मंगलवार, ३ असार, २०८२

बलवान विगतले निम्त्याएका आयामहरू

छोटकरीमा भन्दा अलौकिक शक्ति नमान्नेहरु बढी यथार्थवादी हुन्छन्। उनीहरू आफ्नो अधिकांश समय वर्तमान मै हुन्छन्। उनीहरूमा अरुलाई जजमेन्ट गर्ने बानी हुँदैन।उनीहरू खुल्ला सोच राख्छन्।

चराहरू चिरबिराउन थालिसके। घामको किरण पारी डाँडामा आउँदै छ। घरका दैलाहरु एक एक गरि उघ्रिदैछन्। क्याम्पसमा चहलपहल शुरू भैसक्यो। भुइँमा लम्पसार परेका सडकहरु विद्यार्थीहरुको सपनाको साक्षी छन्। सडकहरु आफू त कहीँ पुग्दैनन्। हिजो जहाँ थिए आज पनि उहीँ छन् तर उही सडक माथि हिँडेर बटुवाहरु भने गन्तव्यमा पुग्छन्। कोहीले यही सडककै आमसभामा गन्तव्य फेर्छन्,साथ छोड्छन् नयाँ लक्ष्य रोज्छन् तर सडक टसको मस हुँदैन। उसलाई न बिगतको चोट छ न भविष्यको भय।

सडक मानिस जस्तो कहाँ हो र? मानिसलाई हिजो मात्र हाेइन अस्ति। झन् अस्ति। त्यो भन्दा पनि पहिले। साता पहिले। महिना दिन अघि। एक वर्ष अघि। अझ भनौं शताब्दी पुरानो सबथोकसँग मतलब छ। उसलाई हिजोको पीडा कम लाग्छ र त ऊ साल अघिको पीडा समाएर बस्छ। मानिसले विगतलाई यसरी च्यापेको हुन्छ कि मानौं मानिस ममताले भरिएकी आमा हो र विगत उसको सन्तान। नत्र कोही कसैलाई किन यति विघ्न च्याप्छ? आफैलाई पटक पटक दुखाउन की आफूलाई बचाउन? मानिस विगत सम्झिरहन्छ सायद आफूलाई बचाउन, विश्वासघातबाट, बचाउन उही नमिठो क्षण दोहोरीनबाट। मानिस यति सोझो पनि छैन कि ऊ आफूलाई दुःख दिन विगत सम्झियोस्, ऊ बाठो छ। उसलाई थाहा छ फाइदाका कुरा। थाहा छ काइदा कुरा। ऊ विगतबाट सिकिरहेको हुन्छ। वर्तमानमा फेरी बिगत नफर्कियोस्, फेरी उही घट्ना ननिमतियोस्। ऊ चनाखो रहन्छ।

कोही मानिस अलि फरक सोच्छन्। उनीहरू विगत बिर्सिनेहरूमा पर्छन्। आफूलाई दुखाउनेहरूलाई सजिलै माफ गरिदिन्छन्। उनीहरूको सुई विगतमा अड्किन्न । बरू वर्तमान मै घुमिरहेको हुन्छ। तर विगत बिर्सिनेहरू मध्य पनि कोही अझ अनौठा हुन्छन्। उनीहरू विगतका पीडा, अफसोच, गल्ती त खै भन्न सकिन्न तर सहयोग चाहीँ बिर्सन्छन्। आफू जीवनकै सबैभन्दा कठिन समय काटीरहेका बखत साथ दिएकाहरूलाई पनि बिर्सन्छन्।

मलाई लाग्छ मानिस बढी भविष्य प्रेमी हुन्छ। उसको सारा ध्यान भोलीमा छ। उसका कदमकदम भोली लक्षित हुन्छ। उसका सम्बन्धहरू पनि भविष्य मुखी हुन्छन्। भविष्यको आशामा बस्नेहरू पनि भविष्य मै छन्। अनि भविष्यको भयमा डराउनेहरू समेत भविष्यमै छन्। अनि वर्तमानमा चाही को छ त? छ नी उही भय, चिन्ता, उत्सुकता अनि आशा।

मानिस वर्तमानलाई भविष्यको नाममा समर्पित गर्छ। कदमकदम पाइला भविष्यलाई ध्यानमा राख्दै नै चालिन्छन्। जति लामो वर्तमानको संघर्ष हुन्छ भविष्यमा फल त्यतिनै मिठो हुनेछ भन्ने अनिश्चित विश्वास हुन्छ, मानिसको मस्तिष्कमा। तर भविष्यमा मानिस यस्तो काम गर्न चहान्छ की उसको कामले इतिहासमा उसको नाम लेखियोस्। घुमीफिरी रूम्झाटार भने जस्तै मानिस भविष्यमा पनि इतिहासमै फर्किने सपना देख्छ। उसलाई उसको भविष्यको चिन्ता होइन। उसलाई त उसको विगत बारेनै चिन्ता छ। उसको विगत माथि औंला नउठोस्, उसको विगत सबैले वाह वाही गर्ने इतिहास बनोस् भन्ने मै अधिकांश मानिसको ध्येय हुन्छ। मानिस वर्तमान, भविष्यको नाममा बलिदान गर्दै छ अनि भविष्य इतिहासको नाममा। आखिर न वर्तमान बलवान छ न भविष्य, बलवान त विगत रहेछ जसले मानिसको मस्तिष्क पुरै कब्जा गरेको छ।

