आजभोलि बिहान उज्यालो हुनुअघि नै कालिबहादुर गोठमा पुग्छन्। एउटा नयाँ दिनको सुरुवात भेडाहरूको आवाजसँगै हुन्छ। ती भेडाहरू जो कहिले पहाड उक्लन्छन्, कहिले खोल्सी झर्छन्, कहिले गोठमै बिस्तारै घाम ताप्छन्।
गोठको कुनामा उभिएर काली बहादुर बुढा(२९)ले भेडाहरूलाई नियालिरहेका छन्। साँझपख घामले डाँडाकाँडा छोप्दै गर्दा, भेडाहरू आ-आफ्नै लयमा घाँस टोक्दै छन्।
केही भेडा एकआपसमा टक्कर खेलिरहेका छन्। केही चुपचाप उभिएर चर्ने ठाउँ खोजिरहेका छन्। यो दृश्य उनलाई आफैजस्तै लाग्छ। कहिले भेडाजस्तो मौन, कहिले भिड्नुपर्ने बाध्यता।
केही वर्ष अघिसम्म उनले यो कल्पना गरेका थिएनन्। भेटेरेनरी जेटिए सकेर केही गर्न चाहन्थे, तर अवसर थिएन। गाउँका कतिपय साथीहरू रोजगारी खोज्दै भारत हानिए, कोही विदेश गए।
उनले पनि विकल्प खोजे, तर सफल हुन सकेनन्। खेतीयोग्य जमिन थोरै थियो, रोजगारीका अवसर थिएनन्, अनि समय बित्दै जाँदा अभावहरू चुलिँदै गए।
घरको अवस्था सहज थिएन। घर खर्च जोहो गर्न कहिलेकाहीँ ज्याला मजदुरी गर्नुपर्थ्यो। बिहान उठ्दा के गर्ने भन्ने प्रश्न हरदिन दोहोरिन्थ्यो। परिवारको अपेक्षा थियो, केही गरिदिनुपर्ने थियो।
जब भेटेरेनीबाट भेडा फार्म गर्नका लागि सहयोग पाइने खबर आए, उनी अलमलमा परे। भेडा पालन फस्टाउँछ कि फस्टाउँदैन? जोखिम उठाउने कि पुरानै संघर्षमा अल्झिने? तर अवसर खोस्नभन्दा पनि समात्नुपर्ने रहेछ, उनले निर्णय गरे।
३६ वटा भेडाहरूको एउटा सानो झुन्ड लिएर जब उनले व्यवसाय सुरु गरे। पहिलो केही महिना निकै कठिन थियो। भेडाहरूलाई पाल्ने तरिका जान्नुपर्यो, घाँसको जोहो गर्नुपर्यो, हिउँ परेपछि कसरी बचाउने भन्ने सिक्नुपर्यो।
भेडाहरू बिरामी परे, केही मरिहाले। तर उनले हार मानेनन्। एक वर्ष बित्दा नबित्दै ३६ भेडाहरू बढेर ७३ पुगे।
बिहानको झिसमिसे उज्यालोमा, जब उनले गोठको ढोका खोल्छन्, भेडाहरू एकसाथ हुल बाँधेर निस्किन्छन्। केही परको पहाड उक्लिन्छन्, कोही बिसाएर घाम ताप्छन्।
अहिले काली बहादुरका आँखामा आत्मविश्वास देखिन्छ। एक वर्षअघि उनलाई काम छैन भन्ने चिन्ता थियो, आज उनी अरूलाई पनि भेडापालन सिकाउन सक्ने अवस्थामा छन्।
भेडाहरूको जीवनजस्तै, संघर्ष सधैं रहन्छ। कहिले हिउँले बाटो छेक्छ, कहिले बजारको समस्या आउँछ। तर उनले बुझेका छन्, सहनशीलता नै सफलता हो।
हिजो अवसर खोज्दै हिँड्ने उनी, आज आफ्नै हातले अवसर बनाइरहेका छन्।
बिहानको चिसो घामले डाँडाहरु उज्यालिँदै गर्दा सफा र सेता भेडाहरूको हुल निलो आकाशमुनि झन् उज्याला देखिन्छन्।
काली बहादुर बुढा एकछिन उभिएर नियाल्छन्। यही दृश्य, यही स्वर, यही भेडाहरू उनको जीवनको अभिन्न हिस्सा भइसकेका छन्।
केही वर्षअघि उनी यति निश्चित थिएनन्। जागिरको खोजीमा कति फाइल बुझाए, कति फारम भरे, तर अवसर कहिल्यै सजिलै आएन।
भेटेरेनरी जेटिए सकेपछि सरकारी सेवामा जाने सोच थियो, तर सिट कमै खुल्थ्यो। बेरोजगारी दिन लामो, रात झन् अँध्यारो। स्वरोजगार हुनुपर्छ भन्ने सोच थियो, तर त्यस्तो अवसर देखिँदैनथ्यो। त्यसैले भेडासँगै रमाइरहेका छन्।
आजभोलि बिहान उज्यालो हुनुअघि नै उनी गोठमा पुग्छन्। एउटा नयाँ दिनको सुरुवात भेडाहरूको आवाजसँगै हुन्छ। ती भेडाहरू जो कहिले पहाड उक्लन्छन्, कहिले खोल्सी झर्छन्, कहिले गोठमै बिस्तारै घाम ताप्छन्।
भेडाहरू जसले उनलाई नयाँ जीवनको ढोका खोलिदिए। संघर्षले सिकाउँछ, तर हिम्मतले अगाडि बढाउँछ। काली बहादुरका लागि यो व्यवसाय केवल आम्दानीको स्रोत मात्र होइन, यो एक विश्वास हो, आफ्नै खुट्टामा उभिने।
हिजो अवसर खोज्दै हिँड्ने उनी, आज आफ्नै पाखामा अवसरको उज्यालो देखिरहेका छन्।