टावरमार्फत टुजी र फोरजी सेवा दुबै उपलब्ध गराइएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको यो टावर सोमबारदेखि सञ्चालनमा आएको हो।
पातारासी गाउँपालिका–२ फुर्कीसल्ला डाँडामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजीसहितको टेलिफोन सेवा सुरु भएको छ।
यससँगै पातारासी गाउँपालिका–१, २ र ३ का स्थानीयवासी सञ्चार सेवाको पहुँचमा आएका छन्।
टावरमार्फत टुजी र फोरजी सेवा दुबै उपलब्ध गराइएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको यो टावर सोमबारदेखि सञ्चालनमा आएको हो।
स्थानीय भक्तबहादुर बुढाका अनुसार टावर निर्माण कार्य ठेकेदारले धेरै समयसम्म अधुरै छोडेका थिए। स्थानीयवासीले निरन्तर दबाब दिएपछि अन्ततः टावर निर्माण सम्पन्न भएको हो।
नेपाल टेलिकमका जुम्ला कार्यालय प्रमुख सुवास शाहले ग्रामीण क्षेत्रमा सञ्चार सेवा पुर्याउन टेलिकमले उच्च प्राथमिकता दिएको बताए।
उनका अनुसार जुम्लाका आठवटा स्थानीय तहका १८ स्थानमा टेलिफोन टावर निर्माण गरी सञ्चार सेवा विस्तार गरिएको छ।
टावर सञ्चालनमा आएपछि स्थानीयले स्वास्थ्य, शिक्षा, र व्यवसायमा नयाँ सम्भावना देखेका छन्।
इन्टरनेट सेवा सुचारु भएसँगै विद्यार्थीले अनलाइन शिक्षा लिन थालेका छन् भने टेलिफोन सेवाले स्थानीय र परदेशमा रहेका परिवारजनलाई सहजै जोड्न मद्दत पुर्याएको छ।
सञ्चार सेवा उपलब्ध भए पनि सेवा गुणस्तरमा सुधार र नियमितताका लागि स्थानीयले नेपाल टेलिकमलाई ध्यान दिन आग्रह गरेका छन्।
ग्रामीण क्षेत्रमा यस्ता सेवा विस्तारसँगै अन्य विकासका पहलहरूमा पनि सरकारले चासो दिनुपर्ने उनीहरूको माग छ।