मंगलवार, १३ माघ, २०८२

एच.पि.भी भाइरस सम्बन्धि महत्त्वपूर्ण जानकारी

एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको सुरक्षित खोप हो। यस खोपले पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. भाइरसको संक्रमणबाट बचाउँछ। खोप लगाएपछि सामान्य प्रकारका असरहरू, जस्तै टाउको दुख्ने, जिउ दुख्ने वा सूई लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखा पर्न सक्छन्, तर ती असरहरू केही समयमै आफैं ठीक हुन्छन्।

जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ। नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जुम्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ। देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ। जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ।

आज हामी हाम्रा पाठक वर्गलाई एच.पि.भी. बारे महत्त्वपूर्ण जानकारी दिदैछौं। एच.पि.भी. (Human Papillomavirus) एक प्रकारको भाइरस हो, जसलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिन्छ। यो भाइरसका २०० भन्दा बढी प्रकारका प्रजातिहरू हुन्छन्। तीमध्ये १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउन मुख्य भूमिका खेल्छन्। नेपालमा पाठेघरको मुखको क्यान्सरका घटनाहरूमा १६ र १८ प्रजातिहरू सबैभन्दा बढी जिम्मेवार देखिएका छन्।

पाठेघरको मुखको क्यान्सर महिलाको पाठेघरको मुखमा हुने क्यान्सर हो, जसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ। यो रोग विशेष गरी एच.पि.भी. भाइरसको संक्रमणबाट हुने गर्दछ। नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो प्रमुख क्यान्सर हो। यसबाट हरेक दिन चारजना महिलाको ज्यान जाने गरेको अनुमान छ। सुरुवाती अवस्थामा नै रोग पत्ता लागेमा यसको उपचार सम्भव छ।

एच.पि.भी. संक्रमण यौन सम्पर्कबाट फैलन्छ। यौन क्रियाकलापमा सक्रिय अधिकांश व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुन्छन्। तर, अधिकांश अवस्थामा यो भाइरसले कुनै लक्षण देखाउँदैन। तर, लामो समयसम्म संक्रमण रहिरहेमा पाठेघरको कोशिकाहरूमा असामान्य परिवर्तन गराई क्यान्सरको रूप लिन सक्छ।

यो रोगको प्रारम्भिक चरणमा लक्षण स्पष्ट देखिँदैन। यद्यपि, संक्रमण गम्भीर हुँदा यौन सम्पर्कपछि रगत आउनु, तल्लो पेट दुख्नु, योनीबाट दुर्गन्धित पानी बग्नु, रगत धेरै बग्नु, थकान महसुस हुनु र रक्तअल्पता जस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।

पाठेघरको मुखको क्यान्सरबाट जोगिन दुई प्रमुख उपाय छन्। पहिलो, एच.पि.भी. खोप लगाउनु हो। यो खोप १० देखि १४ वर्ष उमेरका किशोरीहरूका लागि अत्यन्त प्रभावकारी मानिन्छ। विद्यालय जाने छात्राहरूले आफ्नै विद्यालयबाट यो खोप लगाउन सक्छन्। विद्यालय नजाने किशोरीहरूले नजिकको विद्यालय वा स्वास्थ्य केन्द्रमा गएर यो खोप लिन सक्नेछन्।

दोस्रो उपाय भनेको नियमित स्क्रिनिङ गर्नु हो। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि ३० देखि ४९ वर्ष उमेरका महिलाहरूले हरेक ३ देखि ५ वर्षको अन्तरालमा परीक्षण गराउनुपर्छ। जोखिमयुक्त महिलाहरूले यसभन्दा छोटो अवधिमा परीक्षण गर्नुपर्छ।

एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको सुरक्षित खोप हो। यस खोपले पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. भाइरसको संक्रमणबाट बचाउँछ। खोप लगाएपछि सामान्य प्रकारका असरहरू, जस्तै टाउको दुख्ने, जिउ दुख्ने वा सूई लगाएको ठाउँमा दुख्ने जस्ता समस्या देखा पर्न सक्छन्, तर ती असरहरू केही समयमै आफैं ठीक हुन्छन्।

नेपालमा एच.पि.भी. खोप अभियान २०८१ माघ २२ देखि फाल्गुण ६ सम्म सञ्चालन हुँदैछ। यो अभियानअन्तर्गत विद्यालय जाने र नजाने किशोरीहरूले नजिकको विद्यालय वा स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्छन्। खोप लगाउन उमेर खुल्ने प्रमाणपत्र वा विद्यालय परिचयपत्र आवश्यक पर्छ।

एच.पि.भी. खोप र नियमित स्क्रिनिङले पाठेघरको मुखको क्यान्सरबाट बच्न ठूलो सहयोग पुर्‍याउँछ। समयमै खोप लगाउने र परीक्षण गराउने बानीले महिलाको जीवन जोगाउन सकिन्छ। थप जानकारीका लागि नजिकको स्वास्थ्य संस्था वा टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिन्छ।

(यो लेख एच.पि.भी. खोप अभियान २०८१ बारे बारम्बार सोधिने प्रश्नहरू सम्बन्धि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले छापेको पर्चा र जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले दिएको जानकारीको आधारमा कुटीरोका लागि ‘महेश नेपाली’ले तयार पारेका हुन।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार