ग्रामीण स्वास्थ्य सेवाको प्रवर्द्धनदेखि प्रतिष्ठानलाई आधुनिक शिक्षण र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आफ्नो टीमले प्रभावकारी भूमिका निर्वाह गरेको उनको भनाई छ।
संसारभर इस्वी संवत्लाई नयाँ वर्षको रुपमा मनाइन्छ। भारतका राजा विक्रमाधित्यले सुरु गरेको विक्रम संवत् भारतले समेत मनाउन छोडेको उहिल्यै हो। तर नेपाल भने विक्रम संवतलाई नै अनुकरगरिरहेको छ। त्यस कारण नेपालमा अंग्रेजी नयाँ वर्षको उस्तो रौनक देखिँदैन।
तर, बाँकी विश्वमा भने इस्वी संवत् अर्थात् अंग्रेजी नयाँ वर्षको रौनक फरक पाइन्छ। यो अवरमा संसारभरका उच्च ओहदामा बस्नेहरुले गएको वर्ष भरी गरेका गतिविधिहरुको समीक्षा गर्ने चलन प्रशस्तै पाइन्छ। त्यसको प्रभाव विस्तारै नेपालमा पनि पर्दै गएको छ।
पछिल्लो समय नेपालमा व्यापक बन्दै गएको यो चलनलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले अनुकरण गरेका छन्। अर्था उनले सन् २०२४ लाई फर्केर हेरेका छन्। उनका अनुसार सन् २०२४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(कास)का लागि खास भएको छ।
ग्रामीण स्वास्थ्य सेवाको प्रवर्द्धनदेखि प्रतिष्ठानलाई आधुनिक शिक्षण र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न आफ्नो टीमले प्रभावकारी भूमिका निर्वाह गरेको उनको भनाई छ। हार्वर्ड मेडिकल स्कूलबाट स्नातक शिक्षा पूरा गरी कर्णालीको स्वास्थ्य सेवा सुधार्न उनले धेरैजसो समय र ऊर्जा समर्पित गरेको बताएका छन्।
यही बीचमा उनले हार्वर्ड मेडिकल स्कूलबाट मेडिकल नेतृत्वमा स्नातकोत्तर डिग्री हासिल गरे। यस क्रममा उनले हार्वर्ड विश्वविद्यालयको ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिन विभागमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने अवसर समेत पाए। त्यहाँ उनले नेपाली स्वास्थ्य सेवाको विकासका दृष्टिकोण प्रस्तुत गरे।
यो उनको व्यक्तिगत उपलब्धि जस्तो देखिए पनि यसले सरमा प्रतिष्ठानलाई नै लाभ पुगाएको छ। यहि अवसरमा अमेरिकामा बस्ने डाक्टरहरुले कर्णालीमा ब्लड बैंक स्थापनाको लागि एक करोड बीस लाख बढी सहयोग गरे। जो संस्थाको लागि एक अनुपम उदाहरण बनेको छ।
उपकुलपति रावलले पहिलो दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुनुलाई ऐतिहासिक उपलब्धि मानेका छन्।
“नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिलान्यास गरिएको भवनको उद्घाटन ओलीकै उपस्थितिमा गर्नु महत्त्वपूर्ण उपलब्धि हो,” उनले भने, “कर्णाली प्रदेशका बासिन्दाहरूको स्वास्थ्यमा सुधार ल्याउन प्रतिष्ठानमा नेत्र विभाग स्थापना भयो। प्रा. डा. सन्दुक रुइत र तिलगंगा आँखा अस्पतालसँग महत्त्वपूर्ण साझेदारी र डा. रुइतको पहलमा २,००० निःशुल्क मोतियाबिन्दु शल्यक्रियाको कोष सुनिश्चित हुनु अर्को उपलब्धि हो।”
उनका अनुसार यो आर्थिक वर्षमा प्रतिष्ठानका लागि नेपाल सरकारले इतिहासकै सबैभन्दा बढी ५४ करोड बजेट छुट्याएको छ भने यही वर्ष दुईवटा सिनेट बैठक बसे। मेडिकल कलेज चल्दैन भन्ने भाष्य निर्माण गरिएको जुम्लाबाट उत्पादन भएका विद्यार्थीहरु देश विदेशमा अब्बल ठहरिएका छन् भने मेडिकल काउन्सिलको लाइसेन्स परिक्षाको नतिजाले यसलाई थप प्रमाणित गरेको छ।
गएको वर्ष प्रतिष्ठानमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना भए। यसले प्रतिष्ठानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा परिचित गरायो। उनले हार्वर्ड विश्वविद्यालयसँगको सहकार्यमा सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुनु अर्को उपलब्धि भएको बताए।
“यस्ता धेरै काम भएका छन्। रोयल कलेज अफ सर्जन्स, एडिनबरा, र नेपाली चिकित्सक संघ बेलायतको सहकार्यमा शल्य चिकित्सा सिमुलेशन कोर्स लगायत काम भएका छन्,” उनले भने।
उनको नेतृत्व प्राविधिक पक्षमा मात्र सीमित रहेन। उनले मानसरोवर यात्रा सम्पन्न गरेर धार्मिक र सांस्कृतिक पक्षलाई पनि सुदृढ गरे। यात्रा पश्चात् हुम्लाको दुर्गम गाउँपालिका नाम्खामा आयोजित स्वास्थ्य शिविरले हजारौं स्थानीयको जीवनमा सकारात्मक प्रभाव पारेको छ। जसले विकटमा प्रतिष्ठान हुनुको महत्त्वलाई अझ बढी उजागर गरेको छ।
उनको कार्यकालमा प्रतिष्ठानले डिजिटल युगमा कदम बढायो। विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा अत्याधुनिक स्किल ल्याब स्थापना गरिनु र इलेक्ट्रोनिक मेडिकल रेकर्ड्स (इएमआर) प्रणाली लागू हुनु ठूला उपलब्धि हुन्।
त्यस्तै लोक सेवा आयोगमार्फत १७२ स्थायी पदहरूको विज्ञापन र कर्णालीको दैलेखमा ५० शैयाको राकम अस्पताल निर्माणले ग्रामीण स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्ने उनको बुझाई छ।
उनले सन् २०२४ लाई विदाई गर्दै २०२५ का लागि पनि केही योजना बनाएका छन्। उनका शब्दमा भन्दा, “आफ्ना परिवार र साथीहरूसँग समय बिताउने र स्वास्थ्य सेवामा अझ व्यापक योगदान पुर्याउने लक्ष्य छ। कर्णालीका लागि केही गर्न सके देशका लागि पनि योगदान होला भन्ने ठानेको छु।”
उनले सन् २०२४ लाई केवल एक वर्षको समीक्षा मात्रै ठानेका छैनन्। यो कर्णालीको स्वास्थ्य, शिक्षा र सेवामा परेको परिवर्तनकारी प्रभावको प्रतिबिम्ब मानेका छन्। उनको नेतृत्वको टीमले ग्रामीण स्वास्थ्य सेवा र शिक्षा प्रणालीलाई नयाँ स्तरमा पुर्याएको छ, जसले नेपालका अन्य विकट क्षेत्रका लागि पनि उदाहरण बन्न सक्छ।
















