आज पनि विशवविद्यालयबाट निस्केको एक जना पुरुष शरीर र महिला शरीरमा दुई भिन्न प्रवृत्ति भेटिन्छ एउटामा नचाहिँदो दम्भ र अर्कोमा नचाहिँदो भद्रता। आज पनि पुरुषको अर्धनग्नता सामान्य र महिलाको बाहुला नभएको कपडालाई अश्लील मानिन्छ।
अनेकौं अनेक कोषिका मिलेर तन्तु तन्तु मिलेर बनेको मानव शरीरको अभिन्न अंगलाई सबैथोक भएर पनि शरीरलाई किन केही होइन भनियो? किन शरीरलाई क्षणभङ्गुर र आत्मालाई अमर मानियो? किन मानिसको नाङ्गो शरीरलाई अश्लील भनियो र जनाबरकोलाई भनिएन? यी यस्तै प्रश्नै प्रश्नहरुको उत्तर पाउन त कठिन छ तर हामी प्रयास त गर्न सक्छौं नि होइन त।
मानव शरीर विभिन्न अंग प्रत्यङ्ग र विविध जैविक तत्वहरुको मिश्रण रहेछ। चाहेर नचाहेर हामी आफ्नै शरीरका दासदासीहरु रहेछौँ। कहिले टाउको दुखेको बहानामा मस्त सुत्छौँ। कहिले मन दु:खको बहानामा मस्त रुन्छौँ खुसीमा हाँस्ने दु:खमा रुनै नै त होला यस्तै प्रश्न आइहाल्छन् मनमा अनेक थरी भाव।
हामी शरीरको एक तमासको वृत्तमा एकोहोरो घुमिरहेका छौँ। भन्न त कविहरुले शरिर केही होइन आत्मा अमर रहन्छ भनेका छन्। तर, शरीर तीनले भने झैँ ‘केही होइन’मात्र हो त?
युद्धमा सिन्दुर पुछिएकी बुढी वृद्ध अवस्थाकी आमा, प्रेम अस्वीकार गरेको बहानामा ढुङ्गाले किची किची शरीर अङ्ग भङ्ग गरि जङ्गलमा हत्या गरिएकी १२ वर्षकी स्कुले कलिलो कोपिला, सुस्त मनस्थितिकी महिला करणी आरोप लागेर वृद्ध बाजेबाट २१ वर्षकी युवतीबाट जन्मिएका अवोध बालक र अस्वीकृत युवती, तिमी त राम्रा छौ, दलित होइन होला, लुवाइ खुवाइ देखि डुलाइको अवस्था राम्रो छ भनेर प्रश्न गरिएको युवक, आफ्नै छालाको रंग देखेर दिनहुँ गालामा चमक दिने क्रिम दल्ने फेसन फेसनका लुगा बदेलिरहेने महिला, कालो कोट पाइन्ट सुट र टलक्क टल्क्लिने जुता लगाएको शक्तिसँग नझुक्ने सत्यसँग नलड्ने न्याय मुर्ती यी शरीर हुनुको कारणको पछाडि शरीर “मात्र शरीर” हो त? पक्कै होइन।
शरीरमाथिको राजनीति मानव सभ्यताको यस्तो इतिहास हो, जसले कहिल्यै प्रस्ट रुपमा यसलाई स्वीकार गरेन तर कहिल्यै त्यसभन्दा माथि उठ्न पनि सकेन।
एउटा दलित शरीरलाई किन उति नै बलियो र प्रभावशाली भएर पनि कमजोरको संज्ञा दिइराखियो? किन एकजना महिला उत्तिकै बुद्धिमान भएर पनि शक्ति संरचनाबाट ठगिइरहिन्? किन बुद्धिमानभन्दा मूर्ख तर सुन्दर नारी धेरैको हृदयमा बस्छे? जब यी यस्ता प्रश्नहरुको सताउन थाल्छ। तब हामीलाई लाग्न थाल्छ शरीरभन्दा राजनीतिक त अरु कुनै विषय नै छैन। लाग्छ, अहिलेसम्म भएका मोर्चा १० वर्षे जनयुद्द धनयुद्धमा परिणत भयो १४ दिने जन आन्दोलनबाट सयौं सहिद भए। लडाइँ शरीरकै राजनीतिमाथि गरिएका युद्ध हुन्।
युद्धका नामले कत्तिले ज्यान परीबार नै गुमाउनु पर्यो त कयौं कमाए पेट फुट्ने गरि कमाए सरकारी जागिर भएकाहरुले ज्यान बचाउनै मुस्किल भयो। चन्दा असुल्ने धम्की दिने पुल मठ मन्दिर भत्काइयो।
शरीरको राजनीतिलाई अंग्रेजीमा, ‘Bady politics’ भनिन्छ। यसको सैद्धान्तिक एवम् सबल पक्ष उठाउने सुरुका व्यक्तिहरूमध्ये इतिहासविद् मिसेल फुको नाम बढि चर्चामा आउने गरेको छ। मिसेल फुको आफ्नो पुस्तक ‘बडी कन्डेम’मा लेख्छन्, “शरीरको राजनीति यस्तो विषय हो जसले शरीर, शक्तिसंरचना र त्यसले निर्माण गर्ने ज्ञानको सम्बन्धबारे प्रष्ट पार्छ अनि यसको प्रत्यक्ष सम्बन्ध शरीर र शक्तिसंरचनासँग रहन्छ।’’ यसैगरी जुडिथ बटलरको पनि यस विषयमा उल्लेखनीय स्थान छ। उनले महिलाको शरीरमाथि हुने राजनीतिबारे कुरा गरेकी छन्।
“शरीर” कतिको राजनीतिक विषय हो भनेर नेपाली समाजले भने बिरलै छलफलको वस्तु बनायो। छलफलको विषय भए पनि विश्वविद्यालयका यस्ता कोठाहरुमा भए जसको बुलन्द आवाज कहिले प्रस्पुटन हुन पुगेन। आज पनि आत्मा अमर छ शरीर क्षणभङ्गुर छ भनेर यसमाथि हुने राजनीतिबाट हामी पन्छिरहेका छौँ।
शरीरसँग गरिने व्यवहारको प्रत्यक्ष सम्बन्ध शक्ति संरचनासँग हुनेरहेछ। आज पनि राज्यले कुनै व्यक्तिमाथि गर्ने व्यवहार त्यही शक्तिद्वारा निर्देशित छ। हुन त हाम्रो शरीर सानो ठूलो होला, रंग कालो गोरो होला तर हाम्रो शरीर एउटै संमिश्रणको मिश्रण हो। तर, पनि किन एउटा कालो छाला र अर्को गोरो छालाका बीचमा विभेद कायम नै छ? किन ब्राह्मणको चुच्चो नाक र अनि मंगोलियनको चिम्सा आँखा हुनेहरुले बिरलै छलफलको एउटै मञ्च पाउँछन्। शरीर यति नाजुक ढङ्गले शोषणको कारण बन्छ। यी यस्ता कुराहरु जब छलफलमा आउँछन् तब हामी नकार्न सक्दैनौं शरीर र शक्तिसँगका सम्बन्ध। त्यसैले त शक्तिको वरपरको शरीर बलियो ठहरिइरह्यो र शक्तिबाट परको शरीर शोषित बनिराख्यो।
संसारको कथित भूमण्डलीकरण र उपनिवेशवादको सुरु कालाहरुले गरेको भए अहिलेजस्तो ‘फेयरनेस क्रिम’को बजार यति व्यापक हुने थिएन कि? न हामी घरबाट निस्कने बित्तिकै घाम देखेर डराउने थियौँ, न हामीबीच आफ्नो छालाको रंग धमिलो भएकोमा चिन्ता नै हुने थियो। हामीले बाँचेको समय सायद अर्कै हुने थियो। ‘ब्लयाक लाइफ म्याटरस’को सट्टा ‘हवाइट लाइफ म्याटरस’जस्ता सामाजिक आन्दोलन पो हुने थिए कि?
हाम्रो शरीर जसरी शक्तिकेन्द्रबाट निर्देशित र शोषित छ त्यस्तै हाम्रा विचारहरु पनि स्वचालित छन्। परिणामः शक्तिमा रहेको शरीरले शक्तिबाट पर रहेको शरीरलाई निकम्मा ठानिराखेको छ। त्यसैले आज पनि विश्वविद्यालयबाट निस्केको एक जना पुरुष शरीर र महिला शरीरमा दुई भिन्न प्रवृत्ति भेटिन्छ एउटामा नचाहिँदो दम्भ र अर्कोमा नचाहिँदो भद्रता। आज पनि पुरुषको अर्धनग्नता सामान्य र महिलाको बाहुला नभएको कपडालाई अश्लील मानिन्छ।
शरीरमाथि हुने राजनीति सबै क्षेत्रमा हुने राजनीति जस्तै शक्ति र सत्ताको आडमा रहन्छ छ। जसले शक्ति र सत्ताको बागडोर शताब्दीयौँदेखि चलाए उनीहरुकै हातमा शरीरको लगाम पनि रह्यो। फलस्वरुपः उनीहरुभन्दा परका शरीर शोषण, दलन र तिरस्कारका कारण बनिराखे। अझै पनि महिला, दलित, पिछडिएका शरीरहरु प्रेम गरेको बहानमा, प्रेम अस्वीकार गरेको बहानामा प्रताडित भइराखेका छन्। निर्मला पन्त, नबराज विकजस्ता अनेकाैं शरीरमाथि गरिएको राजनीतिमा आज पनि समाज छलफल गर्न डराउँछ न्यायको कुरा त कता हो कता। राष्ट्रले अब यी यस्ता विषयमा छलफल र पुनःमूल्याङ्कन गर्ने अग्रसरता देखाउनु पर्ने हैन र?