सम्मेलनमा अन्तर्राष्ट्रिय परिवेश, दलित पहिचान, सामाजिक विभेद, राज्य सत्ताको चरित्र, समाजवाद, र दलित मुक्तिको दर्शनजस्ता विषयमा छलफल हुनेछ।
प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले दलित समुदायको एकताका लागि यो सम्मेलन आयोजना गरिएको बताएका छन्। शनिबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दलितहरू एकजुट नहुँदा मुक्ति सम्भव नभएको बताए।
“हामी सबै पीडामा छौँ, यसको मलम लगाउन दलितका सवालमा एक ठाउँमा उभिन जरुरी छ,” उनले भने। उनले यो सम्मेलनले नेपालको दलित आन्दोलनमा नयाँ कोर्स सुरु गर्ने र समुदायलाई सत्ता–शक्ति आर्जनको माध्यम बन्ने विश्वास व्यक्त गरे। “दलितहरू अरूलाई सत्तामा पुर्याउने भर्याङ बनेका छन्, अब हामीलाई सत्ता चाहिन्छ,” उनले थपे।
कार्यक्रममा साहित्यकार सरोज दिलु विश्वकर्माले समुदायका आवाज समेटेर सम्मेलनको एजेन्डा तय गरिने बताए। राजनीतिक दल, मन्त्री, सांसद र बुद्धिजीवीहरूसँग छलफल गरेर सबैको सहयोग जुटाइने उनको भनाइ छ।
सम्मेलनका प्रवक्ता अग्नि शीखाले यो अभियान सुदूरपश्चिमको धनगढीबाट सुरु भएको र चैत ३ मा कर्णालीको सुर्खेत, ४ मा लुम्बिनीको नेपालगञ्जमा अन्तरक्रिया हुने जानकारी दिए। वैशाखमा काठमाडौंमा मुख्य सम्मेलन आयोजना गरी साझा एजेन्डा बनाइने उनले बताए।
देशभरका दलित अभियन्ताहरूको संयुक्त बैठकले यो सम्मेलनको निर्णय गरेको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय परिवेश, दलित पहिचान, सामाजिक विभेद, राज्य सत्ताको चरित्र, समाजवाद, र दलित मुक्तिको दर्शनजस्ता विषयमा छलफल हुनेछ। “दलित शब्द राख्ने कि नराख्ने?” जस्ता मुद्दामा पनि बहस गरिने छ।
कार्यक्रममा मिसन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडी, दलित अभियानका संयोजक सुरत भूललगायतले समुदायका समस्या र समाधानका उपाय प्रस्तुत गरे।
कैलास आउजीको सभापतित्वमा सम्पन्न यो अन्तरक्रियाले सुरत भूलको नेतृत्वमा सुदूरपश्चिम समन्वय समिति गठन गरेको छ। यो सम्मेलनले दलित समुदायको ऐतिहासिक पीडा अन्त्य गर्ने लक्ष्य राखेको छ।
