विगत र भविष्यमा एउटा कुरा चाहिँ खुब मिल्दो छ, मानिस विगत सम्झेर पनि आकाश हेर्दै टोलाउँछ अनि भविष्य बारे सोच्दा पनि मानिस आकाशमै हेर्छ। मृत आफ्नाहरुलाई सम्झिँदा पनि ऊ आकाशमै हराउँछ। आखिर आकाशमा के छ त्यस्तो जसले मानिसको दुखेको मन हलुका बनाउने, सपनाहरूलाई बलियो पार्ने। पक्कै आकाशको विशाल छाती हुनुपर्छ। जसले सबैका गुनासो सुनिदिन्छ। रातीमा एक्लै रूनेहरूको आँसु पनि आकाशले लुकाइदिन्छ। मैले मानिसहरू धेरै खुशी हुँदा पनि आकाश मै हेरेर नाचेको देखेको छु।

मानिसको पीडा अनि खुशी साट्ने चौतारी आकाश होकी आकाश माथि बस्ने ईश्वर। जसलाई मानिस सबैभन्दा बढी विश्वास गर्छ। त्यसैले त ऊ बात बातमा उही ईश्वर तिर फर्किन्छ। उसैलाई धन्यवाद टक्र्याउन अनि उसैलाई धिक्कार्न। ईश्वर मात्र एक माध्यम हो की अन्तिम लक्ष्य? ईश्वर विश्वास हो की भय? ईश्वर समाधान हो कि द्वन्द्व? ईश्वर तागत हो की कमजोरी? खैर जसलाई जे ठिक लाग्छ त्यही हुन्, ईश्वर।

मानिस आफ्नो हरेक कर्मको वैधता चाहन्छ। उसलाई कर्म गर्न कसै न कसैको आड, भरोसा चाहिएको हुन्छ। आफ्नो कामलाई ठिक देख्ने मानिसको बानी नै भयो। हो मानिसको यही कमजोरीलाई मध्यनजर गर्दै कसैले ईश्वरको गज्जबको अवधारणा बनायो। जसले जसलाई पनि मार्ने, जसले जसको पनि खाना लुटेर खाँदा असुरक्षित हुने हुँदा मानिसले सायद आफ्नो बौद्धिकताको सर्वोत्तम प्रयोग गरेर ईश्वर बनाएको हुनुपर्छ जसले दु:खमा मानिसलाई आँट पनि दिओस् अनि मनमा भय समेत पैदा गरोस्। ईश्वर भन्दा पनि पहिले भविष्यको अवधारणा विकसित गरिएको हुनुपर्छ र त त्यहीँ भविष्यको नाममा, कर्मको नाममा ईश्वर आए।

‘मृत्यु’ जस पश्चात् सबथोक सकिन्छ। ‘मृत्यु’ जस पश्चात् मानिसलाई न पीडा हुन्छ न सुख। यस्तो सत्यलाई नै चुनौती दिदै मृत्यु पछिको काल्पनिक जीवनको पीडाको डर देखाउँदै जीउँदालाई तर्साउने यो ईश्वर, स्वर्ग नर्गको अवधारणा मलाई मानिसको सबैभन्दा ठूलो बौद्धिक जीत सहितको मुर्खता जस्तो लाग्छ। मानिस विज्ञानमा रमाइरहेको छ, आजभोलि मानिस तर्क र वैज्ञानिक पुष्टी बिनाको कुराहरूमा रत्तिभर विश्वास मान्दैन। यति सम्मकी मानिस भूत प्रेत हुन्छन् भनेर पनि पत्याउँदैन किनकी भूतको उपस्थितिको कुनै वैज्ञानिक प्रमाण छैन। तर बिना प्रमाण नदेखेको कुनै कुरा जसलाई विश्वले एकाइसौं शताब्दीमा पनि मान्छ भने त्यो हो ईश्वर। भलै सबैको फरक नामका ईश्वर होलान् तर अलौकिक शक्तिलाई अधिकांश मानिसहरु मान्छन्।

ईश्वर मान्नुको पनि मानिसका आफ्नै‌‌ निजी कारण छन्।‌ तर मुलत: संरक्षणको आशा हो। तर कुनै पनि अलौकिक शक्तिलाई नमान्ने केही आदिबासीहरू चाहीँ के सोच्छन् होला। दु:खमा पर्दा आफैलाई धिकार्छन होला! जे देख्यो त्यसमा मात्रै विश्वास गर्छन् होला! छोटकरीमा भन्दा अलौकिक शक्ति नमान्नेहरु बढी यथार्थवादी हुन्छन्। उनीहरू आफ्नो अधिकांश समय वर्तमान मै हुन्छन्। उनीहरूमा अरुलाई जजमेन्ट गर्ने बानी हुँदैन।उनीहरू खुल्ला सोच राख्छन्।

‘बाचुन्जेलीलाई’ भन्ने कुरामा बढी केन्द्रित हुन्छन्। मरेपछि गरिने लामो विधि भलै आउँदैन उनीहरूलाई तर बाचुन्जेल समुहमा बस्न जान्दछन्। व्यक्तिवादी सोच, स्वार्थ प्रेरित मनसायबाट माथि समूहको बारेमा सोच्छन्। कसैको घरमा बँदेल पाक्दा कसैको घरमा चुलै नबल्ने बिडम्बना कमसेकम उनीहरूमा हुँदैन। भोकै भए एक साथ भोकै हुन्छन्। व्यवहारिकतामा विश्वास गर्ने र यथार्थ स्वीकार गर्नेहरूमा तुलनात्मक रुपमा मानसिक समस्या पनि कम हुन्छ। तसर्थ विगत र भविष्यको खेलमा खेलाडी बन्ने कि विगत र भविष्यलाई नै आफ्नो नियन्त्रणमा राख्ने मानिस माथि निर्भर छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार