए। एउटा राजा फालेको, हजारौं उम्रिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार