बुधबार, २१ माघ, २०८२

संसदमा राजतन्त्रको इतिहासमाथि तर्क-वितर्क: पन्त र शाहीबीच तनावपूर्ण बहस

जुम्लामा हाहु गरेजस्तो होइन, इतिहास पढेर आउनुस्, म तथ्यसहित सावित गर्छु,” पन्तले भने। जवाफमा शाहीले “जे पायो त्यही बोल्न पाइन्छ?” भन्दै प्रतिवाद गरे। पन्तले भने, “के बोल्न पाइन्छ, मलाई थाहा छ।”

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूबीच राजतन्त्रको इतिहासलाई लिएर तनावपूर्ण सवाल-जवाफ भएको छ।

एमाले सांसद रघुजी पन्तले राजाहरूको इतिहास कोट्याउँदै तथ्य प्रस्तुत गरिरहँदा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाएपछि बहस चर्किएको हो।

पन्तले आफ्नो सम्बोधनमा रणबहादुर शाहदेखि त्रिभुवनसम्मका घटनाहरूलाई जोड्दै राजतन्त्रको आलोचना गरे।

उनले रणबहादुर शाहको पालामा दरबारभित्रको जेठी-कान्छी रानीको लडाइँले भीमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्तहरूको हत्या भएको, राजेन्द्रविक्रम शाहको समयमा कोतपर्व भएको र त्रैलोक्यविक्रमलाई विष खुवाइएको दाबी गरे।

त्यस्तै, उनले राजा त्रिभुवनले कलकत्ताका क्लबहरूमा “रसरंग” मच्चाएको र भारतीय पत्रिकासहित तत्कालीन प्रधानमन्त्रीले समेत टिप्पणी गरेको उल्लेख गरे। “त्रिभुवनले ल्याएको लोकतन्त्र उनका छोराले खोसे,” पन्तले भने।

यही क्रममा शाहीले नियमापत्ति जनाउँदै बीचैमा रोक लगाउन खोजे। तर, पन्तले उनलाई “डिस्टर्ब नगर्न” आग्रह गर्दै इतिहास पढेर बहस गर्न चुनौती दिए।

“जुम्लामा हाहु गरेजस्तो होइन, इतिहास पढेर आउनुस्, म तथ्यसहित सावित गर्छु,” पन्तले भने। जवाफमा शाहीले “जे पायो त्यही बोल्न पाइन्छ?” भन्दै प्रतिवाद गरे। पन्तले भने, “के बोल्न पाइन्छ, मलाई थाहा छ।”

शाहीले प्रमाण माग्दा पन्तले फेरि “इतिहास पढेर आउनुस्, मसँग बहस गर्नुस्” भन्दै चुनौती दोहोर्‍याए। यो बहसले संसद्को माहोल तनावग्रस्त बन्यो।

सभामुख देवराज घिमिरेले हस्तक्षेप गर्दै तथ्य र तर्कमा आधारित अभिव्यक्ति दिन र असहमति भए व्यवस्थाअनुसार खण्डन गर्न आग्रह गरे। उनले सांसदहरूले गरिमा कायम राख्नुपर्ने बताउँदै पन्तको काटिएको समय थप हुने जानकारी दिए।

“मेरो १०-१२ मिनेट काटियो, थप होस्,” पन्तले भने। यो घटनाले संसद्मा इतिहास र तथ्यलाई लिएर राजनीतिक दलहरूबीच गहिरो मतभेद रहेको देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार