राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको निर्णयलाई स्वीकार गर्दै जरिवानाको १ लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको खातामा जम्मा गरिसकेको जानकारी दिएका छन्।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सार्वजनिक सम्पत्तिको क्षति र वातावरण प्रदूषण गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरेको थियो।
महानगरले फागुन २५ गते राप्रपाको पार्टी कार्यालयबाट आयोजित एउटा कार्यक्रमका क्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका क्षेत्रमा सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँका बिरुवा तथा रेलिङमा क्षति पुर्याएको ठहर गरेको हो।
महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम उक्त जरिवाना गरेको पत्रमा उल्लेख गरेको छ।
यसैबीच, राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको निर्णयलाई स्वीकार गर्दै जरिवानाको १ लाख रुपैयाँ काठमाडौं महानगरपालिकाको खातामा जम्मा गरिसकेको जानकारी दिएका छन्।
उनले भने, “हामी सुशासन र विधिको शासन मान्छौं। राजाको स्वागतमा आएका लाखौं आमाबुवा, दाजुभाइ, बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिएको हुन सक्छ। महानगरको निर्णय हामीले स्वीकार गरेका छौं र रकम दाखिला गरिसकेका छौं।”