मंगलवार, ३ असार, २०८२

विक्रम तिरुवा ‘सलिन’का दुई गजल

गजल १
सकियो मेरो त सकियो यो जवानी सकियो।
मध्यरात भयो जिन्दगी र बिहानी सकियो।

आधा कोपिलामै चुस्यौ, फूल हुदा चुड्यौ
रस बिनाकी भएँ अनि तिम्रो मनोमानी सकियो।

जब आफ्नै आँखाले देह व्यापार भएको देखेँ
यो देशको राजधानी रहेन, राजधानी सकियो।

अस्तित्वमाथि दाग लगायौं, दोषीकै भाग लगायौं
प्रिया ! त्यो दिनबाट तिमीसँग कुराकानी सकियो।

ए छोरा कहिँले बुझ्छस् बा-आमाका दु:खहरु
तेरो जिन्दगी बनाउन तेरा बा को आम्दानी सकियो।

गजल २
जोडको जोड छ घटाउको घटाउ छ।
यो देशमा भ्रष्टहरुको मात्रै बचाउ छ।

रातारात सत्ता समीकरण हुन्छ यहाँ
एक जमात कुर्सी खोस्नेहरुको दाउ छ।

अब गर्दिनँ प्रेमका गन्थनमन्थन कहिल्यै
जुन प्रेमकै कारण नमेटिने दिलमा घाउ छ।

देश दुखिरहेको छ देश रोइरहेको छ यहाँ
एक पद मन्त्री पाएर नालायक मन्त्री रमाउछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार