अछामको मंगलसेन नगरपालिका-८ सुतुडामा माटोको ढिस्कोले पुरिँदा दुई जना महिलाको ज्यान गएको छ।
चैतेदसैंका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका एकै घरका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वडा नम्बर-९ पान्लिभिडमा माटो खन्ने क्रममा ढिस्को खसेर उनीहरू दिउँसो पुरिएका थिए।
घटनाको विस्तृत जानकारी लिन प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थल पुगेको डीएसपी भण्डारीले बताए।